चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउनदेखि चैतसम्म) ६ अर्ब ८४ करोड ७ लाख ९१ हजारको विद्युतीय सवारी साधन आयात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार यसबाट सरकारले एक अर्ब ९३ करोड १३ लाख ५९ हजारको राजस्व संकलन गरेको छ।
सबैभन्दा धेरै एक सय किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। एक सय किलोवाटसम्मका दुई हजार तीन सय ७९ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका हुन्। यसबाट मात्रै सरकारले एक अर्ब ६२ करोड ५१ लाखको राजस्व उठाएको छ।
यसपछि एक सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका ६५ वटा यस्ता विद्युतीय सवारीसाधन आयात भएका छन्। यो संख्याको गाडी खरिद गर्न सरकारले दुई अर्ब ७१ करोड २० लाख रुपैयाँ खर्च गरेको छ। राजस्व भने यसबाट २४ करोड ८७ लाख ३१ हजार रुपैयाँ उठेको छ।
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा ७ वटा दुई सय किलोवाटभन्दा बढी र तीन सय किलोवाट सम्मका विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। यसबाट सरकारले ५ करोड ७५ लाखको राजस्व संकलन गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नौ महिना (साउनदेखि चैतसम्म)को तुलनामा यस पटक विद्युतीय सवारी साधनको आयात बढेको हो।
गत आर्थिक वर्षको नौ महिनामा एक हजार ७३ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएकोमा यस पटक दुई हजार चार सय ५१ वटा भित्रिएको तथ्यांकले देखाउँछ।
गत वर्ष सो अवधिका यस्ता विद्युतीय सवारी खरिदको लागि सरकारले चार अर्ब २९ करोड ६६ लाख ३१ हजार खर्चेको थियो। जसबाट एक अर्ब १६ करोड ५५ लाखको राजस्व उठेको थियो।
विद्युतीय सवारी साधन समितिका सभापति राजन बाबु श्रेष्ठका अनुसार ग्राहकहरू विद्युतीय सवारी साधनप्रति आकर्षित भएसँगै बजारमा यसको माग बढ्दो छ। ग्राहकहरूमा विद्युतीय साधनप्रति विश्वास पनि बढेको छ।
'मानिसहरूमा विद्युतीय सवारी साधनप्रति विश्वास बढेको छ। पहिले के होला, कस्तो होला भन्ने अन्यौलमा हुनेहरूले पनि यसबारे बुझिसक्नु भएको छ,' उनी भन्छन्, 'त्यसैले पछिल्लो समय बजारमा विद्युतीय सवारी साधनको माग बढेको हो।'
उनका अनुसार यसबाहेका विद्युतीय सवारी साधनको सञ्चालन खर्च पनि इन्धनबाट चल्ने सवारी साधनको तुलनामा कम पर्छ। साथै मानिसहरू वातावरणीय प्रभावप्रति सचेत हुन थालेका छन्। त्यसैले धेरैको पहिलो रोजाइमै विद्युतीय सवारी साधन पर्न थालेको छ।
बजारमा यतिबेला धेरैजसो एक सय किलोवाटसम्मका कार, जीप र भ्यानको माग बढी छ। विद्युतीय गाडीमध्ये धेरैजसो ४० लाखदेखि ६५ लाखसम्मका गाडी धेरैको छनौट र विकल्पमा परिरहेको छ। नेपालमा धेरैजसो विद्युतीय सवारी साधन भारत, चीन, कोरिया लगायत राष्ट्रहरूबाट भित्रिरहेका छन्।
हाल बजारको १० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालको भनाइ छ।
नाडाका अध्यक्ष ध्रुव बहादुर थापासँग केही समय अघि कुरा गर्दा उनले अबको पाँच वर्षमा यो वृद्धिदर बढेर ५० प्रतिशत हुने बताएका थिए।
विद्युतीय सवारी साधन समितिका सभापति राजन बाबुका अनुसार हाल सवारी साधन खरिदको लागि फाइनान्सिङमा केही समस्या छ। यो समस्या समाधान भएसँगै बजारमा विद्युतीय सवारी साधनको माग थप बढ्नेमा उनी सकारात्मक छन्।