भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर उद्घाटन गरेका छन्।
आइतबारदेखि जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा नियमित सञ्चालन हुने भएको हो। मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि भंगहा स्टेशनबाट जयनगरका लागि रेल गुडेको छ।
यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको थियो।
आजदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालन भएको मन्त्री ज्वालाले बताए। अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्मको ५२ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ।
छिमेकी मुलुक भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले १७ किलोमिटर रेल्वे विस्तार गरेको हो। गत जेठ १८ गते उक्त भारतीय कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो।