बजारमा आँपको मूल्य बढेको छ। माग अनुसार आँपको आपूर्ति नहुँदा मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।
‘बजारमा आँप एकदमै कम छ। त्यसैले मूल्य बढेको हो,’ उनले भने।
उनका अनुसार आँपको मूल्य बढ्न थालेकाे दुई/तीन दिन भयो। बजारमा दसहरी र मालदह जातका आँप आइरहेको छ। यी आँपको मूल्य अहिले होलसेलमै एक सय २५ रूपैयाँदेखि एक सय ३० रूपैयाँ पुगेको छ।
उनका अनुसार यसअघि यी आँप प्रतिकिलाे थोक मूल्य एक सय रूपैयाँमा कारोबार भइरहेको थियो। अहिले बजारमा नेपाली आँपको सिजन सकिन लागेकाले मूल्य बढेको हो।
उनका अनुसार अहिले भारतीय आँप आइरहेको छ। स्वदेशी आँपको उत्पादन भने सकिएको छ।
ग्राहकले आँप साउन अन्तिमसम्म बजारमा किन्न पाउँछन्।