चितवनको कालिका नगरपालिका–२, पदमपुरका ५३ वर्षीय नवराज तिमल्सेना र उनको समूहलाई यति बेला भ्याइनभ्याई छ। उनीहरू ७५ बिघा जमिनमा रहेको केरा खेतीबाट केरा निकाल्न व्यस्त छन्। हालै थपेको ८० बिघा जमिनमा बिरूवा रोप्न पनि धमाधम छ।
नवराजसहित चितवनकै कृष्णप्रसाद दाहाल, नीरबहादुर तामाङ र राजाबाबु मिलेर दाङमा ठूलो क्षेत्रफलमा व्यावसायिक केरा खेती गरेको दुई वर्ष भयो। यी चारै जना चितवनमा विगतदेखि नै गर्थे।
उनीहरू आलोपालो गरेर केरा खेती हेर्छन्।
उनीहरूले संयुक्त रूपमा गढवा गाउँपालिका–७, झारबैरामा ३२ बिघा, वडा नम्बर ६ मा १८ बिघा र वडा नम्बर ४, पर्सापर्सेनीमा ४३ बिघा जमिनमा केरा खेती गरेका छन्।
यो खेतीबाट गत वर्ष आम्दानी हुन थालेको छ।
केरा खेतीका लागि जनता मावि, गढवाको जग्गा प्रतिकट्ठा मासिक ६२३ रुपैयाँका दरले टेन्डरमा पारेका थिए। त्यसबाहेक व्यक्तिका जग्गा प्रतिकट्ठा मासिक एक हजारदेखि १५ सय रुपैयाँसम्ममा लिज (भाडा) मा लिएका छन्।
स्कुलको जग्गामा सिसौ र खयरका रूख काटेका ठुटा रहेकाले केही सस्तोमा पाएका थिए।
सबै ठाउँको जग्गा पाँच वर्षका लागि जग्गा लिजमा लिएका छन्। लिजमा लिएकोमध्ये ७५ बिघामा केरा खेती गरेको यही चैतमा दुई वर्ष पूरा भएको छ।
नवराजका अनुसार बजार राम्रो पाउने भएकाले ९० प्रतिशत जति ‘मालभोग’ जातको केरा लगाएका छन्। यसअतिरिक्त ‘जिनाइन’ जातको केरा छ।
मालभोग केराको बिरुवाले १२ देखि १४ महिनामा उत्पादन दिन्छ। पहिलोपटक केरा रोपेको १४ महिनामा सबै उत्पादन बजार पुर्याएको उनले बताए।
गत वर्ष झन्डै डेढ करोड रुपैयाँको केरा बेचेका थिए। यस वर्ष दुई करोड रुपैयाँको बिक्री हुने उनको विश्वास छ।

चितवनमा ‘तिमल्सेना कृषि फर्म’ दर्ता थियो। चार जना सहकर्मीले दाङको गढगा गाउँपालिकामा पनि उही नामको फर्म दर्ता गरेर व्यावसायिक केरा खेती गरेका हुन्।
अहिले गढवा गाउँपालिका–७, चन्दनपुरमा थप ४० बिघा जग्गामा केराको बिरूवा रोप्न धमाधम छ। लमही–कोइलाबास सडक खण्डको राप्ती नदी पुल नजिक थप अर्को ४० बिघा जमिन लिजमा लिएका छन्।
यहाँ पनि जमिन सम्याउने र बिरूवा रोप्न खाडल खन्ने काम भइरहेको छ। यहाँ हप्ता दिनभित्रै बिरूवा रोप्ने तयारी छ।
यो समूहले कुल १५५ बिघा जमिनमा केरा खेती गर्ने तयारी गरेको छ। थप जग्गाको खोजीमा रहेको नवराजको भनाइ छ।
दुई वर्षअघिसम्म काँसघारी रहेको राप्ती नदीको बगर क्षेत्र अहिले केरा खेतीले हराभरा देखिएको छ।
‘म आउँदा राप्ती बगरमा काँसघारी थियो। खेर गएको जग्गा भाडामा माग्दा पहिला मानिसहरूले पत्याएनन्,’ नवराजले भने, ‘अहिले बगर हराभरा भएर केरा फलेको देख्दा सबै चकित छन्।’
हाल केरा खेतीको ७५ बिघामध्ये करिब ६ बिघामा बिरूवा नसप्रेको उनले बताए। पहिले खेत भएको जमिनमा सिँचाइ गर्दा धेरै दिन पानी जमेका कारणले बोट नसप्रेको हो।
दाङको हावापानी थाहा नहुँदा पनि गत वर्ष केही समस्या भयो।
उनले भने, ‘दाङमा चैत मध्यदेखि बेस्सरी हावाहुरी चल्दो रहेछ। पहिलो वर्ष हामीलाई यो कुराको ज्ञान नहुँदा केही समस्या भयो।’
यो वर्ष बिरूवा नसप्रेको जमिनमा दाङको हावापानी अनुकूल सिँचाइको प्रबन्ध मिलाइएको र केही सुधार भएको उनले बताए।
उनका अनुसार ७५ बिघा क्षेत्रफलमा केरा खेतीका लागि हालसम्म साढे एक करोड रुपैयाँ लगानी भएकोमा त्यो रकम असुल भइसकेको छ।
नवराजको टिमले चितवनको पदमपुरमा केरा खेती गरेको १० वर्ष भयो। यो टिम किन दाङ आयो त?
