दसैं-तिहार नजिकिएसँगै बजारमा अटो बिक्रेताहरूले विभिन्न योजना सार्वजनिक गर्दैछन्। केहीले योजना सार्वजनिक गरिसके, सेवा सुरू भइसक्यो भने केहीले चाडपर्व विशेष योजना भित्र्याउने तयारीमा छन्।
चाडपर्व विशेष योजनाहरू हरेक वर्ष सार्वजनिक हुने गर्छ। ग्राहकहरू चाडपर्वको अवसरमा नयाँ सवारी साधन खरिद गर्न रुचाउने कम्पनीहरूको भनाइ छ। यसकारण ग्राहक सेवा प्रवाह बढाउन र आर्थिक सहजता प्रदान गर्न कम्पनीहरूले नयाँ-नयाँ योजना सार्वजनिक गर्ने बताउँछन्।
हालै सम्पन्न नाडा अटो सो २०२३ मा पनि दर्जन बढी चार पांग्रे सवारी साधन विक्रेताहरूको उपस्थिति थियो। उक्त प्रदर्शनीमा सर्वसाधारणको आकर्षण देखिएपछि पनि विक्रेताहरूले चाडपर्व लक्षित योजनाहरू सार्वजनिक गर्न थालेका छन्।
गत वर्ष विदेशी मुद्राको सञ्चितीमा ह्रास आएपछि सरकारले सवारी साधन लगायतका वस्तुमा प्रतिबन्ध लगाएको थियो।
मंसिरमा प्रतिबन्ध खुले पनि आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा गाडीको बिक्री पनि घटेको थियो। २०८० भदौ यता भने गाडीको बिक्रीमा सुधार देखिन थालेको छ।
यी हुन् यस वर्षको चाडपर्व विशेष योजनहरू सार्वजनिक गर्ने नेपाली बजारमा लोकप्रिय कम्पनीहरूः
हुन्डाईः
हुन्डाईले चाडपर्व विशेष 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत हुन्डाईको जुनसुकै गाडी खरिदमा ६ लाखसम्मको नगद छुट उपलब्ध हुने बताएको छ। त्यस्तै स्क्र्याच कार्डमार्फत थप एक लाखसम्म नगद छुट प्राप्त गर्न सकिनेछ।
कम्पनीले उपलब्ध गराएको योजना लागू हुने अवधिभर गाडी खरिद गर्दा एक वर्षको सवारी बीमा र सडक कर पनि निःशुल्क हुने जनाएको छ भने बम्परमा लक्की ड्रमार्फत हुन्डाई एक्स्ट्रिम जित्ने मौका दिएको छ।
निसानः
निसानले 'निसान फेस्टिभ ड्राइभ' योजनाअन्तर्गत गाडी खरिद गर्दा १३ लाख ७५ हजार दुई सय २६ रूपैयाँसम्मकाे फाइदा उपलब्ध गराउने जनाएको छ। कम्पनीले नगदमा ८ लाखसम्मको छुट समेत दिनेछ। त्यस्तै एक वर्षको निःशुल्क इन्स्याेरेन्स र एक वर्षको सडक कर पनि निःशुल्क हुने योजनामा उल्लेख छ।
टाटा मोटर्सः
नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडीहरूको लागि असोज १४ गतेदेखि कात्तिक ३ गतेसम्मका लागि शुभकामना सर्भिस क्याम्पको आयोजना गरेको छ। उक्त क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारीक सर्भिस सेन्टरहरूमा एकै साथ सञ्चालन भइरहेको छ।
उक्त क्याम्पमा सहभागी ग्राहकको गाडीहरूमा बम्पर टु बम्पर चेकअप, ब्याट्री चेकअप, एफइपी चेकअप, इलेक्ट्रिकल चेकअप, कम्प्युटर डाग्नोसिस आदि निःशुल्क चेकअप सुविधाहरू रहेका छन्।
सुजुकीः
चाडपर्व विशेष सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले पनि नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले आइतबार 'सुजुकी पर्वोत्सवः मनाऔं यो दशैं-तिहार सुजुकी एसयुभीको साथ' सार्वजनिक गरेको हो।
योजनाअन्तर्गत ग्राहकहरूले गाडी खरिदमा एक लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् भने एक्सचेन्जमा पनि एक लाखसम्म बोनस प्राप्त गर्न सक्नेछन्। यसबाहेक गाडीको एक वर्षको इन्स्याेरेन्स निःशुल्क हुनेछ। एसयुभी सेगमेन्टमा सुजुकीका गाडीहरूले पनि प्रतिस्पर्धात्मक बजार लिइरहेको छ।
