बाँकेको कोहलपुर चौराहामा निर्मित बसपार्कको उद्घाटन भएको छ।
आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नवनिर्मित बसपार्कको उद्घाटन गरेका हुन्।
नगरपालिका र निर्माण कम्पनी 'खड्का दया जेभी' बीच २०७७ फागुन २४ गते २७ करोड ८४ लाख रूपैयाँमा बसपार्क निर्माणको ठेक्का सम्झौता भएको थियो।
सम्झौताअनुसार गत फागुनमै बसपार्क निर्माण भएपनि निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरेको थिएन।
कोहलपुर बसपार्कलाई अहिलेसम्मकै अत्याधुनिक बसपार्क भनिएको छ।
बसपार्क प्रवेशका लागि दुईवटा गेट हुनेछन्।
मुख्य गेट पश्चिमतर्फ चौराहमा छ जहाँबाट छोटो दूरीका सवारीसाधन छुट्ने छन्। यो गेट तयार भइसकेको छ।
लामो दूरीका सवारीसाधनले चौराहा नपुगी पूर्वबाटै सोझै प्रवेश पाउने छन्। पूर्वी गेट भने तयार भइसकेको छैन। पूर्व–पश्चिम राजमार्ग विस्तार आयोजनाका कारण पूर्वी गेट तत्कालै प्रयोगमा आउन नसक्ने इञ्जिनियर महतराले बताए।
बस चल्ने दूरीका हिसाबले बसपार्कलाई तीन भागमा विभाजन गरेर पार्किङको व्यवस्था गरिएको छ। बाहिर निस्कन अलग्गै गेट छन्।
बाँके पश्चिम नेपालकै व्यापारिक केन्द्र हो। कोहलपुर नगर त्यसको धमनी हो। पूर्व–पश्चिम राजमार्ग कोहलपुर हुँदै वारपार भएको छ। यहाँ मेडिकल कलेज पनि छ। निकट भविष्यमा व्यापारिक केन्द्र बन्ने सम्भावनाका आधारमा बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि सटरहरू राखिएका छन्।
सबैजसो सटर बुकिङ भएका छन्। सटर भाडाबाट मात्रै नगरपालिकाले वार्षिक डेढ करोड रूपैयाँ आम्दानी गर्ने देखिएको छ। व्यापारिक भवन, गाडी मर्मत गर्ने ग्यारेज भाडा, प्रवेश शुल्क, पार्किङ शुल्क, टिकट काउन्टर लगायत गरी एकमुस्ट वार्षिक ४८ लाख रूपैयाँमा टेन्डर गर्ने योजना नगरपालिकाको छ।
सटर भाडामा दिँदा स्थानीयवासी प्राथमिकतामा परेका छन्। असी प्रतिशत सटर स्थानीयवासीका लागि र बाँकी बीस प्रतिशत खुला प्रतिस्पर्धाबाट अन्य व्यक्तिलाई छुट्ट्याइएको छ।
उत्तरतर्फ स्टोरसहितका २९ वटा ठूला सटर छन्। दक्षिणतर्फ स्टोरबिनाका ३० वटा सटर छन्।
व्यापारिक भवन पाँच तले बनाउने योजना रहे पनि हाल चार तले मात्रै बनाइएको महतराले बताए। उनका अनुसार बसपार्क पूर्ण रूपमा सञ्चालन भएपछि नगरपालिकाले वार्षिक कम्तीमा तीन करोड रूपैयाँ आम्दानी गर्नेछ।
व्यापारिक भवनसँगै जोडिएका दसवटा कोठामा बीसवटा टिकट काउन्टर बनाइएका छन्। सुरक्षाकर्मीका लागि पनि भवन बनेको छ। बसपार्कभित्र दुई वटा चार्जिङ स्टेसन पनि छन्। विद्युतीय गाडी प्रर्वद्धन गर्ने उद्देश्यले करिब एक करोड रूपैयाँ लागतमा नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन बनाइदिएको हो। चार्जिङ स्टेनसनबाट हुने आम्दानी नगरपालिका र प्राधिकरणबीच बाँडफाँट हुनेछ।
बसपार्कका शौचालयहरू सुविधायुक्त छन्। यहाँ मेडिकल काउन्टर पनि बनाइएको छ। टर्मिनल भवनमा यात्रु प्रतीक्षालय छ, स्तनपान कक्ष पनि अलग्गै छ। बसपार्कभित्र जहाँसुकै धूम्रपान गर्न पाइने छैन। निर्धारित ठाउँ अर्थात 'स्मोकिङ जोन' छुट्ट्याइएको छ। त्यस्तै केही बिरूवा पनि रोपिएको छ।
यहाँ तीन वटा 'हाई मास्क लाइट' राखिएका छन्। रातमा पनि झलमल्ल उज्यालो हुनेछ।
पढ्नुस्ः यस्तो छ २८ करोडमा बनेको बसपार्क (भिडिओ)
बसपार्कमा एकपटकमा लामो र मध्यम दूरीका कम्तीमा ५० वटा ठूला बस तथा छोटो दूरीका कम्तीमा २० वटा बस अटाउने क्षमता छ।
बसपार्कको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले कोहलपुरमा निर्माण गरिएको नयाँ बसपार्कले पश्चिम नेपालमा यातायात ब्यबस्थापन सहज हुने बताए।
अत्याधुनिक बसपार्क निर्माण गरिएको हुँदा त्यही अनुसार त्यसको संरक्षण र र सफाइमा लाग्न उनले आग्रह गरे। ती काममा प्रदेश सरकारपनि आवश्यकता अनुसार जोडिने उनले आश्वासन दिए।