घरायसी कामकाजमा सीमित रहने रूपन्देहीको देवदहका महिलाहरू व्यावसायिक तरकारी खेतीमा लागेपछि आत्मनिर्भर बन्दै गएका छन्।
बिहानभरि घरभित्रको काम गरेर दिउँसो अनुत्पादक समय बिताउने महिलाहरू आजकाल तरकारी खेती गरेर घरखर्च जुटाउँछन्।
देवदह नगरपालिका–११, सिक्टहन छोट्की गुम्बीकी सोना मल्लाहले पाँच कट्ठा जमिनमा तरकारी खेती गरेकी छन्। उनका श्रीमान रोजगारीका लागि भारतमा छन्। तरकारी खेतीमा सोना एक्लै छिन्। उनले लौका, सिमी, फर्सी, घिरौंला, काँक्रो लगायत तरकारी फलाएकी छन्।
यिनै तरकारी बेचेर उनी सिजनमा एक–डेढ लाख रूपैयाँ आम्दानी गर्छिन्।
'सिजनमा एकै दिनमा खालखालको तरकारी तीस–चालीस किलोसम्म बजारमा पठाउँछु,' बारीमा बोडी टिप्दै सोनाले भनिन्।
परम्परागत रूपमा गरिने धान खेतीभन्दा तरकारी खेतीबाट धेरै आम्दानी हुने उनको भनाइ छ।
छोट्की गुम्बीकै शिवकुमारी मल्लाहले पनि ६ कट्ठा जमिनमा तरकारी लगाएकी छन्। कुनै तरकारी उत्पादन हुने क्रममा छ त कुनै टिप्ने बेला भएको छ। उनले गएको माघमा रोपेको बोडी, भिन्डी, फर्सी, काँक्रो बजार पठाउन तयार भएको छ। यो असारभरि उत्पादन प्राप्त हुन्छ।
विद्यावती मल्लाहले पनि पाँच कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गरेकी छन्। थोरै जग्गामा भए पनि व्यावसायिक खेतीले घरखर्च चलाउन सजिलो भएको छ।

'आफैले खेती गरेर तरकारी बेच्न पाएपछि घरखर्चका लागि अरूसँग पैसा माग्नुपरेको छैन। घरमा रोजेर तरकारी खान पाइन्छ,' उनले भनिन्।
सिक्टहनको छोट्की गुम्बीमा सोना, शिवकुमारी र विद्यावती जस्ता अधिकांश महिलाहरू व्यावसायिक तरकारी खेतीमा लागेका छन्।
तरकारी खेतीमा लागेपछि उनीहरूको जीवनशैली फेरिएको छ। उनीहरू दिनभरजसो तरकारी बारीमै भेटिन्छन्। बिरूवा उमार्ने, रोप्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र कहिलेकाहीँ बिक्रीका लागि बजार लैजाने काममा व्यस्त हुन्छन्।
'कहिले व्यापारीहरू घरमै आएर तरकारी लैजान्छन्। कहिले आफैले बजार लगेर बेच्नुपर्छ। बारीबाटै व्यापारीलाई दिएरभन्दा आफैले बजार लगेर बेच्दा राम्रो नाफा हुन्छ,' विद्यावतीले भनिन्।
आफ्नो मेहनतले तरकारी फलाएर उपभोक्तामाझ पुर्याउन पाउँदा काममा जाँगर बढेको उनको अनुभव छ। त्यसबाट हुने कमाइले खुसी पनि दिएको छ।
घरधन्दा र छोराछोरीको हेरचाहसँगै दिउँसोको समयमा घरनजिकै तरकारी खेती गर्न सकिने भएपछि महिलाहरू उत्साहित देखिएका छन्।
सिँचाइ सुविधा, नयाँ प्रविधि र उन्नत जातको बिउ भए तरकारी खेतीबाट आम्दानी बढ्ने उनीहरूको विश्वास छ।
छोट्की गुम्बी मात्र होइन, बड्की गुम्बी, भुताहा, जयपुर, शंकरपुर, शान्तिटोल, कजनीपुर, मध्यपुर, रेहरा लगायत वडा नम्बर ११ का १४ वटै टोलका किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका छन्।
वडा नम्बर ११ का अध्यक्ष दुधनाथ यादव आफ्नो वडाका किसानको आम्दानीको प्रमुख स्रोत नै तरकारी खेती र पशुपालन रहेको बताउँछन्।


