रोयल इन्फिल्डको नयाँ क्लासिक ३५० को मूल्य घटेको छ।
नेपालको लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले द क्लासिक ३५० को नयाँ बजार मूल्य चार लाख ९९ हजार रूपैयाँ तोकेको छ।
रोयल इन्फिल्डको बाइक नेपालमै एसेम्बल हुन सुरू भएसँगै मूल्य घटेको हो।
द क्लासिक ३५० एक रेट्रो शैलीको मोटरसाइकल हो। यसको डिजाइन दोस्रो विश्वयुद्धपछि विश्वभरका मोटरसाइकल प्रेमीहरूले मन पराएको बेलायती मोटरसाइकलबाट प्रेरित रहेको कम्पनीको भनाइ छ। यस सिग्नेचर स्टाइलका साथै सरल र सुचीपूर्ण डिजाइन भएको बाइकमा जे-सिरिज इन्जिन जडान गरिएको छ।
३४९ सिसी डिस्प्लेसमेन्ट रहेको क्लासिक ३५० मा सिंगल सिलिन्डर, ४ स्ट्रोक, एयर-कुल्ड इन्जिन दिइएको छ। यसले ६,१०० आरपिएममा १४.८७ किलोवाट पावर र ४,००० आरपिएममा २७ एनएम टर्क जेनेरेट गर्छ। यसको इन्जिन बिएस-६ मापदण्डमा आधारित छ।
यसको अगाडि टायरमा डिस्क र पछाडि ड्रम ब्रेक छ। बाइकमा १,३९० एमएम ह्विलबेस र १७० एमएम ग्राउन्ड क्लेरेन्स छ।
बाइकको लम्बाई २,१४५ एमएम, चौढाई ७८५ एमएम र उचाई १,०९० एमएम छ। त्यस्तै सिट उचाई जम्मा ८०५ एमएम छ भने कुल तौल १९५ केजी छ।
बाइकमा पछाडिको सिट निकाल्न/राख्न मिल्ने विशेषता छ। यसमा एनलग-डिजिटल इन्स्ट्रुमेन्ट मिटर र युएसबी चार्जिङ पोर्ट दिइएको छ।
नयाँ क्लासिक ३५० मा १३ लिटरको इन्धन क्षमता छ भने प्रतिलिटर ३५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ। यसको टप स्पीड ११३ किलोमिटर प्रतिघण्टा रहेको छ।
नेपाली बजारमा क्लासिक ३५० हरियो (दुई भिन्न प्रकारको), कालो, ग्रे (दुई भिन्न प्रकारको)र रातो गरी ६ विभिन्न रंग विकल्पमा उपलब्ध हुने बताइएको छ।