संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पूर्ण रूपमा सञ्चालन गर्न हाललाई रोकिएको छ।
प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगत्तै पुन: सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए।
‘दसैंदेखि तिहारसम्म राजधानीका सडकहरूमा जाम हुँदैन, यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको हो,’ मन्त्री ज्वालाले भने, ‘तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ।’
दसैंदेखि तिहारसम्म जाम नहुने समयमा द्रुत बस सेवा रोकिएपछि सामाजिक सञ्चाल र केही मिडियामा चर्चा गरिएको छ।
‘तर द्रुत बस सेवा रोकिएको होइन, अहिले २५ वटा मात्र द्रुत बस चलेका थिए, त्यो संख्या बढाएर लैजानेगरी तयारी थालिएको छ,’ मन्त्री ज्वालाले भने।
असोज ३ देखि द्रुत बस 'पाइलट प्रोजेक्ट' का रूपमा सञ्चालन गरिएको थियो।
द्रुत बस सञ्चालनमा देखिएका समस्याहरू हल गर्ने गरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरेका छन्।
‘द्रुत बसको लेनमा अब डोरी लगाइनेछ भने २५ वटा मात्र हैन त्यो रूटमा चल्ने लगभग धेरै सार्वजनिक सवारीहरू गुड्नेछन्,’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले भने।
रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरू द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुला हुनेछ।