'अरू ठाउँको खेतबारी बाँझो रहने महिना वैशाख–जेठमा वडा नम्बर ११ का सबैजसो टोल तरकारीले हराभरा हुन्छन्,' उनले भने।
५६ वर्षीय श्रीराम मल्लाह चार दशक अघिदेखि व्यावसायिक तरकारी खतीमा छन्। उनका बाजे धान र गहुँ फलाउँथे। परम्परागत खेती छाडेर बुबाले तरकारी खेती सुरू गरे। श्रीरामले त्यसैलाई निरन्तरता दिए।
उनले आठ कट्ठा जमिनमा विभिन्न किसिमका तरकारी लगाएका छन्। सिमी, घिरौंला, करेला, टमाटर, बोडी, भिन्डी, लौका, फर्सी, काँक्रो लटरम्म फलेको छ। हिजोआज उनलाई तरकारी टिप्न र बजार लैजान भ्याई नभ्याई छ।
यो सिजनमा उनले चैतको पहिलो साता तरकारी टिप्न थालेका हुन्। असार दोस्रो सातासम्ममा सकिन्छ। त्यसपछि धान रोप्छन्, धान निकालेर तरकारी।
'हाम्रो त जिन्दगी नै तरकारी खेतीमा बित्यो। एकै पटक धेरै आम्दानी नभए पनि दिनहुँ हातमा पैसा परिरहन्छ,' उनले भने।
श्रीराम आफूले उत्पादन गरेको तरकारी आफै बजार पुर्याएर बेच्छन्।
उनलाई तरकारी बारीमा श्रीमती र छोराहरूले काम सघाउँछन्। परिवारकै सदस्यहरू मिलेर काम गर्ने भएकाले खेतीमा थोरै मात्र खर्च हुन्छ। परिवारको सबै खर्च तरकारी बेचेरै चल्ने गरेको छ।
'आज तरकारी बेचेर दुई हजार (रूपैयाँ) आयो भने त्यसैले घरखर्च चलाउने हो। लुगाफाटो किन्ने पैसा पनि त्यही हो। हरेक दिन यस्तै हो,' उनले भने।


वडा अध्यक्ष यादवका अनुसार उनको वडाका किसानले कति तरकारी फलाउँछन् र कति आम्दानी गर्छन् भन्ने तथ्यांक चाहिँ राखिएको छैन।
'बाहिरबाट व्यापारी आएर किन्ने गरेको भए कतिको व्यापार भयो तथ्यांक राखिन्थ्यो होला। किसान आफैले दैनिक १०–१५ किलो तरकारी टिपेर हाटबजारमा बेच्छन्। त्यसको रेकर्ड राखिएको छैन,' उनले भने।
वडा अध्यक्ष यादव पनि किसान हुन्। वर्षमा दुई–तीन लाख रूपैयाँको धान र गहुँ बेच्ने गरेको उनको भनाइ छ।
छोट्की गुम्बीका वसन्त मल्लाह र टिहुल मल्लाह तरकारी खेती गर्ने अगुवा किसानका रूपमा चिनिन्छन्। उनीहरू हिउँदमा तरकारी खेतीबाटै कम्तीमा पाँच–पाँच लाख रूपैयाँ आम्दानी गर्छन्। बर्खामा धान रोप्छन्।
वडा नम्बर ११ तरकारी खेतीसँगै पशुपालन तथा धान, गहुँ खेतीमा पनि निकै अगाडि मानिन्छ। यो वडामा मधेसी समुदायको बसोबास बढी छ।
देवदह नगरपालिकाले तरकारी खेती गर्ने किसानलाई हाते ट्र्याक्टर, स्प्रे ट्यांकी, मोटर, पाइप, मल र बिउमा सहयोग गर्ने गरेको छ।
नगरप्रमुख ध्रुव खरेलका अनुसार देवदह नगरपालिकाले पशुपालन र तरकारी खेती प्रवर्द्धन गर्न किसान अभिमुखीकरण, तरकारी बाली पकेट विकास, कृषि प्रविधिमा अनुदानजस्ता विभिन्न कार्यक्रममा जोड दिएको छ।