वैशाखको अन्तिम साता चर्को गर्मी थियो। पूर्वबाट हावाको वेग चलिरहे पनि दिउँसोको मध्याह्न भएकोले बाहिरको तापक्रम ४१ डिग्री हाराहारी थियो।
रूपन्देहीको ओमसतिया वडा नं. ४ वैकुण्ठपुरका लक्ष्मण तिवारी टाउकोमा गम्छा बाँधेर घरनजिकको कुलोबाट बाल्टीमा पानी ओसारी रहेका थिए।
कालोपत्रे गरिएको भित्री सडकको किनारमा रहेको उनको घर चारैतर्फे खेतमा लागेको आगोले घेरिएको थियो।
लक्ष्मण घरसँगै जोडिएको खेतमा लागेको त्यही आगो निभाउन बाल्टीमा पानी ओसारिरहेका थिए। पानी ओसारेर आगो निभाउन उनलाई छोराहरू र छिमेकीले सघाइरहेका थिए।
आधा घण्टा पहिलेसम्म गहुँ काटेर छोडिएको नल रहेको खेत आधा घण्टापछि खरानी बनेको थियो। गोठमा भैँसी पालेका लक्ष्मणले केही दिन पहिले गाउँबाट खरिद गरेर दुई वटा ट्याक्टरमा पराल ल्याएका थिए।
-1748675087.jpg)
सडक किनारमा थुपारिएको पराल पनि गहुँको नलसहित खरानी भइसकेको थियो। जोडतोडले चलिरहेको हावाले जलिरहेको पराल र नललाई उडाएर घर र गोठतर्फ नल्याओस् भनेर उनले जलिरहेको पराल निभाइरहेका थिए। दुई वटा बाल्टीमा २०/२५ खेप पानी ओसारेर हालेपछि परालमा बलिरहेको आगोको लप्का निभे पनि मुस्लो सहितको धुँवा उडिरहेको थियो।
‘घरमै भएकोले बाल्टीमै पानी बोकेर भए पनि आगोको ठूलो लप्कालाई बल्ल बल्ल निभाउन सकियो,’ लक्ष्मणले भने।
लक्ष्मण घरभित्र बसिरहेका थिए। एक जना युवा आएर एउटा खेतमा गहुँ काटेर बाँकी रहेको नल (ठुटा) मा आगो सल्काएर हिँडे।
आगो खेतको एउटा गरामा मात्र सल्किरहेको थियो। केहीबेरमै पूर्वतर्फबाट तातो हावा चल्न सुरू गर्यो। खेतको एउटा गरामा सल्किरहेको आगो हावाको वेगसँगै उतिखेरै खेतको चारैतर्फ फैलियो।
खेतको चार पाँच वटा गरा पारी सल्किएको त्यही आगोको लप्का हावासँगै उडेर लक्ष्मणले किनेर थुपारेको परालमा आइपुगेको थियो।
‘हावा धन्य पूर्वबाट पश्चिमतर्फ चल्यो, पश्चिमबाट चलेको भए अहिले धेरै क्षति भइसक्थ्यो,’ लक्ष्मणले भने।
आगो सल्काइएको खेतको पूर्वतर्फ फोम र केबल उत्पादन गर्ने दुई वटा उद्योग छन्। हावाको वेग पश्चिमबाट चलेको भए फोम र केबल उद्योगमा आगो सल्किएर ठूलो क्षति हुन सक्ने लक्ष्मणको संकेत थियो।
-1748675087.jpg)
गत चैत तेस्रो साता कपिलवस्तुको यशोधरा गाउँपालिका ४, पोखरभिटवामा गहुँ खेतमा आगलागी भयो। स्थानीय हजरत अलिको खेतबाट दिउँसो अचानक सल्किएको आगोले काट्न तयारी अवस्थामा रहेको करिब ५ बिघा खेतको गहुँ बाली नष्ट भयो।
धेरैजसो किसानलाई खेतमा आगो लगाउनु राम्रो होइन भन्ने थाहा भएपछि किसानहरू मेसिनले काटेको गहुँको नल व्यवस्थापनको लागि आगो लगाउने गर्छन्।
