तीन दिनको वृद्धिपछि ओर्लियो नेप्से


तीन दिनको वृद्धिपछि सेयर बजारको परिसूचक पुनः ओरालो लागेको छ। बुधबार परिसूचक ११ अंकले ओर्लिएको छ। यसअघि तीन साताको अन्तरालपछि आइत, सोम र मंगलबार परिसूचक उकालो लागेको थियो।

बुधबार १५०४ अंकमा परिसूचक झरेको छ। यस दिन कुल १६० कम्पनीको ५९ करोड ७८ लाखको कारोबार भयो। बजारको पुँजीकरण १७ खर्ब ४६ अर्ब कायम भएको छ। होटल, उत्पादन र अन्यबाहेकका सबै उपसूचक ओर्लिएका छन्। होटल १५, उत्पादन २६ र अन्य उपसूचक ४ अंकले बढे।

बैंकिङ ८, व्यापार ३, विकास बैंक १५, जलविद्युत ४६, फाइनान्स १०, बिमा १०३ तथा माइक्रोफाइनान्स उपसूचक १८ अंकले घटेका छन्।

यस दिन कारोबारका आधारमा चिलिमे जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ९३ लाखको कारोबार हुँदा मूल्य घटेर प्रतिकित्ता ८५६ कायम भएकोछ।

त्यस्तै नेपाल बैंकको ३ करोड ७३ लाखको कारोबार भएको छ। मूल्य प्रतिकित्ता ३५१ कायम भएको छ। टेलिकम तथा स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि रहे।

हिमालयन डिस्टिलरी र नेपाल हाइड्रो डेभलपरको मूल्य १० प्रतिशतले बढेको छ। मिथिला लघुवित्त र ओरियन्टल होटलको पनि ६ प्रतिशत बढीले मूल्य बढेको छ। किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५ प्रतिशत मूल्य गुमाए।

यसैबीच रिलायन्स फाइनान्सको हकप्रदका लागि बुक क्लोज मंसिर ८ गते हुने भएको छ। कम्पनीले १० बराबर ४.५ को अनुपातमा हकप्रद जारी गर्दैछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.