यातायात व्यवस्था विभागले ६ दिनपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अनलाइन सेवा पुनः सञ्चालन गर्दैछ।
विभागले सोमबार साँझ ५ बजेदेखि आफ्नो सेवा पुनः सञ्चालनमा ल्याउने भएको हो।
सर्भरमा समस्या आएका कारण लाइसेन्स सम्बन्धी अनलाइन सेवाहरू गत चैत २८ गते, मंगलबारदेखि बन्द थियो। विभागले सूचना जारी गर्दै सेवा प्रभावित रहेको जानकारी गराएको थियो।
सेवा पुनः सञ्चालनमा आउनेबारे विभागले आइतबार सूचना जारी गरेको हो।
सूचनामा उल्लेख गरेअनुसार विभागबाट सञ्चालित सवारी चालक अनुमतिपत्र सम्बन्धी इडिएलभिआरएस प्रणालीको जिआइडिसी डेटाबेस सर्भरमा समस्या आउँदा सेवा प्रभावित बनेको थियो। उक्त सर्भर सिंहदरबारमा छ।
सर्भरमा देखिएको समस्याको समाधान भएसँगै आजदेखि लाइसेन्स सम्बन्धी अनलाइन सेवा पुनः सुरू हुने भएको हो।