चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले बजारमा नयाँ विद्युतीय गाडीको लागि बुकिङ खुलाएको छ। कम्पनीले 'नेटा यू' को लागि बुकिङ खुलाएको हो। यसको सुरुआती बजार मूल्य ५२ लाख रूपैयाँ तोकिएको छ।
नेटा यू चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी होजन अटोको उत्पादन हो। हाल बजारमा उक्त कम्पनीको उत्पादन 'नेटा भी' मात्रै उपलब्ध छ।
सिजी मोटर्सले बुकिङ खुलाएको नयाँ मोडल नेटा यूले एक पटकको पूरा चार्जले ६१० किलोमिटर रेन्ज दिने बताइएको छ। गाडी जम्मा ३० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ।
हाल भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२३ मा कम्पनीले नेटा यू प्रदर्शनीमा राखेको छ। गाडी बुकिङ गर्न इच्छुक ग्राहकहरूले त्यही गएर गाडी बुक गराउन सक्ने जनाइएको छ।
गाडी हेर्दै निकै सानदार छ। तर हाल प्रदर्शनीमा राखिएको गाडीमा चालक सिट बायाँतर्फ छ। नेपाली बजारका लागि भित्र्याउँदा भने यो दायाँपट्टी नै हुने बताइएको छ।
कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा राखेको जनकारी अनुसार नेटा यूमा ८१.५७ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने यसमा भएको सिंगल इलेक्ट्रिक मोटरले ३२१ हर्सपावर जेनेरेट गर्छ। जम्मा ७ सेकेन्डमा गाडीलाई शून्यदेखि १०० किलोमिटरसम्मको रफ्तारमा गुडाउन सकिन्छ।
नेटा यूको लम्बाई ४,५४९ एमएम, चौढाई १,८६० एमएम र उचाई १,६२९ एमएम छ। गाडीको कुल तौल भने १,७५० केजी रहेको छ। गाडीमा १९ इन्चको टायर दिइएको छ। यसको ह्विलबेस भने २,७७० एमएम छ।
गाडीमा एआई भोइस कन्ट्रोल (बोलेर कन्ट्रोल गर्न मिल्ने) फिचर समावेश गरिएको छ। त्यस्तै यसमा एल-२ प्लस इन्टेलिजेन्ट ड्राइभिङ विशेषता दिइएको छ। जसले गर्दा गाडीलाई सुरक्षित तरिकाले चलाउन मद्दत पुर्याउँछ।
बजारमा नयाँ नेटा यू विभिन्न भर्सनमा उपलब्ध हुने बताइएको छ। यो ४०० भर्सन, ४०० प्रो भर्सन, ५०० भर्सन, ५०० प्रो भर्सन, ६१० भर्सन र ६१० प्रो भर्सनमा उपलब्ध हुने कम्पनीको वेबसाइटमा उल्लेख छ।
जारी नाडा अटो शोमा सिजी मोटर्सले नेटा यू सहित नेटा भी, नेटा जिटी र नेटा एस पनि प्रदर्शनीमा राखेको छ।
कम्पनीका अनुसार नेटा एस पनि नेपाली बजारमा छिट्टै प्रवेश गर्नेछ। नेटा एसले एक पटकको पूरा चार्जमा ११०० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ।