सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरेको हो।
दसैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ–बसपार्क, स्वयम्भू, चावहिल, तिलगंगा, वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष सुरू गरेको कम्पनीको भनाइ छ।
विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएकोले यात्रुहरूलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरू र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ।
उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाकाअनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागु हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।
यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षासम्बन्धी सुसूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्नेछ। साथै, यसले यात्रुहरूलाई उनीहरूकै सुरक्षाका लागि यो व्यवस्था गरिएको अनुभूति दिलाउने कम्पनीको भनाइ छ।