उनीहरू दाङको बजारबारे राम्रो जानकार थिए। दाङका व्यापारी केरा खोज्न चितवन गइरहन्थे। नवराजले दाङका व्यापारीलाई आफ्नो उत्पादन बेच्ने गरेका थिए।
दाङबाट चितवन पुग्ने व्यापारीसँग नवराज सोध्थे– तपाईंहरू केरा खोज्दै किन यति टाढाबाट आउनुहुन्छ? दाङमा केरा खेती हुँदैन? दाङमा केरा खेतीका लागि उपयुक्त जमिन छैन?
व्यापारीहरू देउखुरीको राप्ती र घोराही तथा तुलसीपुर क्षेत्रको बबई बगर केरा खेतीका लागि अति उपयुक्त रहेको कुरा गर्थे। जमिन पर्याप्त भए पनि बाँझै बसेको बताउँथे।
चितवनमा जस्तो ठूलो परिमाणमा दाङमा व्यावसायिक केरा खेती थिएन।
व्यापारीका कुरामा नवराज र उनका साथीहरू चनाखा हुन्थे तर कुरा गर्यो कुरैको दुःख भनेजस्तो भयो। उनीहरूलाई दाङ पुग्न निकै लामो समय लाग्यो।
यस्तैमा नवराज एकपटक व्यापारीहरूले भनेको राप्तीको बगर र आसपासको क्षेत्र हेर्न गए। जताततै बाँझो बसेको जमिन देखे। त्यस्तो जमिनमा केराखेतीको बलियो सम्भावना ठम्याए।
दाङमा बजारको अभाव थिएन, यहाँका व्यापारी चितवन नै पुग्ने गरेका थिए।
दाङमा निकै ठूलो परिमाणमा भारतबाट केरा आउँछ भन्ने पनि नवराजले थाहा पाए। अन्ततः उनको टिम दाङमा केरा खेती गर्ने निर्णयमा पुग्यो।
नवराजले अहिले पनि चितवनको पदमपुरमा केरा खेती छाडेका छैनन्, ६ बिघा जमिनमा केराको बगैंचा छ।
उनका अनुसार चितवनको जमिन केरा खेतीका लागि अनुपयुक्त भइसकेको छ। केरामा लाग्ने ‘पानामा’ रोग जताततै फैलिएको छ।
यो रोग ‘मालभोग’ केरामा बढी लाग्छ। बजारमा बढी माग हुने र राम्रो मूल्य पाइने जात पनि यही हो।
पानामा रोग लागेपछि बोट सुक्दै जान्छ, केरा उत्पादन हुँदैन।

‘केही वर्षयता पानामा रोगले चितवनमा केराखेती स्वाहा हुँदै गएको छ,’ नवराज भन्छन्, ‘यो रोग देखा परेपछि कुनै पनि विषादीले काम गर्दैन। चितवनको जग्गा रोगी भइसक्यो। अब त्यहाँ ठूलो स्केल (परिमाण) मा केराखेती सम्भव छैन।’
उनको टिम दाङ पुग्नुको कारण पनि चितवनमा फैलिएको पानामा रोग नै हो। दाङको खेतीमा अहिलेसम्म पानामा रोग नदेदिखको उनले बताए। अहिले लिजमा रहेको जमिनमा पाँच वर्षसम्म राम्रो आम्दानी लिन सकिने नवराजको विश्वास छ।
धेरैजसो बिरूवा चितवनबाटै ल्याएर रोपेका हुन्। केही बिरूवा धादिङबाट पनि ल्याए। बिरूवा किनेर दाङ पुर्याउँदा एउटाको २० रुपैयाँ परेको उनले बताए।
