काठमाडौं विश्वविद्यालय (केयू)ले हाइड्रोजन कार परीक्षण गर्दैछ। विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागअन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजनबारे अध्ययन अनुसन्धान गर्दैछ।
यसैक्रम नेपालमा हाइड्रोजन गाडीको सम्भावना र प्रयोगबारे अध्ययन गर्न केयूले दुई साता अघि दक्षिण कोरियाबाट हुन्डाई नेक्सो फ्युल सेल हाइड्रोजन कार भित्र्याएको हो। नेपाल आयल निगम (एनओसी)को सहयोगमा गाडी भित्र्याइएको विभागका उपहप्राध्यापक डा. विराजसिंह थापा बताउँछन्। उनी हाइड्रोजन फ्युल प्रडक्सन इन नेपाल (एचएफपी-नेपाल) का परियोजना प्रमुख समेत हुन्।
ग्रिन हाइड्रोजन पानीबाट उत्पादन गरिने हाइड्रोजन हो। यसको लागि पानीलाई इलेक्ट्रोलाइसिस प्रक्रियाबाट हाइड्रोजन र अक्सिजनमा विभाजित गरिन्छ। उत्पादित हाइड्रोजनलाई वैकल्पिक उर्जाको रूपमा प्रयोग गर्न सकिन्छ। अक्सिजनलाई भने कुनै पनि नकारात्मक प्रभावबिना वायुमण्डलमै छाडिन्छ।
‘पानी, विद्युत र हावा भए हाइड्रोजन बनाउन सकिन्छ। नेपाल जलस्रोतको धनी देशमध्ये पर्छ। खेर गइरहेको जलविद्युतबाटै हामी आत्मनिर्भर हुन सक्छौं। अहिले विद्युतसँगै हाइड्रोजनको प्रयोग बढाउन सक्यौं भने इन्धनको लागि अरू देशमा निर्भर हुनु पर्दैन। एनओसीलाई इन्धन निर्यात गर्ने कम्पनीसम्म बनाउन सक्छौं,’ उपप्राध्यापक थापाले भने।
उपप्राध्यापक थापा डिजेलबाट चल्ने गाडी र कारखानाहरू सञ्चालनको विकल्प भने हाइड्रोजन नै भएको बताउँछन्।
उनी भन्छन्, ‘बजारमा विद्युतीय गाडीहरू भित्रिरहेका छन्। पेट्रोलबाट चल्ने गाडीको विकल्प विद्युतीय गाडी बनेका छन्। तर डिजेलबाट चल्ने गाडी र कारखानाहरू सञ्चालनको लागि आवश्यक वैकल्पिक उर्जा हाइड्रोजन नै हो। किनभने ब्याट्रीको तुलनामा हाइड्रोजनको ऊर्जा घनत्व उच्च हुन्छ।’
उपप्राध्यापक थापाका अनुसार केयूमा हाइड्रोजन गाडी भित्र्याउनु अघिदेखि उनीहरूले हाइड्रोजन उत्पादन र भण्डारण गर्ने क्षमता विकास गरिसकेका छन्। उनीहरूले नमूना रिफिलिङ स्टेसन पनि तयार पारेका छन्।
ग्रिन हाइड्रोजन ल्याबअन्तर्गतको एचएफपी-नेपालका इन्जिनियर नितेश यादवको टोलीले नै डिजाइन गरेको यस्तो स्टेसनको एसेम्बल कोरियामा गरिएको हो। हाल नेपाल भित्र्याइएको गाडीमा यही स्टेसनबाट हाइड्रोजन हालेर परिक्षण हुनेछ। सम्भवत: यो मंसिर तेस्रो सातामा यस्तो परीक्षण गरिनेछ। परीक्षण सफल भए प्रदर्शन (डेमोस्ट्रेसन)को लागि राखिनेछ।
ल्याबले अहिले नमूना रिफिलिङ स्टेसन बनाएको छ। कमर्सियल स्टेसन बनाउन महँगो हुने हुँदा अहिले नमूना स्टेसन बनाइएको हो। यसबाट दैनिक १४ हजार लिटर हाइड्रोजन उत्पादन गर्न सकिन्छ। भविष्यमा कमर्सियल स्टेसनहरू बनाउन सकिने तरिकाले डिजाइन गरिएको हो।