गहुँको नल व्यवस्थापन गर्ने नाममा किसानहरूले गहुँ काटेपछि खेतमा आगो लगाउँदा नल जल्ने मात्र होइन माटोमा भएका असङ्ख्य मित्र जीवहरूलाई पनि जलाएर ऊर्वराशक्ति ह्रास हुने खतरा बढेको छ।
धान र गहुँ काट्न कम्बाइन मेसिनको प्रयोग सुरू भएपछि आगो लगाउन बाध्य भएको किसानहरूको भनाइ छ।
कम्बाइन मेसिन प्रयोग गर्ने किसानहरूले गहुँको ठुटामा आगो लगाउँदा छिमेकी मानिसका घर गोठमा आगो लागी हुने जोखिम बढेको छ।
‘मेरो आफ्नो खेत नै छैन, अरूले लगाएको आगोले झन्डै मेरो घर गोठ जलेर खरानी भएको थियो, त्यही आगोले पराल जलेर खरानी बने पनि इँटाको गाह्रो भएकोले घर जोगियो फुसको घर हुन्थ्यो भने अहिले घर पनि जलेर खरानी बनेको हुन्थ्यो,’ लक्ष्मणले गुनासो गरे।
गत जेठको पहिलो साता कपिलवस्तुको लबनीका नन्दु रैदास गहुँ काटेर छोडिएको ठुटामा आगो लगाइरहेका थिए। लुम्बिनी–तौलिहवा सडक खण्डको छेवैमा रहेको खेतमा आगो लगाई रहेका नन्दुले पनि गहुँको नल नजलाए धान रोप्नै नसकिने बताए।
‘खेत ट्याक्टरले जोते पनि मल बिउ छर्न र धान रोप्न खेतमा जानुपर्छ आगो नलगाएको खेतमा गहुँको नलले खुट्टा काट्छ,’ उनले भने।
पहिले हँसियाले काटेको धान र गहुँ खेतमै सुकाएर मुठा पारि खलोमा ल्याएर झार्ने चलन थियो, अहिले कम्बाइन हार्वेस्टरले केहीबेरमै धान र गहुँको नल र दाना छुट्ट्याउँछ। कम्बाइन हार्वेस्टरले अन्न स्याहार्न किसानहरूलाई छिटो र सजिलो बनाए पनि त्यसले लागत बढाउने र अन्य समस्याहरू निम्त्याइरहेको छ।
हँसियाले काट्दा नलको फेदसम्म नै काट्ने गरिएकोमा कम्बाइन हार्वेस्टरले नलको आधा भाग खेतमै छोडिदिन्छ। धानको नल पानी र हिलोमा सजिलै गले पनि गहुँको नल भने सजिलै गल्दैन। हिलोमा गाडिए पनि सजिलै नकुहिने भएपछि गहुँ काटेर छोडिएको नल ननिकाल्दा खनजोत गर्न गाह्रो हुन्छ। सजिलोको लागि किसानले आगो लगाउन सुरू गरेका हुन्।
यसरी आगो लगाउँदा खेत, आली र कान्लामा उम्रेका काँडा प्रजातिका झारपात नष्ट हुन्छन् र बाली नोक्सान गर्ने कीराफट्यांग्रा पनि मर्छन् भन्ने किसानहरूको गलत बुझाइ छ।
-1748675087.jpg)
ओमसतिया–४ वैकुण्ठपुरका राधे साहनी गहुँ काटेर छोडिएको नलमा आगो लगाउँदा नलसँगै खेती बालीमा नोक्सान गर्ने कीरा फट्याङ्ग्रा जलेपछि खेती राम्रो हुने बताउँछन्।
‘नल जलाएन भने खेती नै हुँदैन, धानको नल पानी परेपछि माटोमा गले पनि गहुँको नल गल्दैन। यत्तिकै जोत्यो भने नलले खेत ढाकेर धान नै रोप्न सकिँदैन। कीरा फट्याङ्ग्रा र नल जलेर खरानी भएपछि मल पनि हुन्छ,’ साहनीले भने।
साहनी आफूले पनि हरेक वर्ष गहुँ काटेपछि खेतमा आगो लगाउने गरेको बताउँछन्।
कृषि क्षेत्रका विज्ञहरू भने आगो लगाउँदा खेतमा राम्रो हुन्छ भन्ने किसानहरूको धारणा गलत भएको बताउँछन्।
