साउनको मध्य अवधिलाई सेयर बजारका लागि अनुकुल सिजन भनेर लगानीकर्ताले बुझ्ने गरेका छन्। यो बुझाईलाई तीन वटा आधारले बलियो बनाउँदै आएको छ भने विगतका वर्षहरुले पुष्टि पनि गरिसकेको छ।
पहिलो आधार भनेको साउनको मध्य अवधिदेखि मसान्तसम्म कम्पनीहरुले एक आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्छन्। त्यो विवरण हेरेर लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था केलाउन सक्छन् र त्यसअनुरुप लगानीका निर्णयहरु लिन्छन्।
वर्षभरिको लाभांश पाउने बेला हुनु दोस्रो आधार हो। वित्तीय विवरण सार्वजनिक भइसकेपछि कुन कम्पनीले कति लाभांश देला भन्ने जिज्ञासाले बजारमा उत्साह थप्ने गर्दछ। धेरै लाभांश चाँडो दिन सक्ने कम्पनीमा लगानीकर्ता आकर्षित हुन्छन्। कतिपय कम्पनीले त दसैंअघि नै लाभांश दिँदै आएका पनि छन्।
तेस्रो आधार भनेको व्याजदर नियन्त्रित हुनु वा घट्नु हो। आर्थिक वर्षको अन्तिमतिर मात्रै पुँजीगत खर्च पर्याप्त निकासी हुने परिपाटी रहेकाले वित्तीय प्रणालीमा अधिक तरलता आउँछ र त्यसले ब्याजदर घटाउनमा यतिबेला दवाव पर्न जान्छ।
यस्तो अवस्थामा धेरै व्याजदर पाउने आशामा निक्षेप जम्मा गरेका पनि सेयरतिर आकर्षित हुन सक्छन्। अर्कोतर्फ ऋण लिएर लगानी गर्नेलाई पनि तिर्नुपर्ने ब्याजसँग लाभांश तुलना गर्दा सेयरको बढी प्रतिफलले तान्न सक्छ।
यिनै कारणले विगतका वर्षहरुमा पनि साउन/भदौतिर नेप्से उच्च विन्दुमा पुगेको इतिहास छ। तिनै महिनामा उच्च अंकको इतिहास बन्दै आएका छन्। त्यसकारण साउनको मध्यदेखि भदौको मध्य अवधिसम्मलाई लगानीकर्ताले सिजनका रुपमा बुझ्ने गरेका हुन्। तर यी आधारहरु हुँदाहुँदै पनि यतिबेलाको साउनको मध्यतिर भने बजार लत्रिएको छ।
एक दिनमा २५ करोडमाथिको कारोबार हुनुलाई उच्च मान्नुपर्ने अवस्था आएको छ। २०७३ साउन ११ गते एकै दिन पौने ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो। यतिबेला दुई साताको कारोबार रकमले पनि त्यो भेटाउन सक्दैन।
नेप्सेका अनुसार यस साता जम्मा १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता १ अर्ब ५ करोडको किनबेच भएको थियो।
कारोबार रकमका आधारमा मात्रै होइन, अंकको उतारचढावले पनि बजार सुस्ताएको छ। अर्थात २०७३ भदौ १२ गते १८८१ अंकको उच्च विन्दुमा पुगेर झरिरहेको नेप्सेलाई यी आधारले उचाल्न सकेको छैन। एक महिनायता १२ सयकै आसपासमा नेप्से खुम्चिरहेको छ।
अघिल्लो साता बजार बन्द हुँदा नेप्से जुन बिन्दुमा थियो, यो साता बन्द हुँदा पनि त्यति नै ११९१ अंकमा रह्यो, अर्थात एक साताको अवधिमा अंक स्थिर रह्यो।
यो साता नेप्सेमा दोहोरो अंकको उतारचढाव नै भएन। साउन ७ यता दोहोरो अंकको उतारचढाव भएको छैन। एक महिनाको बीचमा नेप्से जम्मा ३ अंकले मात्रै बढेको छ। असार २० गते नेप्से परिसूचक ११८८ अंकमा थियो। तर ठीक एक वर्षअघि यसै दिन नेप्से १६६५ अंकमा थियो।
