नेपाली बजारमा युवा पुस्तामाझ रोयल इन्फिल्डको 'द क्लासिक ३५०' प्रख्यात छ। द क्लासिक ३५० एक रेट्रो शैलीको मोटरसाइकल हो।
यसको डिजाइन दोस्रो विश्वयुद्धपछि विश्वभरका मोटरसाइकल प्रेमीहरूले मन पराएको बेलायती मोटरसाइकलबाट प्रेरित रहेको कम्पनीको भनाइ छ। यस सिग्नेचर स्टाइलका साथै सरल र सुचीपूर्ण डिजाइन भएको बाइकमा जे-सिरिज इन्जिन जडान गरिएको छ।
३४९ सिसी डिस्प्लेसमेन्ट रहेको क्लासिक ३५० मा सिंगल सिलिन्डर, ४ स्ट्रोक, एयर-कुल्ड इन्जिन दिइएको छ। यसले ६,१०० आरपिएममा १४.८७ किलोवाट पावर र ४,००० आरपिएममा २७ एनएम टर्क जेनेरेट गर्छ। यसको इन्जिन बिएस-६ मापदण्डमा आधारित छ।
बाइकको लम्बाई २,१४५ एमएम, चौढाई ७८५ एमएम र उचाई १,०९० एमएम छ। त्यस्तै सिट उचाई जम्मा ८०५ एमएम छ भने कुल तौल १९५ केजी छ।
बाइकमा पछाडिको सिट निकाल्न/राख्न मिल्ने विशेषता छ। यसमा एनलग-डिजिटल इन्स्ट्रुमेन्ट मिटर र युएसबी चार्जिङ पोर्ट दिइएको छ।
नयाँ क्लासिक ३५० मा १३ लिटरको इन्धन क्षमता छ भने प्रतिलिटर ३५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ। यसको टप स्पीड ११३ किलोमिटर प्रतिघण्टा रहेको छ।
पहिलेको तुलनामा रोयल इन्फिल्डको नयाँ क्लासिक ३५० को मूल्य पनि घटेको छ। यो बाइक नेपालमै एसेम्बल हुने भएकाले पनि मूल्य घटेको हो। कम्पनीले नयाँ क्लासिक ३५० को बजार मूल्य चार लाख ९९ हजार रूपैयाँ तोकेको छ।