हुन्डाईको विद्युतीय गाडी आयोनिक-५ को मूल्य घटेको छ। नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक-५ मा एकैपटक १४ लाखले मूल्य घटाउँदै नयाँ मूल्य सार्वजनिक गरेको हो।
नयाँ सूची अनुसार हुन्डाई आयोनिक-५ को मूल्य एक करोड दुई लाख ९६ हजार रूपैयाँ तोकिएको छ। यसभन्दा अघि यो गाडीको मूल्य एक करोड १६ लाख ९६ हजार रूपैयाँ थियो।
सरकारले १०० किलोवाट क्षमताभन्दा माथिका गाडीमा लाग्ने कर घटाएसँगै कम्पनीले गाडीको मूल्य घटाएको हो। आयोनिक-५ १२५ किलोवाट क्षमताको हो। हालसम्म कम्पनीले ५० वटा भन्दा धेरै आयोनिक-५ बिक्री गरिसकेको छ।
आयोनिक-५ को डिजाइनिङ र स्टाइल निकै आधुनिक हुनुका साथै आकर्षक छ। यसमा प्यारामेट्रिक पिक्सल हेडल्याम्प, पिक्सेल टेल लाइट र काल्मसेल हुड दिइएको छ।
हुन्डाईको नयाँ विद्युतीय ग्लोबल मोडुलर प्लेटफर्म (ई-जिएमपी)मा आधारित आयोनिक-५ पहिलो गाडी हो। यसमा जडित ब्याट्रीले फास्ट चार्ज समर्थन गर्छ। आयोनिक-५ को भित्री डिजाइनिङमा प्रयोग भएका कच्चा सामग्रीहरू वातावरण मैत्री छन्।
सुरक्षाको लागि आयोनिक-५ मा सात वटा एयरब्याग, हाइवे-ड्राइभिङ असिस्ट, रिभर्स पार्किङ, इएससीसहितको एबिएस, टायर मनिटरिङ प्रविधि, हिल असिस्ट, रिअर-भ्यू प्रविधिलगायत विशेषताहरू समावेश गरिएको छ।
आयोनिक-५ लाई सामान्य सकेटबाट समेत चार्ज गर्न सकिन्छ। एक पटकको पूरा चार्जमा यसले ३७५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले दाबी गरेको छ।
यो गाडीमा रियर ह्विल ड्राइभ प्रविधि छ। साथै गाडीमा भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक विशेषताहरू छन् ।
पाँच सिटर आयोनिक-५ मा १६० एमएम ग्राउन्ड क्लेरेन्स र ३००० एमएम ह्विलबेस छ। जुन नेपाली सहरी सडकहरूको लागि उपयुक्त छ। त्यस्तै यसमा ३५७ लिटरको बुट स्पेस छ, जसलाई १५८७ लिटरसम्म बढाउन सकिन्छ।