दसैं-तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। हरेक क्षेत्रमा ग्राहकहरूको भीड बाक्लिदो छ। यस्तैमा अटो व्यवसायीहरूले पनि ग्राहक आकर्षित गर्न सवारी साधन खरिदमा विभिन्न अफर सार्वजनिक गरेको छ।
चाडपर्व विशेष ग्राहकहरूले नयाँ सवारी साधन खरिद गर्ने चलन छ। यसमा पनि दुई पांग्रे सवारीप्रति ग्राहकहरूको चासो बढी हुन्छ। ग्राहकहरूलाई आकर्षिक गर्न यस पटक पनि विभिन्न दुई पांग्रे सवारी साधन विक्रेताहरूले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।
यी हुन् यस वर्षको चाडपर्व विशेष योजनहरू सार्वजनिक गर्ने नेपाली बजारमा लोकप्रिय कम्पनीहरूः
१. होन्डाः
बजारमा लोकप्रियमध्ये पर्छ होन्डा। होन्डाको बाइक तथा स्कुटरले नेपालमा राम्रो बजार पाएको छ। यसपालिको चाडपर्व विशेष कम्पनीले 'दशैंमा १० लाख' योजना सार्वजनिक गरेको छ। जसअन्तर्गत होन्डाको कुनै पनि बाइक खरिद गर्दा स्क्र्याच कार्डमार्फत १० लाख रूपैयाँसम्मको नगद उपहार प्राप्त गर्न सकिनेछ। यसबाहेक थप स्क्र्याचमार्फत् १० हजार रूपैयाँ वा ५ वर्षको लागि १२ हजार पाँच सय रूपैयाँसम्मको एएमसी (वार्षिक मर्मत सम्भार सम्झौता) प्राप्त गर्न सकिनेछ।
यसबाहेक अहिले होन्डाको एक्सचेन्ज फेस्टिभल 'होन्डा एक्सचेन्ज फेस्टिभल' पनि चलिरहेको छ। असोज २३ गते सुरू भएको एक्सचेन्ज फेस्टिभल असोज २७ गतेसम्म चल्नेछ। यसमा ग्राहकले आफ्नो पुरानो बाइक अथवा स्कुटर दिएर नयाँसँग सट्टापट्टा गर्न सक्नेछन्।
यसो गर्दा नयाँ बाइक अथवा स्कुटर खरिद गर्दा तीन वर्षसम्म निःशुल्क सर्भिसिङ सेवा पाउन सकिनेछ। साथै, स्क्र्याच कार्डमार्फत् ५० हजार रुपैयाँसम्म थप बोनस प्राप्त गर्न सकिनेछ। कम्पनीले अहिले ग्राहकहरूको सुविधाका लागि भन्दै शनिबार समेत आफ्नो सोरुमहरू खुला रहने समेत जानकारी गराएको छ।
२. बजाज:
चाडपर्व विशेष बजाज नेपालले 'आम्मामा २५ गुणा अफर' सार्वजनिक गरेको छ। कम्पनीले यो अफर हालसम्मकै ठूलो अफर बताएको छ। यो अफर भदौ २४ गतेदेखि सुरू भएको छ भने मंसिर १४ गतेसम्म चल्नेछ। अफर अवधिभर बजाजको बाइक अथवा स्कुटर खरिद गर्ने ग्राहकले २५ गुणा नगद उपहार पाउने बताइएको छ। अर्थात् ग्राहकले बाइक अथवा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत दुई लाख पचास हजार रूपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक सवारी खरिदमा १० हजार रूपैयाँको नगद छुट पनि उपलब्ध गराउने जनाएको छ।
बजाजले असोज २४ गतेदेखि असोज २९ गतेसम्म भृकुटीमण्डपमा 'भ्यालुएसन भने जति, फाइनान्स चाहे जति' नारासँगै 'बजाज ग्र्यान्ड कार्निभल' पनि आयोजना गर्दैछ। ग्राहकहरूले यस कार्निभलमा सहभागी भई आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुएसन पाउनुका साथै शून्य प्रतिशत ब्याजदरमा बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन्। यसबाहेक निःशुल्क एसेसरिज र विभिन्न उपहारहरूको पनि व्यवस्था मिलाइएको छ।
३. हिरोः
