नयाँ वर्ष २०२५ भारतीय बजारमा गाडीको मूल्य बढ्ने भएको छ।
भारतका अधिकांश अटो निर्माता कम्पनीले नयाँ वर्ष २०२५ को पहिलो दिनबाट नै लागू हुने गरी कारको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन्।
गाडीका पाटपुर्जाको मूल्य महँगो परेका कारण सञ्चालन खर्च समेत बढ्न गएको भन्दै ठूला बिक्रेता तथा उत्पादहकरू मूल्य बढाउने घोषणा गरेका छन्।
गाडी उत्पादक कम्पनी मारुती सुजुकी, हुन्डाई, टाटा र महिन्द्रा लगायतले कारको मूल्य बढ्ने घोषणा गरिसकेको भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ।
मारुती सुजुकीले आफ्नो र एरेना र नेक्सा पोर्टफोलियोमा ४ प्रतिशतसम्म वृद्धि गर्ने बताएको छ। टाटाले सम्पूर्ण लाइनअपका गाडीमा ३ प्रतिशतसम्मले मूल्य बढाउने जनाएको छ।
हुन्डाईले एसयुभीमा मात्र मूल्य वृद्धि गर्ने भएको छ। कम्पनीका अनुसार हुन्डाईका एसयुभी जनवरी १ देखि २५ हजार भारुसम्म महँगो पर्नेछ।
जवनरी १ देखि महिन्द्राका एसयुभी ३ प्रतिशतसम्मले महँगो हुने जनाइएको छ। एमजी मोटर इन्डियाले पनि आफ्नो सम्पूर्ण लाइनअपमा ३ प्रतिशतसम्म मूल्य वृद्धि हुने जनाएको छ।
यसैगरी, निशानले २ प्रतिशतसम्म तथा बिएमडब्लु, अडि र मर्सिडिज बेन्जले पनि ३ प्रतिशतसम्मले मूल्य वृद्धि गर्ने घोषणा गरेका छन्।
भारतीय उत्पादक कम्पनीहरूले मूल्य बढाएसँगै भारतबाट आयात हुने गाडीको मूल्य नेपालमा पनि बढ्नेछ।