अब मध्यम तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनले यात्राको सुरू र अन्तिम विन्दुमा पुगेपछि एक सन्देश मूलक अडिओ प्रशारण गर्नुपर्ने भएको छ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै यस प्रकारको व्यवस्था थपेको हो।
यससँगै विभागले सवारीमा सररफाई तथा स्वास्थसम्बन्धी व्यवस्थाअन्तर्गत केही नियमहरू बनाएको छ। विभागले निर्देशिकाको बुँदा नम्बर ११ अन्तर्गत नयाँ बुदाँ ११ (क) र अनुसूची २२ थप गरेको हो। अनुसूचीमा मध्यम तथा लामो दुरीमा चल्ने सवारीको लागि सन्देश मूलक अडिओको नमूना रहेको छ।
मध्यम तथा लामो दुरीमा चल्ने सवारीको लागि सन्देश मूलक अडिओको नमूना- यात्रु महानुभावहरूमा नमस्कार, गाडी नं...... को चालक …. तथा सहचालक….. बाट स्वागत गर्न चाहन्छौं। जथाभावी गाडीमा तथा गाडीको झ्यालबाट बाहिर फोहर नफाली दिनुहोला। गाडीमा रहेको डस्टबिनमा फोहोर हालिदिनुहोला। गाडीभित्र धुम्रमान पूर्ण रूपले निषेध गरिएको जानकारी गराउँदछौं। यात्राको क्रममा साधारण चोटपटक लागेमा प्राथमिक उपचारको लागि हामीलाई सम्पर्क गर्नुहोला। महिला, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूको लागि आरक्षित सिटमा नबसिदिनुहोला। गाडी पूर्ण रूपमा नरोकिएसम्म नओर्लिदिनुहोला। आफ्नो सर-सामानको राम्ररी ख्याल राख्नुहोला। सेवा गर्ने अवसर दिनुभएकोमा धन्यवाद।
बुँदा नम्बर ११ (क) १ ले सार्वजनिक सवारी साधनको सरसफाई तथा सम्वद्ध कर्मचारीहरूको व्यवहार र सरसफाईबारे उल्लेख गरिएको छ।
सार्वजनिक सवारीको भित्री र बाहिरी भाग दुवै सफा राख्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ। साधनको सिट खोल, भुईं, सिसा, पर्दा र सिलङ अनिवार्य रूपमा सफा राख्नुपर्ने नियम छ।
त्यस्तै सार्वजनिक सवारी साधनभित्र धुम्रपान पूर्ण रूपमा निषेध गरिएको छ। यस्ता साधनमा ध्वनी प्रदुषण हुनेगरी ठूलो आवाजमा संगित बजाउन पनि पाइने छैन।
सार्वजनिक सवारी साधनमा जनस्वास्थय विषयमा प्रवर्द्धनात्मक सूचना टाँस्नुपर्नेछ।
लामो तथा मध्यम दुरीका सवारी साधनले सर-सफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र आवश्यकता अनुसार रोक्न पाउने नियम छ।
सवारी साधन व्यवस्थापकले सवारी चालक र सह-चालकहरूको कम्तिमा तीन महिनामा एक पटक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनुपर्ने हुन्छ। सम्बन्धित कम्पनीले आफ्नो सवारी साधनको चलान वा क्यू कार्ड प्रदान गर्दा उक्त सवारीको निमयित सरसफाई भएको सुनिश्चित गरेको हुनुपर्ने व्यवस्था पनि छ।
यसबाहेक चालु अवस्थामा रहेको सवारीमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्रै विसर्जन गर्नुपर्ने निमय छ।
निर्देशिकाको बुँदा ११ (क) २ मा व्यवस्थापकको कर्तव्य तथा सवारी चालक तथा सह-चालकको सरसफाई, बोलीचाली तथा व्यवहार कस्तो हुनुपर्छ भन्ने उल्लेख छ।
चालक तथा सह-चालकले नियमित रूपमा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्ने नियम छ।
टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा कम्पनीले उपलब्ध गराएको परिचयपत्र लगाउनुपर्ने, सवारी चालक तथा सह-चालकले आफ्नो रोजगारदाता वा कम्पनीले उपलब्ध गराएको परिचयपत्र अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ। साथै रोजगारदाताले उपलब्ध गराएको पहिचान खुल्ने पोशाक लगाउनुपर्ने व्यवस्था निर्देशिकमा उल्लेख छ।
चालक तथा सह-चालकले यात्रा अवधिभर धुम्रपान तथा मद्यपान सेवन गर्न नपाउने नियम छ। यात्रुलाई गाडीमा रहेको डस्टबिनमा मात्रै फोहोर फाल्न प्रोत्साहन गर्ने जिम्मेवारी पनि चालक र सह-चालकलाई दिइएको छ।
सार्वजनिक सवारी साधन व्यवस्थापकले प्रत्येक वर्ष दुई जोरको दरले आफ्ना चालक तथा सह-चालकलाई पहिचान खुल्ने किसिमको पोशक उपलब्ध गराउनुपर्ने भनिएको छ।
साथै, सवारी चलाउँदा सवारी चालक र सह-चालकले यात्रुसँग अनावश्यक कुराकानी गर्न नहुने उल्लेख छ।