हिरोको बाइक तथा स्कुटर खरिद गर्ने सोचमा हुनुहुन्छ भने यस वर्षको चाडपर्व विशेष कम्पनीले 'हिरो पर्वमा गर्व' अफर सार्वजनिक गरेको छ। सार्वजनिक योजनाअन्तर्गत हिरोको कुनै पनि मोडलको बाइक अथवा स्कुटर खरिद गर्दा १० हजारसम्मको पक्का नगद छुट, बम्परमा एक लाख नगद पुरस्कार र स्क्र्याच कार्डमार्फत् एक लाखसम्मको नगद प्राप्त गर्न सकिनेछ।
४. टिभिएसः
नेपाली बजारमा टिभिएसको दुई पांग्रे सवारी साधन आयातकर्ता एवम् विक्रेता जगदम्बा मोटर्सले पनि यस वर्षको चाडपर्व विशेष नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले 'हर मोडमा उमंग' अफर सार्वजनिक गर्दै बम्परमा १० लाख रूपैयाँ नगद जित्ने योजना सार्वजनिक गरेको छ।
योजना अवधिभर बाइक अथवा स्कुटर खरिद गर्ने ग्राहकहरूले पनि हात खाली नहुने गरी स्क्र्याचमार्फत् नगद छुट र उपहारहरू प्राप्त गर्न सक्नेछन्। खरिद गर्नुअघि एक लाख रुपैयाँसम्म, खरिद गरेपछि ५ लाख रूपैयाँसम्म र हरेक महिना लक्की ड्रमार्फत् १०० प्रतिशत क्यासब्याकको योजना टिभिएसले सार्वजनिक गरेको हो। बम्परमा १० लाख नगद उपहारसँगै आजीवन वारेन्टीसम्म प्राप्त गर्न सकिनेछ।
यसबाहेक कम्पनीले टिकटक प्रतियोगिता पनि गराउँदैछ। जसमा विजेताले एक लाख रूपैयाँ प्राप्त गर्न सक्नेछन्।
५. यामाहाः
यामाहाले असोज २१ गतेदेखि असोज २७ गतेसम्मको लागि 'फेस्टिभ एक्सचेन्ज एन्ड अपग्रेड' योजना सार्वजनिक गरेको छ। उक्त अवधिभर पुरानो बाइक अथवा स्कुटरसँग यामाहाको नयाँ बाइक अथवा खरिद गर्दा एक लाख रूपैयाँसम्मको पक्का नगद उपहार प्राप्त गर्न सकिनेछ। यसबाहेक दैनिक यामाहाको राइडिङ ज्याकेट, साप्ताहिक रूपमा आइफोन १४ र मासिकमा एक जना भाग्यशाली विजेताले जापान भ्रमण गर्न पाउनेछन्।
कम्पनीले अवधिभर बाइक अथवा स्कुटर खरिद गर्नेहरूका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत उपलब्ध गराउने बताएको छ। साथै सवारी साधन खरिद गर्दा निःशुल्क हेल्मेट उपलब्ध हुनेछ।
कम्पनीले ग्राहक सुविधाका लागि आफ्नो सोरुमहरू शनिबार पनि खुला रहने बताएको छ।
६. सुजुकीः
नेपालमा सुजुकीको दुई पांग्रे सवारी साधन आयातकर्ता एवम् विक्रेता भिजी अटोमोबाइल्स प्रालिले चाडपर्व विशेष 'बाडौं खुशी चढौं सुजुकी' योजना सार्वजनिक गरेको छ। कम्पनीले विशेष दसैं-तिहार लक्षित योजना सार्वजनिक गरेको हो जसअन्तर्गत पक्का नगद छुटदेखि बम्परमा १० ग्राम सुन प्राप्त गर्न सकिनेछ।
कम्पनीका अनुसार योजनअवधिभर ग्राहहले सुजुकीको कुनै पनि मोडलको बाइक अथवा स्कुटर खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् भने एक्सचेन्जमा बजार मूल्यांकनभन्दा १० देखि १५ हजार बढी प्राप्त गर्न सक्नेछन्। त्यस्तै एक वर्षको सडक करमा छुट उपलब्ध गराइनेछ।
सुजुकीको योजनामा यस वर्ष विशेष भनेको फर्टनाइट बम्पर उपहार हो। यसअन्तर्गत प्रत्येक १५ दिनमा एक जना ग्राहकले १० ग्राम सुनको सिक्का प्राप्त गर्न सक्नेछन्। सुजुकीको 'बाडौं खुशी चढौं सुजुकी' योजना मंसिर ३ गतेसम्म लागू हुनेछ।
७. रोयल इन्फिल्डः
