वातावरण र जीवनयापन सुविधाअन्तर्गत नेपालले एक करोड ४४ लाख अमेरिकी डलर अनुदान सहायता पाउने भएको छ। जसको नेपाली रूपैयाँ दुई अर्ब तीन करोड बढी हुन्छ।
विश्व वातावरण सुविधाअन्तर्गत् नेपालले ८७ लाख अमेरिकी डलर (एक अर्ब २२ करोड ६७ लाख बढी रूपैयाँ) अनुदान प्राप्त गर्ने भएको हो। यो अनुदानको लागि खाद्य तथा कृषि संगठन र नेपाल सरकारबीच सम्झौता गरिएको अर्थमन्त्रालयले जानकारी गराएका छ।
यो रकमको उपयोग मध्य नेपालमा धानमा आधारित खेती र खाद्य प्रणालीलाई मौसम अनुकूल बनाउने परियोजनाको लागि गरिने सम्झौता छ।
यो सहयोगले मध्य नेपालको धान उत्पादनलाई जलवायु परिवर्तनको असरबाट जोगाउन र किसानहरूको जीविकोपार्जनमा सुरक्षा ल्याउन मद्दत गर्नेछ।
यसै गरी, विश्व वातावरण सुविधा कोषबाट सुदूरपश्चिम नेपालमा वन र पर्वतीय पारिस्थितिक प्रणाली पुनःस्थापना परियोजनाको लागि पनि अनुदान सहायता स्वीकार गरिएको छ। यो परियोजनाको निम्ति २२ लाख अमेरिकी डलर (३१ करोड बढी रूपैयाँ) बराबरको सहायता प्राप्त हुने भएको छ। यो अनुदानअन्तर्गत् सुदूरपश्चिमका संवेदनशील वन र पहाडी क्षेत्रको वातावरण सुधार्न मद्दत गर्नेगरी कार्यक्रम सञ्चालन गरिने भएको छ।
त्यस्तै, स्थानीयस्तरमा मौसम अनुकूल हुने जीवनयापन सुविधा परियोजनाको लागि पनि सहयोग स्वीकृत भएको छ। यस परियोजनाको लागि ४२ अमेरिकी डलर बराबरको (५९ करोड २२ लाख रूपैयाँ बढी) अनुदान सहायता मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। यो रकमले स्थानीय समुदायहरूलाई बाढी, खडेरी जस्ता मौसम सम्बन्धी समस्याहरूबाट जोगिन मद्दत गर्ने बताइएको छ।