धेरै भीड हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबारदेखि अनलाइन सेवा शुभारम्भ गरेको छ। अनलाइन सेवा सुरू भएपछि भीड हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भीड हटेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बिहीबार एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरू गरेका हुन्। दैनिक हजारौं सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए।
‘आजदेखि त्यो लाइन पूर्णरूपमा हट्नेछ’, मन्त्री ज्वालाले भने, ‘दैनिक हजारौं सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ।’
नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो। तर बिहीबारदेखि राजस्व भुक्तानी, लाइसेन्स नविकरण र वर्ग थप अनलाइनबाटै हुने भएको छ।
‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ’, प्रदेशका यातायात मन्त्री लम्सालले भने, ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो।’
सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ। अन्य सबै कामहरू घरबाटै अनलाइन सेवामार्फत् गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले मन्त्रीको शपथ लिएलगत्तै यातायात कार्यालयहरूमा लाग्ने भीड हटाउने प्रतिबद्धता गरे।
प्रतिबद्धताअनुसार २० असारदेखि कास्की यातायात व्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरू गरिएको थियो। कास्कीमा सफल भएपछि सर्वाधिक भीड हुने एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरू गरिएको छ।
‘अबको केही दिनभित्र मधेश र लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमार्फत् पनि अनलाइन सेवा सुचारू गर्छाैं’, मन्त्री ज्वालाले भने।
यातायात व्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाहरूको अन्त्य गर्न देशका सबै यातायात व्यवस्था कार्यालयहरू अनलाइन सिस्टममा लिन लागिएको छ।