नेपाली बजारमा एमजीको नयाँ एसयुभी सार्वजनिक हुँदैछ। नेपालका लागि एमजी गाडीहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका अनुसार नयाँ एसयुभी 'एस्टर' सम्भवत अर्को महिना सार्वजनिक हुनेछ।
कम्पनीले यसको मूल्य भने घोषणा गरिसकेको छ। नयाँ एस्टरको सुरुआती बजार मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकेको छ।
एस्टरमा १४९९ सिसी, ४ सिलिन्डर, ४ भल्भ इन्जिन जडित छ। यसमा भिटिआई-टेक १.५ पेट्रोल इन्जिन दिइएको छ जसले ६००० आरपिएममा १०८ बिएचपी पावर र ४४०० आरपिएममा १४४ एनएम टर्क जेनेरेट गर्छ। एमजीको यो एसयुभी बिएस-६ मापदण्डमा आधारित छ।
पाँच सिटर एस्टरको लम्बाई ४,३२३ एमएम, चौढाई १,८०९ एमएम र उचाई १,६५० एमएम छ। यसको ह्विलबेस २,५८५ एमएम र कुल तौल जम्मा १,२६४ केजी रहेको छ। यसको ग्राउन्ड क्लेरेन्स २०५ एमएम छ।
सुरक्षाको लागि एस्टर एसयुभीमा दुई वटा एयरब्याग, चाइल्ड सिट एन्कर पोइन्टस्, सिट बेल्ट वार्निङ, एन्टी लक ब्रेकिङ प्रविधि, हिल होल्ड कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल प्रविधि, स्पीड सेन्सिङ डोर लक, इन्जिन इम्मोबिलाइजर, इमर्जेन्सी ब्रेक लाइट फ्यासनिङ लगायत विशेषताहरू पाउन सकिन्छ।
एस्टरमा एलइडी प्रोजेक्टर हेडलाइट दिइएको छ। त्यस्तै टेललाइट र डे टाइम रनिङ लाइट एलइडी दिइएको छ।
यसमा १०.१ इन्चको टचस्क्रिन पाउन सकिन्छ भने स्मार्ट कनेक्टिभिटीको सुविधा दिइएको छ। गाडीमा चार वटा स्पिकर छन्। यसमा जिपिएस नेभिगेसन प्रविधि पनि जडान गरिएको छ।
एस्टरको टप स्पीड १६५ किलोमिटर प्रतिघन्टा हुने कम्पनीले जनाएको छ। सुरक्षाको लागि भने गाडीको स्पीड ८० कटेपछि चेतावनी दिने फिचर छ।
यीबाहेक कम्पनीले एस्टरको समग्र विशेषता र रंग विकल्पबारे सार्वजनिक गर्न बाँकी छ। तर हालसम्म ग्राहकहरू गाडीको प्रतिक्षामा रहेको कम्पनीको भनाइ छ।
एमजीको नयाँ एसयुभी एस्टरले बजारमा भएको कियाको सेल्टोस, स्कोडा कुशाक र हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नेछ।