रोयल इन्फिल्डले दसैं-तिहारलाई लक्षित भिन्न योजना सार्वजनिक गरेको छैन। तर कम्पनीको एक्सचेन्ज मेला पनि जारी छ। असोज २१ गते सुरू भएको एक्सचेन्ज मेला असोज २६ गतेसम्म चल्नेछ। यो अवधिमा ग्राहकहरूले आफ्नो पुरानो कुनै पनि ब्रान्डको बाइक अथवा स्कुटरसँग रोयल इन्फिल्डको बाइक सट्टापट्टा गर्न सकिनेछ। यसको लागि कम्पनीले राम्रो भ्यालुएसन दिने समेत जनाएको छ। यसबाहेक कम्पनीले फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउने जनाएको छ।
८. बेनेलीः
'दसैं-तिहारको बहार, नगद नै नगद उपहार' योजनअन्तर्गत बेनेलीले पनि चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत बेनेलीको बाइक अथवा स्कुटर खरिदमा कम्तीमा १० हजार रूपैयाँ पक्का नगद उपहार प्राप्त गर्न सकिनेछ। स्क्र्याच कुपनमार्फत् एक लाख रूपैयाँसम्म नगद प्राप्त गर्न सकिनेछ। त्यस्तै प्रत्येक हप्ता बेनेलीको ज्याकेट उपहार प्राप्त गर्न सकिनेछ भने मासिक गो प्रो ११ प्राप्त गर्न सकिनेछ।
९. केटिएम र हस्कभर्नाः
केटिएम र हस्कभर्नाले चाडपर्व विशेष 'गियर अप विथ केटिएम/हस्कभर्ना' योजना सार्वजनिक गरेक छ। योजनाअन्तर्गत कुनै पनि दुई पांग्रेसँग केटिएम/हस्कभर्नाको बाइक सट्टापट्टा गर्न चाहेमा बजार मूल्यभन्दा १५ हजार बढी भ्यालुएसन प्राप्त गर्न सकिनेछ। त्यस्तै ५० प्रतिशत डाउनपेमेन्ट राखेर बाँकी रकम वार्षिक ९.९९ प्रतिशत ब्याजदर तिर्नेगरी बाइक खरिद गर्न सकिनेछ। बाइक खरिदमा एक्सक्लुसिभ राइडिङ ज्याकेट प्राप्त गर्न सकिनेछ।
१०. भेस्पा र अप्रिलियाः
नेपाली बजारमा भेस्पा र अप्रिला ब्रान्डको आधिकारिक विक्रेता डेल्टा अटोकर्पले यसपालिको चाडपर्व विशेष 'भेस्पा र अप्रिलियासँग उपहारको तरंग' योजना सार्वजनिक गरेको छ।
योजनअन्तर्गत भेस्पा र अप्रिलियाको कुनै पनि मोडलको स्कुटर खरिदमा १० हजार नगद छुट र शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङको सुविधा प्राप्त गर्न सकिनेछ। यसका साथै साप्ताहिक विजेता घोषणा गरी विजेतालाई हनर ९० (५जी) मोबाइल उपहार दिइनेछ भने बम्परमा एक जनाले इटाली घुम्ने मौका प्राप्त गर्न सक्नेछन्। बम्पर योजनअन्तर्गत छानिने एक जनालाई कम्पनीले पाँच दिनको इटाली भ्रमण गराउनेछ।
११. इटालिकाः
पछिल्लो समय बजारमा इटालिकाको बाइक तथा स्कुटरले पनि लोकप्रियता कमाएको छ। चाडपर्वको बजार लक्षित कम्पनीले पनि 'दसैं मेगा अफर' सार्वजनिक गरेको छ। योजनअन्तर्गत फर्मुला १५० को खरिदमा २० हजार रूपैयाँ छुट प्राप्त गर्न सकिनेछ।
इटालिकाको स्टालियन २५० र नेभाडा २५० को खरिदमा ४० हजार रूपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ। एक्सचेन्जमा भने बजार मूल्यभन्दा २० हजार रूपैयाँदेखि ४० हजार रूपैयाँ बढी भ्यालुएसन प्राप्त गर्न सकिनेछ। त्यस्तै इटालिकाको कुनै पनि मोडलको बाइक तथा स्कुटर खरदिमा निःशुल्क हेलमेट पनि प्राप्त गर्न सकिनेछ।
यीसँगै थुप्रै अन्य ब्रान्डका कम्पनीहरू जस्तै मोटरहेड बाइक, जिहो नेपाल, तारो मोटो नेपाल लगायतले पनि चाडपर्व विशेष योजनाहरू सार्वजनिक गरेको छ। यसरी कम्पनीहरूले उपलब्ध गराउने योजनाहरूमा केही सर्तहरू भने लागू हुने बताएको छ।