रोयल इन्फिल्ड 'हन्टर ३५०' ले पछिल्लो समय बजारमा चर्चा पाएको छ।
नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले केही महिनाअघि मात्रै फ्याक्ट्री, ड्यापर र रेभल गरी तीन भेरियन्टमा हन्टर ३५० सार्वजनिक गरेको हो।
ड्यापर र रेभल मेट्रो अन्तर्गत पर्छन् भने रेट्रोअन्तर्गत फ्याक्ट्री भेरियन्ट रहेको छ। रेट्रोको डिजाइन पहिलेको क्लासिक रोयल इन्फिल्डको जस्तै छ भने मेट्रोको डिजाइनिङ आधुनिक तरिकाको हुन्छ। मेट्रोको सुरुआती बजार मूल्य चार लाख ७९ हजार रूपैयाँ र रेट्रोको बजार मूल्य चार लाख ५९ हजार रूपैयाँ तोकिएको छ।
३४९ सिसी इन्जिन क्षमता भएको हन्टर ३५० मा पाँच स्पिड म्यानुअल गियर पाउन सकिन्छ। जसले ६,१०० आरपिएममा अधिकतम २०.२ बिएचपी पावर र ४,००० आरपिएममा २७ एनएम टर्क जेनेरेट गर्छ।
बाइकमा १३ लिटरको इन्धन क्षमता छ भने प्रतिलिटर ३६ किलोमिटरको माइलेज दिने कम्पनीले दाबी गरेको छ। बाइकको टप स्पिड ११४ किलोमिटर प्रतिघन्टा छ।
१७७ किलोग्राम कुल तौल भएको रोयल इन्फिल्डको हन्टर ३५० हेर्दै ‘क्लासी’ छ। यो बिएस-६ मापदण्डमा आधारित बाइक हो।
हन्टर ३५० नियो-रेट्रो स्टाइलमा डिजाइन गरिएको छ। अगाडि भागमा गोल आकारको हेडल्याप दिइएको छ। यसको लम्बाइ २०५५ एमएम, चौडाइ ८०० एमएम र उचाइ १०५५ एमएम छ। सिट उचाइ ७९० एमएम मात्र छ।
बाइकमा १५० एमएम ग्राउन्ड क्लियरेन्स छ। ह्विलबेस १३७० एमएम छ। नेपालको अधिकांश बाटोमा यो बाइक सहजै चलाउन सकिन्छ।
हन्टर ३५० को रेट्रो भेरियन्टमा सिंगल-च्यानल एबिएस र मेट्रो भेरियन्टमा डुअल-च्यानल एबिएस प्रविधि पाउन सकिन्छ। बाइकको अगाडि पांग्रामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ। यसमा १७ इन्चको अलोय ह्विल पाउन सकिन्छ।
रोयल इन्फिल्डले हन्टर ३५० मा डिजी-एनालग एलसिडी डिस्प्ले दिएको छ। यसमा भएको इन्स्ट्रुमेन्ट क्लस्टरमा डिजिटल अडोमिटर, ट्रिम मिटर र एनालग स्पिडोमिटर पाउन सकिन्छ। त्यस्तै यसमा ब्याट्री र इन्धन कम भएमा सचेत गराउने इन्डिकेटर पनि दिइएको छ।
यस्तो छ रोयल इन्फिल्डको हन्टर ३५०ः