अहिले सिजनमै लत्रिएको बजारलाई केही लगानीकर्ता परिपक्वतातिर उन्मुख भएको बताउँछन्। अनुभवी लगानीकर्ता पिताम्बर खरेल भन्छन् ‘बल्ल लगानीकर्तामा सचेतना आएको छ, ताकि किन्ने र बेच्ने दुवै आफूले चाहेको मूल्यमा अडिग रहन सकेका छन्, त्यसकारण ठूलो उथलपुथल नआएको हो।’ विगतमाजस्तो हल्लाकै भरमा किन्ने र बेच्नेहरु अब बजारमा टिक्न नसक्ने उनले दावी गरे।
हकप्रद तथा बोनसका कारण बढेको सेयर आपूर्तिले पनि यतिबेला बजारलाई माथि उठ्नबाट रोकेको उनको विश्लेषण छ। ‘यतिबेला बजार बढ्नुपर्ने नै हो, तर आपूर्तिको अत्याधिक चापले त्यसलाई नियन्त्रण गरेको छ’ उनले भने ‘तत्काल बजार धेरै अंकले बढ्ने अवस्था छैन।’
नेपाल पुँजीबजार संघका अध्यक्ष नवराज सुवेदी वर्तमान सरकारप्रति लगानीकर्ता ढुक्क भइनसकेकाले पनि अहिलेको साउनमा बजार खुम्चिएको बताउँछन्। ‘बोनस र हकप्रदमा कर लाग्ने कुरा अझै टुङ्गिसकेको छैन, हरेक क्षेत्रमा कर उठाउन सरकार उद्दत देखिन्छ’ उनले भने।
हकप्रदको बाढी सकिए पनि आइपिओ प्रशस्त मात्रामा आउने तयारी रहेकाले आपूर्तिको मात्रा अझै बढ्ने उनले बताए। ‘विभिन्न नयाँ बीमा कम्पनीहरु, माथिल्लो तामाकोसी सहितका जलविद्युत कम्पनीहरु, शिवम् सिमेन्ट लगायतको प्रशस्त संख्यामा आइपिओ आउने अवस्थामा हुनुले दोस्रो बजारमा लगानी जान रोकेको छ’ सुवेदीले भने।
लगानीकर्ता बोनस सेयरमा बढी आकर्षित हुने गरेको र अब बैंकहरुले पुँजी पुर्याइसकेकाले नगद लाभांश मात्रै दिने आशंका रहनु पनि बजार उठ्न नसक्नुको अर्को कारण रहेको उनी बताउँछन्।
यि विविध कारणले व्यक्तिगत लगानीकर्ता मात्रै होइन। म्यचुअल फण्डले समेत इक्वीटीमा लगानी गरेका छैनन्। यसको उदाहरण म्युचुअल फण्डहरुले बैंकमा राखेको अधिक रकमले पुष्टि गर्छ।
व्याज खानेगरी नियमावलीले तोकेभन्दा बढी रकम बैंकमा देखिएपछि नेपाल धितोपत्र बोर्डले विभिन्न म्युचुअल फण्डलाई स्पष्टिकरण सोधेको छ। सिटिजन म्यचुअल फण्ड १ को व्यवस्थापक सिबिआइएल क्यापिटल, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ र एनएमबि हाइब्रिड फण्ड १ को व्यवस्थापक एनएमबि क्यापिटल, लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी भ्यालु फण्ड १ को व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट, एनआइसी एसिया ग्रोथको व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई बोर्डले स्पष्टिकरण दिन भनेको छ।
संस्थागत र ठूला व्यक्तिगत लगानीकर्ताले नै लगानी नगरेपछि साउनको मध्य अवधिमा पनि बजार उठ्न नसकेको खरेलको ठम्याइ छ। उनले भने ‘उनीहरुले लगानी नगरेकै कारण दुई वर्षअघि यही बेला एकै दिन पौने ३ अर्बको कारोबार भएको बजारमा अहिले २० करोड पुग्दैन, उच्च आपूर्तिका बीच लगानी कम भएपछि नेप्से उठ्ने कुरै भएन।’
ब्याजदर नघट्नु पनि नेप्से बढ्न नसक्नुको एउटा कारण रहेको सुवेदी र खरेलको भनाइ छ। अर्कोतर्फ बजार अत्याधिक तल झरिसकेकाले अब धेरै अंकमा झर्न नसक्ने उनको दावी छ। ‘धेरै अंकले झरिसकेकाले अझै घट्ने आधार पनि अब देखिँदैन’ उनले भने ‘मेरो विचारमा यो सिजनमा परिपक्व बनेपछि आगामी सिजनदेखि बजार बढ्छ।’