केरा खेतीको आम्दानीबाट नवराज सन्तुष्ट देखिन्छन्।
‘हामीले ७५ बिघामा खेती गर्दा झन्डै डेढ करोड रुपैयाँ खर्च भएको थियो। त्यति पैसाको केरा गत वर्ष नै बेच्यौं,’ उनले भने, ‘गत वर्षको लगानी उठ्यो। यस वर्षदेखि फाइदा हुन्छ।’
चितवनमा एकपटक रोपेको केराको बोटबाट आठ वर्षसम्म उत्पादन लिएको उनले बताए। पाँच वर्ष ढुक्कले आम्दानी हुने उनको भनाइ छ।
‘हामीले दाङमा जग्गा लिजमा लिदा पाँच वर्षको सम्झौता गरेका छौं,’ उनी भन्छन्, ‘पाँच वर्षमा जमिन रोगी (पानामा रोग लागेको) देखिएन भने र उत्पादन राम्रो भयो भने लिजको अवधि थप्छौं।’
‘तिमल्सेना कृषि फर्म’ को केराखेती रेखदेखका लागि आठ जना नियमित कर्मचारी छन्। दैनिक ज्यालामा काम गर्ने ४० जनासम्म हुन्छन्।
बिरूवा गोडमेल गर्ने, मल हाल्ने र केरा निकाल्ने समयमा बढी कामदार आवश्यक पर्छ।
वर्षमा एकपटक गोडमेल गर्नुपर्छ, एकपटक मल हाल्नुपर्छ। प्रतिकट्ठा पाँच बोरा डिएपी, पाँच बोरी युरिया र पाँच बोरा पोटास आवश्यक पर्छ तर समयमा उपलब्ध नहुने समस्या छ।
नवराज भन्छन्, ‘हामीलाई सबभन्दा समस्या भनेकै रासायनिक मल उपलब्ध नहुनु हो। मल सहजरूपमा उपलब्ध गराउन राज्यले सहयोग गरिदिए हुन्थ्यो।’
चितवनमा १० वर्ष केरा खेती गरेको अनुभवले ‘तिमल्सेना कृषि फर्म’ वैशाखदेखि भदौसम्म दाङमा भारतीय उत्पादन विस्थापित गर्न सफल भएको छ।
नवराजका दुई छोरामध्ये एक जना बैंकका जागिरे छन्। अर्का एक जना पढाइका लागि अस्ट्रेलियामा छन्।
‘तिमल्सेना कृषि फर्म’ ले कृषि ज्ञान केन्द्र, दाङबाट ६ लाख रुपैयाँ अनुदान पाएको छ। सिँचाइका लागि एउटा डिप बोरिङ पनि अनुदानमा पाएको छ।
ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वी लामिछानेका अनुसार दाङमा व्यावसायिक केरा खेतीमा आकर्षण बढ्दै गएको छ। राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा केरा खेती भइरहेको उनले बताए।
दाङमा हाल ६३० हेक्टर जतिमा केरा खेती भइरहेको छ।
केन्द्रले करिब २८ हेक्टर जमिनमा बिरूवा खरिदमा ५० प्रतिशत अनुदान दिएको उनले बताए। केन्द्रले सिँचाइमा पनि अनुदान दिने गरेको छ।
यस वर्ष हालसम्ममा बिरूवा खरिदमा सात लाख रुपैयाँ र सिँचाइमा दुई लाख रुपैयाँ अनुदान वितरण गरेको केन्द्रले जनाएको छ।