बृहत तालिम सञ्चालनका लागि नाडा र इन्स्योरबीच सम्झौता भएको छ।
बुधबार नाडाको सचिवालयमा नाडाका पदाधिकारीहरू, नाडाअन्तर्गत गठित सीप विकास इकाईका सदस्यहरू तथा स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह-सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) का उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
उक्त सम्झौता पत्रमा नाडाको तर्फबाट अध्यक्ष डा. ध्रुव थापा र परियोजनाका तर्फबाट संस्थाका टोली प्रमुख रवीन्द बहादुर सिंहले हस्ताक्षर गरेका छन्। बृहत तालिम सञ्चालन कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तहरू समेत तयार गरिएको छ।
नाडाका सदस्य कम्पनीहरूमा कार्यरत कर्मचारी, प्राविधिज्ञहरू लगायत नयाँ कर्मचारी र प्राविधिकहरूलाई दक्ष र सीपयुक्त बनाउनका लागि लागि यो सझौता गरिएको हो।
यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयारगरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिनेछ, जसका लागि नाडाका सदस्य कम्पनीहरूले आफ्नो आवश्यकता अनुसार कर्मचारी तथा प्राविधिकहरूलाई तालिम दिन सिफारिस गर्नेछ। सहभागीहरूलाई सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारको तालिम दिइने बताइएको छ।
नाडाले पहिलो पटक यस किसिमको तालिमहरू सञ्चालन गर्न लागेको हो। नाडाले यसलाई दिर्घकालसम्म सञ्चालन गर्ने उद्धेश्य राखेको छ। यस किसिमको तालिमले अटोमोवाइल क्षेत्रमा सहज रूपमा दक्ष जनशक्ति पूर्ति हुने विश्वास नाडाले लिएको छ। नाडाका अनुसार यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालय समेतको व्यवस्था गरिसकेको छ।
नाडाले यस किसिमका कार्यहरू निरन्तरता दिन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष निराकार श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी, कपिल शिवाकोटी, बरदान बस्नेत र सोहन श्रेष्ठ सहितको ६ सदस्यीय सीप विकास इकाई गठन गरेको छ।