यो वर्ष वीरगञ्ज भन्सार कार्यालयमा सवारी साधन र त्यसका पाटपुर्जाको भन्सार पास गराउने चाप बढेको छ।
करिब सबै प्रकारका सवारी साधन र सम्बन्धित पाटपुर्जाहरू अघिल्लो वर्षको असोज महिनासम्मको तुलनामा यसपटक निकै बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
विशेषगरी, कोभिडपछि समग्रमा गाडीको आयात र त्यसका पाटपुर्जाको आयात वृद्धिदर घट्दो क्रममा रहेको थियो। पेट्रोलियम सवारी साधनको आयात त घटेकै थियो।
यो पटक भने वीरगञ्जबाट यात्रुवाहक सवारी र ढुवानीका साधनको आयात उल्लेखनीय बढेको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु ज्ञवालीका अनुसार तीन महिनाको अवधिमा १० अर्ब १० करोड रूपैयाँ बराबरको सवारी साधन र त्यसका पाटपुर्जाको आयात भएको छ।
गत वर्ष यो समयमा ७ अर्ब ३७ करोड रूपैयाँ मूल्य बराबरको मात्रै यस्ता साधन र यसको पाटपुर्जाको आयात भएको थियो।
संख्यागत रूपमा अहिले वीरगञ्ज भन्सार कार्यालयबाट सबभन्दा बढी आयात ट्र्याक्टर तथा ट्रेलरको भएको छ। तीन महिनाको अवधिमा चार हजार ९ सय ८५ वटा यस्ता ट्र्याक्टर तथा ट्रेलरको आयात भएको छ।
जसको आयात मूल्य ६० करोड रूपैयाँ बराबरको छ। यो आयात मूल्यमा भन्सार शुल्क तथा अन्य खर्चहरू समायोजन गरिएको हुँदैन। गत वर्षको यसै अवधिमा भने ३५ करोड रूपैयाँ बराबरको दुई हजार सात सय आठ वटा यस्ता साधन आयात भएका थिए।
ट्रक तथा मिनी ट्रकको आयात पनि उल्लेखनीय बढेको छ। तीन महिनाको अवधिमा नै ३१ करोड रूपैयाँ बराबरको एक सय ३१ वटा यस्ता साधनको आयात भएको छ।
गत वर्ष यसै समयमा जम्मा १० करोड रूपैयाँ बराबरको ४६ वटा यस्ता साधनको आयात भएको थियो। यसले सबै थरीका ढुवानीका साधनको आयात बढेको देखाउँछ।
यस्ता गाडीहरूको आयात तथा बिक्री बढ्नाले समग्रमा आर्थिक कारोबारमा सुधार भएको संकेत गर्छ। सम्बन्धित यातायात व्यवसायीहरू भने समग्रमा कारोबार नबढेर पनि यस्ता साधनमा स्वरोजगार बढेको हो।
यता यात्रुवाहक सवारीतर्फ बसको आयात तीन महिनाको अवधिमा सामान्य घटे पनि अन्य यात्रुवाहक सवारीको आयात बढेको वीरगञ्ज तथ्यांकले देखाएको छ।
गत वर्ष तीन महिनामा बसको आयात ९४ वटा भएकोमा अहिले ९१ वटा भएको छ। तर, माइक्रोबस गत वर्ष तीन महिनामा ५ वटा भएको थियो, अहिले भने ११ वटा भएको छ।
मिनिबस गत वर्षको तीन महिनामा २९ वटा रहेकोमा अहिले ५९ वटा आयात भएको छ।
डबल क्याब पिकअप गाडी गत वर्ष यो अवधिमा ६० वटा मात्रै भएको थियो। अहिले एक सय ४ वटा आयात भएको छ।
तीन महिनाको अवधिमा विद्युतबाट सञ्चालित तीन पांग्रे सवारी साधनको आयात पनि उल्लेखनीय बढेको छ।
पछिल्लो तीन महिनाको अवधिमा मात्रै २० करोड ९१ लाख आयात मूल्य भएका एक हजार ७ सय ८७ वटा यस्ता साधन आयात भएका छन्।
अघिल्लो वर्ष यो अवधिमा १५ करोड ९० लाख रूपैयाँ बराबरको एक हजार दुई सय ९६ वटा यस्ता साधनको आयात भएको थियो।
यात्रुवाहक सवारीतर्फ पनि स्वरोजगारहरू बढ्दो क्रममा रहेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर बताउँछन्।
‘अहिले यातायात क्षेत्रमा स्वरोजगार निकै बढ्दो छ। दु:ख गरेपछि आम्दानी हुन्छ नै भन्ने बुझाइ छ, बस बाहेकका यात्रुवाहक सवारीमा तुलनात्मक रूपमा थोरै लगानी गरेर पनि काम गर्न सकिने भएको कारण आकर्षण बढेको छ,’ स्वाँरले भने।
स्वाँरले अहिले नै धेरै मात्रामा बसहरूको पनि आयात हुने क्रममा रहेको बताए। उनका अनुसार यातायात क्षेत्रमा व्यवसायीको लगानी बढ्दो क्रममा देखिएको छ।
साउन र भदौ महिनामा मात्रै बैंकहरूले व्यवसाय गर्ने उद्देश्यले आयात गरिएका सवारीमा ७५ करोड रूपैयाँ ऋण थपेको छ।
निजी सवारी साधनतर्फ विद्युतबाट सञ्चालित जीप, कार र भ्यानको आयात सामान्य बढेको छ। पेट्रोलियम सवारी साधनहरू बढी मात्रामा वीरगञ्ज नाकाबाट आयात हुने गरे पनि विद्युतीय साधनहरू यो नाकाबाट निकै कम मात्रै आयात हुन्छन्।
तीन महिनाको अवधिमा यस्ता साधन दुई सय २९ वटा आयात भएका छन्। गत वर्ष ९७ वटा मात्रै आयात भएका थिए।
वीरगञ्जबाट तीन महिनाको अवधिमा दुई हजार एक सय ९४ वटा विद्युतीय मोटरसाइकल, दुई हजार आठ सय २८ वटा पेट्रोलियम मोटरसाइकल, २४ हजार ९ सय ३९ वटा अनएसेम्बल मोटरसाइकलको आयात भएको छ।
त्यस्तै यस्ता सवारी साधनका पाटपुर्जाको आयातमा पनि सुधार देखिएको छ। मोटर गाडीका पाटपुर्जाको आयात ७४ करोड रूपैयाँ बराबरको भएको छ। अघिल्लो वर्ष यसै अवधिमा ६१ करोड रूपैयाँको मात्रै आयात भएको थियो।
साइकल तथा मोटरसाइकलका पार्ट्सको आयात ६४ करोड ७७ लाख रूपैयाँ बराबरको भएको छ। अघिल्लो वर्ष यसै अवधिमा ५५ करोड ८२ लाख रूपैयाँ बराबरको थियो।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सवारी र यसका पाटपुर्जाको आयातबाट मात्रै वीरगञ्ज भन्सारले ८ अर्ब २७ करोड राजस्व उठाएको छ। अछिल्लो वर्ष यसै अवधिमा ६ अर्ब ३८ करोड राजस्व उठेको थियो।
वीरगञ्ज भन्सार कार्यालयमा जस्तै समग्रमा पनि गाडी र त्यसका पाटपुर्जाको आयात बढेको भन्सार विभागका अधिकारीहरू बताउँछन्। यद्यपि समग्र रूपमा भने भन्सार विभागले तथ्यांक तयार गरिसकेको छैन।