नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को आगामी कार्यकालका लागि करण चौधरी अध्यक्ष बन्ने भएका छन्।
नाडा अध्यक्षको प्रतिस्पर्धामा चौधरी र आकाश गोल्छा थिए। तर लामो समयको कसरतपछि आगामी कार्यकालको लागि अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा नियुक्त गर्ने सहमति भएको नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाले बताए।
उनका अनुसार सहमतिमा अध्यक्ष चुन्न लामो समयदेखि प्रयास भइरहेको थियो।
‘सहमतिमा अध्यक्ष चुन्ने विषय लामो समयदेखिको प्रयास हो। प्रतिस्पर्धीहरू प्रचार-प्रसारमा व्यस्त हुँदा हामी दुवै पक्षलाई मनाउन कसरत गरिरहेका थियौं,' उनले भने।
थापाका अनुसार चुनाव नजिकिएसँगै उनको दुवै पक्षसँग छलफल बाक्लियो। सोमबार करिब १० घण्टा लामो छलफल भयो। छलफलमा थापासँगै नाडाका अन्य सदस्यहरू र पूर्व नेतृत्वकर्ताहरू समेत उपस्थिति थियो।
मंगलबार भने आगामी कार्यकालको अध्यक्षमा चौधरी हुने सहमति भएको हो। यो सहमतिलाई थापा ऐतिहासिक सहमति बताउँछन्।
अध्यक्षका आकांक्षी रहेका अन्य उम्मेद्वारको व्यवस्थापनको लागि नाडाले आफ्नो विधान नै संशोधन गर्ने भएको छ।
अध्यक्ष थापाका अनुसार आगामी तीन महिनाभित्र नाडाले विशेष अधिवेशन बोलाउनेछ। अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने व्यवस्था गरिनेछ।
अहिलेको सहमति अनुसार गोल्छा विशेष अधिवेसनपछि वरिष्ठ उपाध्यक्ष बन्नेछन्। यसको अर्थ चौधरीपछिको कार्यकालमा गोल्छा स्वतः अध्यक्ष बन्नेछन्।
वर्तमान अध्यक्ष थापाका अनुसार अध्यक्षबाहेक कार्यसमितिको अन्य पदका लागि भने सहमति भइसकेको छैन। कार्यसमिति सदस्यहरू छनौट प्रक्रिया बाँकी छ।
नाडाले आगामी पुस २० र २१ गते साधारण सभा तोकेको छ। यही सभाले नयाँ नेतृत्व चयन गर्नेछ।
अटोमोबाइल बजार अझै पनि आर्थिक मन्दीको चपेटामा रहेको बताउँदै थापाले अहिलेको परिस्थितिमा सहमतिमा नेतृत्व लिन आवश्यक रहेको बताए।
सरकारी स्तरबाटै अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन चुनौती थपिएको अवस्थामा आगामी नेतृत्वलाई यसमा समन्वय गर्न थप चुनौती रहेको बताए। यसका लागि नीतिगत सुधारहरूको खाँचो भएको औंल्याउँदै आफ्नो कार्यकाल सकिएपछि पनि आफू सक्रिय रही समर्थन गर्ने बताए।
'मेरो कार्यकाल संघर्षपूर्ण रह्यो। बढीजसो समय सरकारी निकायहरूसँग लबिङ गर्दै बित्यो। क्षति न्यूनीकरण गर्न मै बित्यो,' उनले भने, 'अझै पनि नेपाली बजारमा अटो व्यवसाय चलायमान हुन सकेको छैन। त्यसैले भविष्यमा आफ्नो स्थानबाट अटो क्षेत्र चलायमान बनाउन समर्थन गर्नेछु।'