होन्डाः
चाडपर्व विशेष होन्डाले 'यस पटकको दसैं होन्डा कारसँगै' नारासहित 'दसैं-तिहार अफर' सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत होन्डाको कुनै पनि मोडलको गाडी खरिदमा ग्राहकले ६ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिन्छ।
त्यस्तै ५ वर्षको लागि निःशुल्क सर्भिसिङ पाउन सकिनेछ भने दुई वर्षको वारेन्टी प्राप्त गर्न सकिन्छ। ग्राहकले एक वर्षको लागि सडक करमा पनि छुट प्राप्त गर्न सकिन्छ। यसबाहेक कम्पनीले सहज फाइनान्सिङ उपलब्ध गराउने जनाएको छ भने विभिन्न सर्प्राइज उपहार र निःशुल्क एसेसरिजहरू प्राप्त गर्न सकिनेछ।
रेनोः
नेपाली बजारमा रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले पनि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले 'शुभ कार-रम्भः चाडपर्वको शुभ सुरूवात, गरौं रेनोको साथ' योजना अन्तर्गत ग्राहकहरूलाई गाडी खरिदमा ७ लाखसम्मको फाइदा उपलब्ध गराउने घोषणा गरेको छ।
कम्पनीले योजना अवधिमा गाडी खरिद गर्दा एक वर्षको सडक कर निःशुल्क गरिने बताएको छ। त्यस्तै दुई वर्षको लागि निःशुल्क सर्भिसिङ प्रदान गर्नेछ। कम्पनीले गाडी खरिदका लागि सहज फाइनान्सिङ पनि उपलब्ध गराउने जनाएको छ भने एक्सचेन्ज अफर पनि उपलब्ध गराएको छ।
फोटोनः
'दसैंको महिना, हात खाली हुने छैन' नारासहित फोटोन मोटर नेपालले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले योजना अवधीभर गाडी खरिद गर्दा 'स्यर-सट' उपहार प्राप्त गर्न सकिने पनि जनाएको छ।
योजनअन्तर्गत बम्पर उपहार विजेता एक जनाले थाइल्यान्ड भ्रमण र एक जनाले बाली भ्रमणको अवसर प्राप्त गर्न सक्नेछ। त्यस्तै तीन जना भाग्यशाली विजेताले मोबाइल फोन, एक जनाले टेलिभिजन, दुई जनाले फ्रिज र दुई जनाले वासिङ मेसिन प्राप्त गर्न सक्नेछन्।
स्योर-सट उपहारमा हरेक बुकिङमा ग्राहकले स्मार्टवाच, एयरपड्स वा ब्लुटुथ स्पिकार प्राप्त गर्न सक्नेछन्।
चेरी नेपालः
चाडपर्व विशेष चेरीको गाडी खरिदमा पनि योजनाहरू पाउन सकिन्छ। कम्पनी भदौ अन्तिम सातादेखि नै 'चाडपर्व अफर' अन्तर्गत योजना सार्वजनिक गरेको हो। योजनअनुरुप गाडी खरिद गर्दा ग्राहकले ५ लाख ८९ हजार रूपैयाँसम्मको फाइदा पाउन सक्नेछन्। त्यस्तै गाडी खरिदमा ४ लाख ५० हजार रूपैयाँसम्मको छुट पाउन सक्ने बताइएको छ।
यसबाहेक खरिदपछि तीन वर्षसम्मको लागि सर्भिसिङ निःशुल्क हुनेछ भने ३ वर्षको वारेन्टी समेत घोषणा गरेको छ।
कम्पनीले नाडा अटो सो २०२३ लाई समेत लक्षित गर्दै योजना सार्वजनिक गरेको थियो। प्रदर्शनीमा गाडी बुक गर्नेहरूले थप विशेष छुट समेत प्राप्त गर्नेछन्। कम्पनीले चेरीको गाडी खरिदका लागि फाइनान्सिङ सुविधा सहज गर्ने समेत बताएको छ।
फक्सवागनः
चाडपर्व विशेष फक्सवागनले पनि योजना सार्वजनिक गरेको छ। कम्पनीले 'फक्सवागन फ्याबुलस फेस्टिभ अफर' अन्तर्गत चाडपर्व विशेष विदेश घुम्ने अवसरदेखि छुट सार्वजनिक गरेको छ। कम्पनीले गत असोज २ गतेदेखि नै यो अफर सुरू गरेको हो।
योजनाअन्तर्गत ग्राहकहरूले बम्परमा ५ दिन युरोपको बर्लिन भ्रमण गर्ने अवसर पाउने बताइएको छ। साथै विद्युतीय स्कुटर नियुको एमक्युआई प्लस स्पोटर्ट र एप्पल म्याकबुक एयर समेत प्राप्त गर्ने अवसर रहेको छ।
