दाङ तुलसीपुरका युवा व्यवसायी केशव केसीले करिब साढे दुई वर्षअघि निजी प्रयोजनका लागि विद्युतीय कार किन्ने कुरा गर्दा उनका साथीहरूले नाक खुम्च्याए। उसलाई मात्रै वातावरणको चिन्ता भएको भनेर हाँसो गरे।
केशवले कसैको कुरा सुनेनन्, करिब ५० लाख रुपैयाँमा तुलसीपुरमा विद्युतीय कार भित्र्याए। उनको निर्णयमा आज ती साथीहरू सहमत भएका छन् जसले विद्युतीय कार किन्ने कुरा हाँसोमा उडाएका थिए।
‘ऋण वा नगद जसरी भए पनि गाडी किन्नुभन्दा त्यो गाडी निरन्तर गुडाउनु बढी चुनौती हुन्छ। त्यही कुरा बुझेर मैले विद्युतीय गाडी किनेको हुँ,’ केशव भन्छन्, ‘त्यतिखेर मलाई गलत गरिस् भन्ने साथीहरू आज तैंले ठीक गरिछस् भन्दैछन्।’
विद्युतीय कार किनेपछि इन्धनमा उनको खर्च ह्वात्तै घटेको छ। पेट्रोलको तुलनामा उनको खर्च नगन्य छ।
‘गाडीको दैनिक खर्च कटौती गर्न सक्दामात्रै सधैं चढ्न सकिने भयो। इन्धनको खर्च जोगाउन विद्युतीय कार किनेको हुँ,’ उनी भन्छन्, ‘यसबाट मेरो खर्च त घटेकै छ, वातावरण संरक्षणमा थोरै भए पनि मद्दत पुगेको छ। आजकाल त साथीहरू तेरो गाडीमा तेल हाल्नु पर्दैन, त्यसमै जाऔं न भन्छन्।’
उनका अनुसार विद्युतीय गाडी चार्जिङ स्टेसनमा चार्ज गर्दा पेट्रोलको तुलनामा आधाभन्दा पनि निकै सस्तो पर्छ। सर्भिसिङको खर्च मोटरसाइकलको जति नै हुन्छ।
उनी भन्छन्, ‘म दैनिक २५ देखि ६० किलोमिटरसम्म गुड्छु। त्यतिमा मेरो खर्च डेढ सय रुपैयाँ जति हुन्छ।’
तुलसीपुरमा हाल वेस्टर्न पार्टी प्यालेसमा मात्रै विद्युतीय चार्जिङ स्टेसन छ। तुलसीपुरको मेट्रो होटलमा पनि चार्जिङ स्टेसन थियो, हालै त्यो हटाइएको छ।
विद्युतीय कार घरमै पनि चार्ज गर्न मिल्छ। केशव धेरैजसो घरमै चार्ज गर्छन्। अलिक टाढा जानु छ वा विद्युत काटिने अवस्था छ भनेमात्रै चार्जिङ स्टेसनमा जान्छन्।
नेपाल विद्युत प्राधिकरणले ठाउँठाउँमा चार्जिङ स्टेसन राख्न थालेपछि विद्युतीय गाडी प्रयोग गर्नेलाई सजिलो भएको उनले बताए।
लुम्बिनी प्रदेशभित्र पूर्व–पश्चिम राजमार्गमा रूपन्देहीको बुटवल, दाङको लमही र बाँकेको कोहलपुरमा चार्जिङ स्टेसन छन्।
यी स्टेसनमा सामान्य अवस्थामा प्रतियुनिट ६ रुपैयाँ शुल्क लाग्छ। बेलुका केही घण्टा प्रतियुनिट ८ रुपैयाँ र राति १२ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट १२ रुपैयाँ शुल्क लाग्छ।
केशवका अनुसार उनको कार घरमा ७ एम्पियर क्षमताले चार्ज गर्दा पूरा चार्ज हुन ७ घन्टा लाग्छ। स्टेसनमा २२ एम्पियरको चार्जरले डेढ घन्टामा र ४४ एम्पियरकोले ४५ मिनेटमा पूरा चार्ज हुन्छ।
तुलसीपुरमा सार्वजनिक यातायातमा विद्युतीय गाडी देखिन थालेका छन्।
तुलसीपुरका व्यवसायी विमल पौडेलले सार्वजनिक यातायातमा दुई वटा विद्युतीय माइक्रो बस चलाएका छन्।
उनका अनुसार अन्य व्यवसायीसँग समेत गरी हाल तुलसीपुरमा यस्ता गाडी नौवटा छन्। ती सबै गाडी ‘त्रिसिद्धेश्वरी यातायात प्रालि’ अन्तर्गत चलेका छन्।
विमलको एउटा विद्युतीय गाडी दैनिक दाङको तुलसीपुरबाट नेपालगञ्जसम्म र अर्को गाडी तुलसीपुरबाट बुटवलसम्म चलेको चार महिना भयो। तुलसीपुर–नेपालगञ्ज ११६ किलोमिटर र तुलसीपुर–बुटवल १७५ किलोमिटर दूरी छ।
