नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रद्वारा आयोजित 'विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन' तालिमको समापन भएको छ।
तीन दिने उक्त तालिममा देशभरका विभिन्न स्थानमा रहेका प्राधिकरणका कर्मचारीहरूलाई विद्युतीय चार्जिङ स्टेशन सञ्चालन एवम् व्यवस्थापनसम्ब्धी कार्यशालाहरू प्रदान गरिएको थियो। बिहीबार तालिमको समापन घोषणासँगै सहभागी र प्रशिक्षकहरूलाई प्रमाण-पत्र वितरण गरिएको छ।
'विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन' तालिममा २६ जना सहभागी थिए। प्राधिकरणको खरिपाटी, भक्तपुरस्थित तालिम केन्द्रमा आयोजित तालिम गत जेठ १६ गतेदेखि सुरू भएको हो।
प्राधिकरणले ५१ स्थानमा चार्जिङ स्टेशन सञ्चालन जडान गरेको छ। त्यसमध्ये देशभर ३८ वटा चार्जिङ स्टेशन सञ्चालनमा छन्। आगामी सातादेखि थप ८ वटा विभिन्न स्थानमा जडित चार्जिङ स्टेशन पनि सञ्चालनमा आउने बताइएको छ। र, बाँकी ५ वटा चार्जिङ स्टेशन भने अबको केही महिनादेखि नियमित रूपमा सञ्चालनमा आउनेछ।
यीबाहेक प्राधिकरणले थप ११ स्थानमा चार्जिङ स्टेशन निर्माण काम अघि बढाएको छ। प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा चार्जिङ स्टेशन निर्माण गरिरहेको हो।
वातावारणमैत्री सवारी साधन सञ्चालनलाई जोड दिन, पेट्रोलियम पदार्थको कम खपत गरी आयात घटाउन र विद्युत खपत बढाउने उद्देश्यसहित सरकार विद्युतीय सवारी साधनको सञ्चालनमा जोड दिइरहेको छ। यस्तो अवस्थामा प्राधिकरणले विद्युतीय सवारी साधन चालकहरूलाई सहजता प्रदान गर्न र उनीहरूलाई प्रोत्साहन गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन जडान गरिरहेको हो।
बिहीबार आयोजित तालिम समापन कार्यक्रममा बोल्दै प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उप-कार्यकारी निर्देशक तारा प्रसाद प्रधानले भविष्यमा निजी क्षेत्रहरूको सहकार्यमा थप चार्जिङ स्टेशन निर्माण गर्नेमा सकारात्मक रहेको बताए।
त्यस्तै सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालका अध्यक्ष ई. डिल्ली रत्न शाख्यले 'विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन' सम्बन्धित थप तालिमहरू प्रदान गरी नेपालमा दक्ष जनशक्ति बढाउनुपर्ने बताए। उनले यस प्रकारको तालिमले दक्ष जनशक्तिलाई विकेन्द्रीकरण गर्न सकिने धारणा व्यक्त गरे।