फक्सवागनको गाडी खरिदमा २ लाख २५ हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। यससँगै चार वर्षको लागि निःशुल्क सर्भिसिङ प्राप्त गर्न सकिनेछ। साथै एक वर्षको सडक कर र एसेसरिजहरू पनि निःशुल्क हुने योजनामा उल्लेख छ। कम्पनीले ७ वर्षको लागि वार्षिक १०.९९ प्रतिशत ब्याजमा गाडी खरिद गर्न सकिने सुविधा पनि दिने बताएको छ।
जिडब्लुएमः
नेपालमा जिडब्लुएमको सवारी साधनको आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले चाडपर्व विशेष गाडीहरूको 'टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प' आयोजना गरेको छ। कम्पनीले टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गत असोज १२ देखि सुरू गरेको हो। यो असोज १८ सम्म आयोजना हुँदैछ।
योजनाअवधिमा ग्राहकहरूले गाडी खरिदमा ७ लाखसम्मको नगद लाभ पार्न सक्नेछन् भने एक्सचेन्ज बोनसहरू, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तीय सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन्।
सिजी मोटर्सः
दसैं-तिहार विशेष सिजी मोटर्सले पनि योजनाहरू सार्वजनिक गरेको छ। कम्पनीले 'नेटा भी डिक्की फुल अफर' अन्तर्गत नेटा भी खरिद गर्ने ग्राहकहरूको लागि छुट र उपहारहरूको व्यवस्था गरेको छ। यस योजनअन्तर्गत नेटा भी खरिद गर्दा सिजीको ४३ इन्चको ४के स्मार्ट टिभी, ब्ल्याक एन्ड डेकरको भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वासर, सिजीको रातो भ्याक्युम कप र सिजीको ५०० मिलिलिटरको भ्याकुम फ्ल्यास बोटर प्राप्त गर्न सकिनेछ।
साथै ६.६ किलोवाट आवरको चार्जर, टायर सेट पनि निःशुल्क प्राप्त गर्न सकिनेछ। ग्राहकले नेटा भी खरिदमा एक वर्षको लागि निःशुल्क इन्सुरेन्स र सडक कर पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। यसबाहेक विभिन्न नगद छुट र एक्सचेन्ज अफर पनि दिने जनाएको छ।
सिजी मोटर्सले यसबाहेक 'दसैं र तिहार इभीमा टिभी उपहार' योजनअन्तर्गत ग्राहकहरूले विद्युतीय भ्यान खरिदमा सिजीको ४३ इन्चको स्मार्ट एलइडी र ब्ल्याक एन्ड डेकरको प्रेसर वासर प्राप्त गर्न सक्नेछन्। त्यस्तै गाडी खरिदमा एक वर्षको निःशुल्क बीमा र एक वर्षको सडक कर निःशुल्क हुने बताइएको छ। साथै, ६.६ किलोवाटआवटरको चार्जर पनि निःशुल्क प्राप्त गर्न सकिनेछ।
एमजीः
पछिल्लो समय विद्युतीय सेगमेन्टमा बजारमा एमजीको प्रदर्शनी लोकप्रिय छ। चाडपर्व विशेष एमजीले 'एमजी ड्राइभ्स फेस्टिभ भाइब्स' सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले दुई लाखसम्मको नगद फाइदा पाउन सक्नेछन्।
कम्पनीको यो योजना असोज २ गतेदेखि सुरू भएको छ भने मंसिर ४ गतेसम्म लागू हुनेछ। सो अवधिमा एमजीको गाडी खरिद गर्ने ग्राहकहरूले निःशुलक स्पेयर टायर पनि पाउनेछन् भने ७ किलोवाटको एसी चार्जर पनि निःशुल्क पाउने बताइएको छ। यसबाहेक कम्पनीले एक वर्षको लागि इन्स्याेरेन्स पनि निःशुल्क हुने बताएको छ।
यसरी कम्पनीहरूले उपलब्ध गराउने योजनाहरूमा केही सर्तहरू भने लागू हुने जनाएको छ। विभिन्न कम्पनीले दिएको योजनाबारे कम्पनीलाई सिधैं सम्पर्क गर्न सकिने समेत जनाएको छ।