बिवाइडी अट्टो-३ को बजार मूल्य घटेको छ।
नेपालमा बिवाइडी गाडीको लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो।
सरकारले १०० किलोवाट क्षमताभन्दा माथिका गाडीमा लाग्ने कर घटाएसँगै कम्पनीले पनि आफ्नो १५० किलोवाट क्षमताको अट्टो-३ मोडलको मूल्य घटाएको हो।
कम्पनीले सार्वजनिक गरेको नयाँ सूची अनुसार १५० किलोवाट क्षमता मोटर भएको बिवाइडी अट्टो-३ को बजार मूल्य ८१ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यसभन्दा अघि यो मोडलको मूल्य ८९ लाख ९० हजार थियो।
नयाँ बजेटले ५१ किलोवाटदेखि १०० किलोवाटसम्म क्षमता भएका विद्युतीय सवारी साधनमा भने भन्सार र अन्तः शुल्क बढाएको छ।
यसकारण कम्पनीले १०० किलोवाट क्षमताको मोटर जडित अट्टो-३ 'सुपेरिअर ट्रिम' को मूल्य भने ९८ हजार रूपैयाँ बढाएको छ। यसभन्दा अघि ६४ लाख ९० हजार पर्ने अट्टो-३ सुपेरिअर ट्रिमको नयाँ मूल्य ६५ लाख ८८ हजार तोकिएको छ।
कम्पनीले केही समयमै अब १०० किलोवाट मोटर क्षमता र ५० किलोवाट आवर क्षमता ब्याट्री भएको नयाँ मोडल भित्र्याउने बताएको छ। यसको मूल्य भने ५५ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यसले एक पटकको चार्जमा ३५० किलोमिटर रेञ्ज दिने बताइएको छ।
हाल बजार उपलब्ध बिवाइडी अट्टो-३ ले एक पटकको पूरा चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ। अट्टो-३ को लम्बाई ४,४५५ एमएम, चौढाई १,८७५ एमएम र उचाई १,६१५ एमएम छ। गाडीमा २,७२० ह्विलबेस दिइएको छ भने १७५ एमएम ग्राउन्ड क्लेरेन्स दिइएको छ। यसले गर्दा यो गाडी नेपाली बजारको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।
अट्टो-३ मा थोरैमा ४४० र धेरैमा १,३४० लिटरको बुट क्षमता दिइएको छ। यसमा १७ इन्चको टायर दिइएको छ। गाडीमा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल दिइएको छ भने फ्लोटिङ डिस्प्ले पाउन सकिन्छ। कम्पनीले यो गाडीको सुरक्षामा पनि विशेष ध्यान दिएको छ। अट्टो-३ ले युरो एनक्याप परीक्षणमा पाँच स्टार रेटिङ पाएको छ।
अट्टो-३ मा सुरक्षाको लागि ७ वटा एयरब्याग पाउन सकिन्छ। यसलाई तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ।
त्यस्तै, गाडीमा विद्युतीय पार्किङ ब्रेक प्रविधि, एन्टी-लक ब्रेकिङ प्रविधि, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ब्लाइन्ड स्पोट डिटेक्सन, डोर ओपन वार्निङ, ३६० डिग्री भ्यू मिरर लगायत विशेषताहरू पाउन सकिन्छ। गाडीमा पूरै एलइडी हेडलाइट, एलइडी रिअर लाइट, एलइडी डे टाइम रनिङ लाइट पाउन सकिन्छ।