सबै सूचक घट्दा सेयर लगानीकर्ताले १८ अर्ब गुमाए


साता कारोबारको अन्तिम दिन सेयर बजारका सबै सूचक ओर्लिएका छन्। नेप्से परिसूचक १५ अंकले झरेको छ।

१५. ७३ अंकको गिरावटपछि नेप्से १४८९ अंकमा कायम भएको छ। यस दिन लगानीकर्ताले १८ अर्ब रुपैयाँ गुमाएका छन्। अघिल्लो दिन १७ खर्ब ४६ अर्ब रहेको पुँजीकरण यस दिन १८ अर्बले घटेर १७ खर्ब २८ अर्बमा सीमित भएको हो।

सेन्सिटिभ इन्डेक्स ३.३ अंकले घटेको छ। उपसूचकहरु बैंकिङ १४, व्यापार १, होटल ५२, विकास बैंक २६, जलविद्युत २४, फाइनान्स ४, बिमा ६९, उत्पादन २४, अन्य ३ र माइक्रोफाइनान्स १३ अंकले घटेका छन्।

१५९ कम्पनीको ४५ करोड ५ लाखको सेयर किनबेच भयो। कारोबार रकम अघिल्लो दिनको तुलनामा १४ करोडले कमी हो। यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २ करोड ५९ लाखको कारोबार भयो।

कम्पनीको मूल्य सामान्य बढेर प्रतिकित्ता १८९३ कायम भएको छ। कम्पनीले आजै प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेकाले बजार घट्दा मूल्य बढेको छ भने कारोबार उच्च रह्यो।

दोस्रोमा रहेको एभरेष्ट बैंकको २ करोड २२ लाखको कारोबार भयो। चिलिमे, नेपाल इन्भेष्टमेन्ट संस्थापक, लाइफ इन्स्योरेन्स कर्पोरेसन लगायत कम्पनी कारोबारका आधारमा अगाडि देखिए।

हिमालयन डिस्टिलरीका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। नाफा कमाउने अरु कम्पनीका लगानीकर्ता ४ प्रतिशत मुनिमै चित्त बुझाए। नेपाल हाइड्रो डेभलपर्स, मल्टिपर्पोज फाइनान्स तथा कैलाश विकास बैंकका लगानीकर्ता गुमाउनेमा अगाडि रहे।

कन्काई विकास बैंक, गुडविल फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, सेवा विकास बैंक, नेपाल इन्स्योरेन्स तथा सनराइज बैंकका थप सेयर सूचीकृत भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.