विमल दुई वटै गाडी रातको समयमा अक्सर घरमै चार्ज गर्छन्। स्टेसनमा पूरा चार्ज गर्दा नेपालगञ्ज जाने गाडीका लागि बढीमा एक हजार रुपैयाँ र बुटवल जाने गाडीका लागि बढीमा १५ सय रुपैयाँ चार्जिङ खर्च लाग्छ।
उनी भन्छन्, ‘पेट्रोल हाल्नु परेको भए नेपालगञ्ज आउजाउ गर्दा कम्तीमा ३५ सय रुपैयाँ र बुटवल आउजाउ गर्दा कम्तीमा पाँच हजार रुपैयाँ लाग्ने थियो।’
विद्युतीय गाडी चलाउँदा खनिज इन्धन किन्न विदेश जाने पैसा कटौती हुने र वातावरण संरक्षणमा सहयोग पुग्ने विमलको भनाइ छ।
‘विद्युतीय गाडी वातावरणका लागि उपयुक्त छन्। इन्धनको खर्च व्यापक कटौती हुन्छ,’ उनी भन्छन्, ‘डिजेल–पेट्रोल किन्न विदेशलाई तिर्नुपर्ने पैसा जोगिन्छ। यात्रुको भाडामा पनि सहुलियत हुन्छ।’
विमलका अनुसार इन्धनको खर्च घटेपछि उनले आफ्नो गाडीको भाडा पनि घटाउन चाहेका थिए तर घटाउन पाएनन्।
उनले भने, ‘मैले मेरा गाडीमा भाडादर घटाउन नखोजेको होइन तर तेलबाट चल्ने गाडीका साथीहरूले नमानेपछि म पछि हटेँ।’
अनुभवीहरूका अनुसार सुरूमा विद्युतीय गाडी खरिदमा केही बढी खर्च परे पनि कालान्तरमा सस्तो पर्छ। इन्धनमा पैसा बचत हुने भएपछि खर्च घटेर फाइदा हुन्छ।
विमल भन्छन्, ‘विद्युतीय गाडी समयको माग हो। यस्ता गाडीको प्रयोग बढाउन ठाउँठाउँमा चार्जिङ स्टेसन राख्नुपर्छ।’
नेपाल विद्युत प्राधिकरणले दाङको लमहीमा राखेका दुई वटा चार्जिङ स्टेसन गत जेठदेखि चलेका हुन्। लमही नगरपालिकाको बसपार्कमा एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा करिब डेढ करोड रुपैयाँमा चार्जिङ स्टेसन राखेको कुरा प्राधिकरणको लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने बताए।
उनका अनुसार दुई वटा स्टेसनमा एकसाथ ६ वटा गाडी चार्ज हुने सुविधा छ। हाल दैनिक १८ वटासम्म गाडीले चार्जिङ सेवा लिने गरेका छन्।
‘बुटवल र कोहलपुरमा आधा जति चार्ज गरेर हिँडेकाहरू लमहीमा आएर चार्ज गर्छन्, उनी भन्छन्, ‘चियाखाजा खाने ४५ मिनेटमा गाडी फुल (पूरा) चार्ज भइसक्छ।’
चारपांग्रे एउटा गाडी पूरा चार्ज हुन २० युनिटसम्म विद्युत खपत हुन्छ। यसमा दुई सय रुपैयाँसम्म शुल्क लाग्छ।
‘विद्युतीय गाडीले खनिज इन्धन प्रयोग नगर्ने भएकाले धुवाँ निकाल्दैन। यसो हुँदा वायु प्रदूषण घट्छ। स्वदेशी विद्युतीय ऊर्जा प्रयोग गर्ने भएकाले खनिज इन्धन खरिदका लागि हुने विदेशी मुद्राको खर्च घट्छ। वितरण केन्द्रका प्रमुख लामिछानेले वातावरण स्वच्छ राख्न पनि खनिज इन्धन घटाउनुपर्ने बताए।
‘अहिलेको प्रमुख वातावरणीय समस्या ग्लोबल वार्मिङ (बढ्दो विश्वव्यापी तापमान) हो। खनिज इन्धनको प्रयोग घटाउन सके वातावरणीय समस्या समाधानमा मद्दत पुग्छ,’ उनले भने।
विद्युत प्राधिकरणले ठाउँठाउँमा चार्जिङ स्टेसनहरू राखेपछि विद्युतीय सवारी साधनमा आकर्षण बढ्दै गएको यातायात व्यवसायी विमलको भनाइ छ। सुविधा थप्दै गए विद्युतीय गाडीको प्रयोग बढ्दै जाने उनको विश्वास छ।
दाङमा पाँच वर्षअघि विद्युतीय रिक्सा ल्याउन सुरू भएको थियो। हाल दाङमा यस्ता रिक्साको संख्या तीन हजार ७०० नाघेको छ। व्यक्तिहरूले विद्युतीय स्कुटरको प्रयोग सुरू गरेका छन्। यातायात व्यवस्था कार्यालय, तुलसीपुरका प्रमुख रमेश गौतमका अनुसार उक्त कार्यालयमा हालसम्म ६२ वटा विद्युतीय स्कुटर दर्ता भएका छन्।
उक्त कार्यालयका अनुसार दाङमा निजी विद्युतीय कारको संख्या २४ पुगेको छ।