यतिबेला विश्वव्यापी रूपमै वैकल्पिक उर्जाबारे अध्ययन र परिक्षण भइरहेको छ। विकसित मुलुकहरूले हाइड्रो, सोलर र हावाबाट निस्किने तर खपत नहुने बिजुलीलाई वैकल्पिक उर्जामा रूपान्तरण गरिरहेका छन्। र, त्यसलाई उद्योग, यातायात लगायत क्षेत्रमा वैकल्पिक इन्धनको रूपमा प्रयोग गरिरहेका छन्।
यसबाट नेपालले पनि सिक्न सक्ने र भविष्यमा आत्मनिर्भर हुन सक्ने थापा बताउँछन्।
ग्रिन हाइड्रोजन ल्याबअन्तर्गतको एचएफपी-नेपालका इन्जिनियर नितेश यादव नेपालमा ग्रिन हाइड्रोको प्रचुर सम्भावना रहेको बताउँछन्। उनी नेपालमा हाइड्रोजनबाट गाडी चलाउन सकिने दाबी गर्छन्। यसकै परीक्षणका लागि हाइड्रोजन कार भित्र्याइएको हो।
‘हाइड्रोजनबाट चल्ने गाडीलाई फ्युल सेल इलेक्ट्रिक गाडी भनेर बुझ्दा हुन्छ,’ हाइड्रोजन गाडीबारे बुझाउँदै उनले भने, ‘यो एक प्रकारको विद्युतीय गाडी नै हो। अहिले सडकमा गुडिरहेका विद्युतीय गाडीहरू जस्तै यसमा पनि विद्युतीय मोटर हुन्छ। तर त्यसलाई पावर गर्ने संयन्त्र फरक हुन्छ। यसमा फ्युल सेल हुन्छ।’
ग्रिन हाइड्रोजन ल्याबले भित्र्याएको गाडीमा तीन वटा हाइप्रेसर हाइड्रोजन ट्यांक छन्। जसको क्षमता १६० लिटर छ। यसमा ६ केजी हाइड्रोजन अटाउँछ।
हाल नेपाल भित्र्याइएको हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन कारले एक पटक हाइड्रोजन भर्दा कोरियाको बाटोमा ५५० देखि ६०० किलोमिटरसम्मको रेन्ज दिन्छ। यसले नेपाली सडकमा भने ४०० किलोमिटरसम्म दिन सक्ने अनुमान गरिएको छ।
हाइड्रोजन गाडी सञ्चालन खर्च डिजेलको तुलनामा सस्तो हुने यादव बताउँछन्। ‘पेट्रोलबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन सस्तो पर्छ। भविष्यमा डिजेलबाट चल्ने गाडीहरूको तुलनामा हाइड्रोजनबाट चल्ने गाडीको सञ्चालन खर्च सस्तो पर्न जानेछ।’
हाइड्रोजन गाडीबारे अध्ययनकर्ता र जनताहरूबीच चासो बढिरहेपनि नीतिहरू नबनेको उनी गुनासो गर्छन्। त्यस्तै अध्ययन अनुसन्धानलाई पनि थप प्राधमिकता दिनुपर्ने यादवको धारणा छ।
विभागका उपप्राध्यापक थापा पनि कानुनले ‘हाइड्रोजन’ नचिनेको गुनासो गर्छन्। यसलाई इन्धनको रूपमा वर्गीकरण गर्न आवश्यक रहेको बताउँछन्। त्यस्तै हाइड्रोजनको प्रयोग गर्ने कम्पनीहरूलाई सहुलियत दिएर प्रोत्साहन गर्नुपर्ने बताउँछन्।
नेपालमा अझै पनि ग्रिन हाइड्रोजनको सम्भावना अध्ययन र परीक्षण हुने क्रम जारी छ। यस्तो परीक्षण गाडीबाट सुरू हुँदैछ। सरकारले हाइड्रोजन गाडी सञ्चालनका लागि प्रोत्साहन गर्नेमा उनीहरू विश्वस्त छन्।
‘प्रधानमन्त्री (पुष्प कमल दाहाल)ले हाइड्रोजान गाडी चढ्छु भन्नुभएको थियो, सम्भवतः यो कारको उद्घाटन उनले नै गर्नुहुनेछ र यसको अनुभव लिनुहुनेछ भन्ने आशा छ,’ थापा भन्छन्, ‘हाइड्रोजन गाडी आयात तथा सञ्चालनको लागि आवश्यक अनुमति दिनुहुनेछ भन्नेमा पनि हामी सकारात्मक छौं।’