किसानहरूको लागत घटाउँदै उत्पादनमा वृद्धि होस् भनेर रूपन्देहीको देवदह नगरपालिकाले किसानहरूलाई विभिन्न कृषि उपकरण उपलब्ध गराएको छ।
नगरपालिकाले विभिन्न वडाहरूलाई तरकारी, मकै, तोरी र सिमी पकेट क्षेत्र घोषणा गर्दै मल र बिउमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले आफ्नै स्रोतमा कृषि विकास शाखामार्फत ९ वटा कृषि सहकारी र समूहमार्फत् मकै गोड्ने, रोप्ने र छोडाउने मेसिन, पावर टिलर, कम बाइन मिल र मिनी टिलर उपलब्ध गराएको हो।
कृषि उपकरण प्राप्त गर्ने कृषि सहकारी तथा समूहहरूमा केरवानी उदार स्वावलम्बन, किसान बहुउद्देश्यीय सहकारी संस्था, हिमाल कृषक समूह, मिलीजुली कृषक समूह, शिव शक्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कोलुवा कृषि सहकारी, साना किसान सहकारी संस्था लिमिटेड, केउली पशुपालन कृषक समूह र माथादेवी कृषक समूह रहेका छन्।
नगरपालिकाका कृषि प्राविधिक पविन्द्र मल्लका अनुसार यी कृषि सहकारी र कृषक समूहलाई १२ थान मिनी टिलर, ४ थान मकै रोप्ने मेशिन, ५ थान मकै गोड्ने मेशिन, ६ थान कम बाइन मिल र तिन थान पावर टिलर उपलब्ध गराइएको छ। एक थान मकै छोडाउने मेशिन र तिन थान मिनी टिलर यसै वर्ष भित्रै उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले कृषि कार्यक्रम अन्तर्गत वडा नं. ११ र १२ लाई तरकारी पकेट क्षेत्र घोषणा गरी तरकारीको बिउमा ५० प्रतिशत र सिँचाइमा ८५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको मल्लले जानकारी दिए।
नगरपालिकाले वडा नं. २ को ३० हेक्टर क्षेत्रफलमा मकै पकेट क्षेत्र कार्यक्रम अन्तर्गत किसानहरूलाई विभिन्न उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको छ। त्यसै गरी कृषि ज्ञान केन्द्रको समन्वयमा तोरी पकेट क्षेत्र र सिमी पकेट क्षेत्र घोषणा गरी प्रवर्द्धनको काम गर्दै आएको मल्लले जानकारी दिए।
नगरपालिकाले उत्तरतर्फको उच्च तथा भिरालो जमिन र दक्षिण तर्फको समथर जमिनको आधारमा कृषि औजार उपकरणहरू प्रदान गर्दै आएको छ। कृषिलाई यान्त्रीकरण गरी उत्पादन वृद्धि हुन सके किसानहरू कृषिमै लागिरहने र नगरपालिका कृषि उत्पादनमा आत्मनिर्भर हुन सक्ने भएकोले कृषिलाई विशेष प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले किसानहरूको मागको आधारमा कृषि उपकरण वितरण गर्दै आएको बताए। लागत मूल्य बढी हुँदा उत्पादनप्रति किसानहरू आकर्षित हुन नसकेको अवस्थालाई मध्यनजर गरी किसानहरूलाई आकर्षित गर्ने गरी उपकरणसँगै मल, बिउ र सिँचाइको लागि समेत नगरपालिकाले सहयोग गर्दै आएको नगरप्रमुख खरेलले बताए।
उनले प्रत्येक वर्ष किसानहरूलाई कृषि उपकरण प्रदान गर्दै आएको बताउँदै कृषि पेसालाई व्यवसायीक बनाउन आग्रह गरे। ‘उत्पादन लागत बढी हुँदा किसानहरू पेसाबाट पलायन भई रहेका छन्, पहिले कृषि उत्पादनले भरि देखिने खेतहरू अहिले जग्गा बाँझो रहने गरेका छन्। अब जग्गालाई बाँझो राख्नु हुँदैन, उनले भने।
नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाबाट उपलब्ध भएका कृषि उपकरणहरूको बढी भन्दा बढी उपयोग गरी उत्पादन वृद्धि गर्न किसानहरूलाई आग्रह गरिन्। उपप्रमुख गुरुङले उत्पादन वृद्धिका लागि नगरपालिकाले विभिन्न क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरेर अगाडि बढेको बताइन्।
वडा नं. ५ स्थित कोलुवा कृषि सहकारी संस्थाकी अध्यक्ष प्रमीला सेढाईले संस्थाले नगरपालिकासँगको सहकार्यमा यसअघि पनि धेरै कामहरू सम्पन्न गरिसकेको उल्लेख गर्दै यस वर्ष किसानहरूको माग अनुसार यान्त्रिक उपकरणको लागि पेस गरिएको आवेदन अनुरूप उपकरण प्राप्त भएको बताइन्।