सेकेण्ड ह्याण्ड कार किन्दै हुनुहुन्छ ? विचार गर्नुहोस् यी कुरामा


पछिल्लो समय काठमाडौं उपत्यकामा सेकेण्ड ह्याण्ड साना गाडीको बजारले राम्रो स्थान पाइरहेको छ।

दैनिक आवतजावत, लामो तथा छोटो दूरीको यात्रा तय गर्न तथा इज्जत र प्रतिष्ठाका लागि मानिसहरू गाडीतर्फ आकर्षित भएको पाइएको छ। दैनिक आवश्यकताको साधन बने पनि झट्ट नयाँ गाडी किनिहाल्न धेरैको आर्थिक अवस्थाले साथ नदिने हुनाले सेकेण्ड ह्याण्ड गाडीको व्यापारले फट्को मारिरहेको छ।

सहुलियत दर, नयाँ मोडेल, फेरिफेरि प्रयोग गर्न पाइने र फाइनान्सको समेत सुविधा हुनाले गाडीका पारखीहरूले समेत सेकेण्ड ह्याण्ड गाडी प्रयोग गर्न थालेका छन्।

सेकेन्ड ह्याण्ड कार किन्दा आधारभूत कुरामा ध्यान नदिए पैसा यसै खेर जान भने सक्छ। यसकारण कार किन्नुअघि यी सामान्य कुरा जानिराख्नुहोस्ः

–कारको रङ सबैतिर एक समान छ कि छैन हेर्नुहोस्, यदि छैन भने त्यो कार दुर्घटनामा परेको हुन सक्छ। दुर्घटनामा परेको भए नकिन्नुस्।

–कार कति गुडेको छ मिटर चेक गर्नुहोस्। साधारणतया ४० हजारदेखि ५० हजार किलोमिटर चलेपछि टायर बदल्नुपर्छ। त्यसैले, टायर राम्रोसँग चेक गर्नुहोस्। बढीमा ४ वर्षभन्दा पूरानो गाडी नकिन्नुहोस्। पछि बेच्न परेपनि आफूले किनेको मूल्य उठोस्।

–कारको इण्टेरियर राम्रोसँग हेर्नुहोस्, यसको सीट, कभर लगायतका कुरामा ध्यान दिनुहोस्।

–सबै ढोका खोल्ने र बन्द गर्ने गर्नुहोस्, जसले यसमा खराबी भए–नभएको थाहा हुन्छ।

–ब्रेक, क्लच, गीयर, स्टेरीङ राम्रोसँग चेक गर्नुहोस्।

–कार नचलाई यसबारेमा धेरै कुरा थाहा हुँदैन। त्यसैले एकपटक टेष्ट ड्राइभ अवश्य गर्नुहोस्। इञ्जिनको आवाज कस्तो छ ध्यान दिनुहोस्। गाडी सम्बन्धी ज्ञान छैन भने सम्बन्धित कम्पनीको वर्कसप वा कोही जान्नेलाई गएर इञ्जिनबारे जानकारी लिनुहोस्।

–अन्त्यमा सबैभन्दा महत्वपूर्ण गाडीको कागजपत्र राम्रोसँग हेर्नुहोस्। कतिपयले वर्षौंदेखि गाडीको कर तिरेका हुँदैनन्, जसले तपाईंलाई अप्ठ्यारोमा पार्न सक्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.