जर्मन प्रिमियम कार ब्राण्ड बिएमडब्लूको सर्वाधिक सफल मोडल 'आइएक्स–३' नेपालमा सार्वजनिक भएको छ।
नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आइएक्स ३ नेपाल ल्याएको हो।
बिएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आइएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल रहेको बताइएको छ।
नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने कुरामा कम्पनी विश्वस्त रहेको छ।
प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आइएक्स–३ को बलियो पक्ष हो। ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ।
कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ। यसको अधिकतम पावर २८५ पिएस र टर्क ४०० न्यूटन मिटर रहेको कम्पनीको भनाइ छ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटिपीको परीक्षणले प्रमाणित गरेको छ।
उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राखेको छ।
यात्रालाई अस्मिरणीय बनाउन म्युजिकको लागि १६ वटा स्पिकर प्रयोग र हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगितको उत्कृष्ट अनुभव लिन सकिन्छ।
यसमा पानारोमिक ग्लास रुफको प्रयोग गरिएको कारण दिन र रातको समयमा पनि खुला आकासको दृश्यावलोकन गर्न सकिनेछ।
यो गाडीमा ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ।
वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बीयन्ट लाइटको कारण क्याविनले निकै प्रिमियम फिल गराउने बताइएको छ।
स्टाइलिस डिजाइनमा तयार भएको एसएभिमा २० इन्चको एरोडायनामिक ह्वील पाउन सकिन्छ।
कम्पनीका अनुसार बिएमडब्लू अटोमोटिभ क्षेत्रमा पृथक र नवीन उत्पादनको लागि परिचित र अग्रणी कम्पनी हो।
आफ्ना प्रत्येक उत्पादनमा दिगो इको सिस्टम निर्माण, असाधारण ड्राइभिङ अनुभव प्रदान र वातावरणीय फुटप्रिन्टमा आफूलाई अब्बल बनाउँदै आएको कम्पनीको भनाइ छ।
कम्पनीले ब्याट्री प्रविधिमार्फत दिगो वातावरण संरक्षणमा भूमिका खेलिरहेको छ।
नवीकरणीय स्रोतहरूको चयन, ऊर्जा क्षेत्रमा कुशल प्रणालीको विकास र वातावरण सुधार तथा सुन्दर भविष्य निर्माण गर्ने आफ्नो प्रतिवद्धतालाई आइएक्स–३ ले पूर्ण गरेको बताइएको छ।