असार महिनालाई नेपाली किसानहरूले मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा लिने गर्छन्।
वर्षभरी खाने मुख्य अन्नको रूपमा लिइने धान असार महिनामै रोपिने भएकाले किसानलाई यो महिना भ्याईनभ्याई हुन्छ।
खेतीयोग्य जमिनको संरक्षण, बाँझो जमिनमा खेती गर्दै उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषि श्रमको सम्मान गर्ने संस्कारको विकास गर्न २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै आएको छ।
यस वर्ष पनि धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने राष्ट्रिय नारासहित आइतबार देशभर राष्ट्रिय धान दिवस मनाइएको छ।
तर, जग्गाको खण्डीकरण, कृषि मजदुरको अभाव, मल, बिउ तथा सिँचाइको पर्याप्त प्रबन्ध नहुँदा र खेतीमा बढ्दो लागतका कारण हरेक वर्ष खेती गर्ने जमिन घटिरहेको छ।
कृषि विकास निर्देशनालय लुम्बिनीका अनुसार लुम्बिनी प्रदेशमा ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिन छ।
खेतीयोग्य जमिनमध्ये २०८० सालसम्म ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्थ्यो।
२०८२ सालमा आइपुग्दा भने ८ हजार हेक्टर भन्दा बढी धान रोपाई हुने क्षेत्रफल घटेको छ। निर्देशनालयका अनुसार यस वर्ष पर्याप्त पानी परेर सिँचाइको सुविधा पुगे मात्रै ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।
यस वर्ष समयमै मनसुन सुरू भएपनि मध्य असारसम्म जम्मा २४ प्रतिशत अर्थात् ७३ हजार ७ सय २२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ। निर्देशनालयका अनुसार समयमै मनसुन सुरू भएपनि सक्रिय नहुँदा धान रोपाइँ कम भएको हो।
कृषि विकास निर्देशनालयका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत विवेक पन्तले सिँचाइको सुविधा पुगेका क्षेत्रहरूमा छिट्टै रोपाई भए पनि आकाशे पानीको भरमा खेती गर्ने क्षेत्रहरूमा अझै धान रोपाइँ हुन नसकेको बताए।
उनका अनुसार प्रदेशका पूर्वी र उत्तर तर्फका कतिपय जिल्लाहरूमा आधाभन्दा बढी क्षेत्रमा धान रोपाइँ भइसके पनि पश्चिम क्षेत्रमा न्यून क्षेत्रमा रोपाइँ भएको छ।
पूर्वतर्फका नवलपरासी र रूपन्देहीमा ४०/४० प्रतिशत रोपाइँ पुरा भएको छ।
‘पहाडी जिल्लाहरू पनि रोल्पामा ७९, प्युठानमा ८२ र रूकुम पूर्वमा ५२ प्रतिशत रोपाइँ भइसकेको छ। अरू जिल्लाहरूमा भने कम रोपाइँ भएको छ,’ पन्तले भने।
पन्तका अनुसार असार १४ सम्मको तथ्यांकका अनुसार प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा कम कपिलवस्तुमा ७ प्रतिशत मात्र रोपाइँ भएको छ।
त्यस्तै, पाल्पामा १०, बाँकेमा ११, दाङमा १७, गुल्मीमा २०, अर्घाखाँचीमा २१, र बर्दियामा २८ प्रतिशत मात्र रोपाइँ भएको छ।
सूचना अधिकारी पन्तका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी कपिलवस्तुमा ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमा यस वर्ष धान रोपाइँ अनुमान गरिएको छ। तर, हालसम्म जम्मा ४ हजार ६११ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ गरिएको छ।
कपिलवस्तु पछि रूपन्देहीमा ८२ हजार ६ सय २२ हेक्टर खेतीयोग्य जमिनमध्ये ६० हजार ५ सय ६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान छ। त्यस्तै, बर्दियामा ७५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५० हजार १५० हेक्टरमा रोपाइँ हुने अनुमान छ।
बाँकेमा ५७ हजार २५७ मध्ये ३४ हजार ७ सय ११, दाङमा ६९ हजार ९ सय ५० हेक्टरमध्ये ३७ हजार २२५, गुल्मीमा ६४ हजार ५०५ हेक्टरमध्ये ७ हजार ५ सय ३९, अर्घाखाँचीमा ४५ हजार ७ सय १२ हेक्टरमध्ये ६ हजार ७६० हेक्टरमा मात्र रोपाइँ हुने अनुमान छ।
त्यसैगरी, प्युठानमा ४२ हजार ७६६ मध्ये ६ हजार ५२५, रोल्पामा ४० हजार ९२७ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ५४७ तथा रूकुम पूर्वमा २० हजार २६५ मध्ये ३५४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान छ।
बुटवलमा रोपाइँ महोत्सव
बुटवलको वडा नं. १६ को सेमलार र वडा नं. १९ मोतीपुरको मनोहरापुरमा २२ औं रोपाइँ महोत्सव मनाइएको छ।
बुटवल उपमहानगरपालिकाको आयोजना तथा वडा कार्यालयहरूको संयोजनमा मनाइएको महोत्सवमा डेढ विगाह बढी खेतमा धान रोपाइँ गरिएको हो।
विभिन्न आमा समूह तथा थारू संस्कृति झल्किने झाँकी र बाजागाजा सहित नाचगान गर्दै रोपाइँ गरेर दिवस मनाएको हो। महोत्सवको अवसरमा वडा नं. १६ मा स्थानीय साह बाबा कृषि सहकारी संस्थाको करिब डेढ विगाह खेत र वडा नं. १९ मा स्थानीय तिरथ थारुको करिब ५ कट्ठा खेतमा धान रोपिएको थियो।
रोपाइँ महोत्सवमा ट्याक्टर र हलगोरुले जोतेर यान्त्रीकरण र परम्परागत खेती प्रणालीको सन्देश दिइएको थियो।
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रीदेवी अर्याल, प्रवक्ता एवं वडा नं. १५ का अध्यक्ष शिव राना, वडा नं. १६ का अध्यक्ष कृष्ण प्रसाद पौडे, १९ का वडा अध्यक्ष चन्द्र सिंह थापा उपमहानगरपालिकाका विभिन्न महाशाखा र शाखा प्रमुख, महिला समूहहरू लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
नगरप्रमुख पाण्डेय र उपप्रमुख अर्यालले खेतमा धानको बिउलाई पूजा गरेर सुरू गरेको रोपाइँ महोत्सवमा पुगेका पाहुनाहरूलाई स्थानीयले धानको बिउ दिएर स्वागत गरेका थिए।
रोपाइँ महोत्सवमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको तिनाउ नदीदेखि पश्चिमका १२ देखि १९ सम्मका वडाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा अगाडि बढाउन हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए।
उनले वडा नं. १२ देखि १९ सम्मको खेतीयोग्य जमिनलाई बाँझो नछोडी आधुनिक प्रविधिबाट खेती गर्न किसानहरूलाई प्रविधिमा सघाउँदै आएको बताए।
उनले कृषकहरूलाई सम्मानपूर्वक व्यवहार नगर्दा सम्म कृषितर्फ युवाहरूको आकर्षण नबढ्ने बन्दै मानिसलाई बाच्नको लागि कृषि उत्पादन नै चाहिने भएकोले बुटवलका लागि चाहिने कृषि उत्पादन बुटवलमै तयार गर्न कृषकलाई प्रोत्साहन गर्नुपर्ने बताए।