कृषि ज्ञान केन्द्र रूपन्देहीका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिल कुमार कानु बनिया आगो लगाउँदा खेतमा भएका कीरा फट्याङ्ग्रा नष्ट हुने र खरानीले माटो खुकुलो हुन्छ भन्ने किसानहरूमा भ्रम रहेको बताउँछन्।
‘खेतमा आगो लगाउँदा माटो खुकुलो हुने होइन खुकुले बनाउने सूक्ष्म जीवहरू नष्ट हुन्छन्, माटोको उर्वराशक्ति घट्दै जान्छ। जमिनको सतहमा रहेको कार्बन, नाइट्रोजन, फस्फोरस, पोटास लगायतका पोषक तत्त्व पनि नष्ट हुन्छ,’ उनी भन्छन्।
विभिन्न कार्यक्रममार्फत् सचेतना दिइरहँदा आगो लगाउन हुँदैन भन्ने चेतना बढ्न थाले पनि मेसिनको प्रयोगपछि आगो लगाउने क्रम बढेको बताउँछन्।
‘आगो लगाउँदा खेतमा भएका मित्र जीव र माटोमा हुने गरेको पौष्टिक तत्त्व जलेर नष्ट हुन्छ भनेर हामीले किसानहरूलाई बुझाइरहेका छौँ, कतिपय किसानहरूले बुझ्नुभएको पनि छ तर, कम्बाइन हार्वेस्टरले बाली स्याहारेपछि खेतमा छोडिएको नल व्यवस्थापनका लागि आगो लगाउन बाध्य हुनुहुन्छ,’ उनले भने।
रूपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका दक्षिणी भेगमा धान र गहुँको नलमा आलो लगाउनु सामान्य हुने गरेको छ।
कृषि ज्ञान केन्द्रमार्फत् किसानलाई खेतमा आगो नलगाउन भन्दै आए पनि नरोकिएको अनिलले बताए।
पानी भरेर खेतमा छोडिएको नललाई सडाउने वा स्ट्रा रिपर मेसिनको प्रयोग गर्न सके आगो लगाउने समस्याको समाधान गर्न सकिने उनी बताउँछन्।
कम्बाइन हार्वेस्टर मेसिनले छोडेको नललाई मसिनो बनाएर काट्न स्ट्रा रिपर मेसिनको प्रयोग गर्न सकिन्छ। स्ट्रा रिपरले मसिनो बनाएर काटेको भुस पशुलाई खुवाउन र च्याउ खेती गर्न प्रयोग गर्न सकिन्छ। तर, स्ट्रा रिपरले काटेर भुस बनाउन खर्चिलो हुन्छ।
-1748675087.jpg)
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अनिलका अनुसार स्ट्रा रिपर मेसिन बजारमा ५/६ लाख रुपैयाँमा किन्न सकिने भए पनि मेसिन सञ्चालनको लागि ट्याक्टरको आवश्यकता पर्छ। ट्याक्टर र स्ट्रा रिपर मेसिन किनेर खेतमा छोडिएको नल काटेर भुस बनाउन खोज्नु सामान्य किसानको लागि धेरै खर्चिलो विषय हो। जसले गर्दा खेतबाट नल नष्ट गर्न सजिलो हुने आगो लगाउने चलन सुरू भएको हो।
मेसिन किन्नु किसानका लागि खर्चिलो हुने गरे पनि स्थानीय गाउँपालिका, कृषि सहकारी वा कुनै समूहबाट मेसिन किनेर सञ्चालन गर्न सके आगो लगाउने समस्या हट्नुका साथै भुस बिक्री गरेर आम्दानी समेत गर्न सकिने उनी बताउँछन्।
‘कृषि ज्ञान केन्द्रलाई यान्त्रीकरणका लागि कुनै पनि बजेट दिइएको छैन, विषादी वितरण र सिँचाइमा थोरै बजेट आउने गरे पनि यान्त्रीकरणमा कुनै पनि बजेट छैन,’ उनले भने।
-1748675086.jpg)