कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका छन्।
शनिबार ललितपुरमा आयोजित नेपाल कृषि मेसिनरी व्यवसायी संघको नवौ वार्षिक साधारण सभामा यस्तो बताएका हुन्।
'एकातिर कृषिलाई यन्त्रीकरण गर्दै जानु पर्ने आवश्यकता छ, अर्कोतर्फ यस्ता उपरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन,' उनले भने।
उनका अनुसार अहिले किसानहरू किनेको थोरै समयमा कृषि उपकरण बिग्रिएर किसानहरू हैरानी खेपिरहेका छन्।
'म आफैंले किनेको हाते टयाक्टर बिग्रिएर प्रत्येक वर्ष दश हजारभन्दा बढी खर्च गर्नु परिहेको छ। ५० हजार हालेर किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको छ यो अवस्थाको अनत्य हुनपर्छ,' मन्त्री अधिकारीले भने।
कृषि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर मात्रै खरिद गर्नुपर्ने उनको भनाइ छ।
कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको र अब यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्नुपर्ने उनले बताए।
उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकार अघि बढेको मन्त्री अधिकारीको भनाइ छ।