भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नविकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले अनलाइन सेवाको शुभारम्भ गरेका हुन्।
अनलाइन सेवा सुरू भएपछि यातायात व्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन मात्र जानुपर्नेछ।
अनलाइन सेवा सुरू भएसँगै यातायात व्यवस्था कार्यालयहरूमा लाग्ने गरेको भीड र बिचौलिया प्रवृत्ति अब अन्त्य हुने विश्वास लिइएको छ।
‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगत्तै यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिएँ, लाइसेन्सका लागि नयाँ आवेदन, नविकरण, सवारी वर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने व्यवस्था गरेका छौं,’ अनलाइन सेवा सुरू गर्दै भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाले भने, ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरू गरेका छौं, एक महिनाभित्र देशभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरू गर्छाैं।’
अनलाइन सेवा सुरू गर्दा राज्यमन्त्री नन्दा चपाईं, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए।
‘स्वास्थ्य परीक्षण पनि यातायात व्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने व्यवस्था गर्न लागेका छौं,’ यातायात व्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने।
नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन्।
उनीहरू अब नविकरण र वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ। लाइसेन्स नविकरण पनि पाँच/पाँच वर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुँदैछ।
नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन।
‘त्यसका लागि मोबाइल नम्बरमा एसएमएस आउने व्यवस्था गर्दैछौं,’ महानिर्देशक भट्टराईले भने।