बजारमा कोइरालोको मूल्य बढेको छ।
माग अनुसारको आपूर्ति नभएकाले कोइरालोको मूल्य बढेको हो।
कालीमाटी बजार विकास समितिको तथ्यांक हेर्दा सोमबार कालीमाटीमा कोइरालो प्रतिथोक मूल्य दुई सयदेखि दुई सय २० रूपैयाँ छ।
दुई/तीन दिनअघिसम्म कालीमाटी बजारमा कोइरालो एक सय ५० देखि एक सय ८० रूपैयाँमा बिक्री भइरहेको थियो।
समितिको तथ्यांक हेर्दा आइतबारदेखि कोइरालोको मूल्य बढ्न थालेको हो।
आइतबार पनि कोइरालो दुई सयदेखि दुई सय २० रूपैयाँमै कारोबार भइरहेको थियो।
चैत कोइरालोको मुख्य सिजन हो। कोइरालो विशेषगरी धादिङको धुनेबेशी नगरपालिकाको जीवनपुर, केबलपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट आउने गरेको छ।
व्यवसायीहरूका अनुसार कोइरालो यो महिनाभरी आउने छ। कोइरालो ओइलाउने र बिग्रिहाल्ने भएकाले धेरै समय राख्न सकिँदैन।
कोइरालो एक प्रकारको वनस्पति हो। यसको फूलको अचार बनाएर खाने गरिन्छ।