अब एपबाटै द्रुत बसको जानकारी लिन सकिने भएको छ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरी दत्त पनेरुका अनुसार विभागले ‘एक्सप्रेस बस सर्भिस नेपाल’ नामक एपबाट यस्तो सुविधा दिन लागेको हो।
अहिले भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन छन्।
यात्रु सुविधाका लागि भन्दै विभागले एप विकास गरेको हो। ‘हामीले प्राविधिक टोलीसँगको छलफल एप विकास गरेका हौं। यसको मद्दतले यात्रुहरूलाई सहजता मिल्नेमा विश्वस्त छौं,’ विभागका सूचना अधिकारी पनेरुले भने।
उनका अनुसार एपमार्फत यात्रुले द्रुत बस सेवा अन्तर्गत सञ्चालन हुने बसबारे जानकारी लिन सक्नेछन्। एपबाटै बस नम्बर, बस छुट्ने समय, बस कुन ठाउँमा पुग्यो वा बिसौनी कुन-कुन स्थानमा छन् भन्नेबारे जानकारी लिन सकिन्छ।
गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रूत बस सञ्चालनमा ल्याइएको हो। यसका लागि हाल ३६ वटा बस सञ्चालनमा छन्। यद्यपी यात्रु चापअनुसार ४२ वटासम्म बस सञ्चालन हुने सूचना अधिकारी पनेरु बताउँछन्।
द्रुत बसहरू बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र बेलुकी साढे ३ बजेदेखि साढे ५ बजेसम्म सञ्चालनमा छन्।