बजारमा सुकेको प्याजको भाउ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा प्याजको भाउ प्रतिथोक मूल्य ४८ देखि ५५ रूपैयाँ छ। बुधबार पनि सोही मूल्यमा कारोबार भएको देखिन्छ।
मंगलबार कालीमाटी बजारमा प्याज प्रतिथोक मूल्य ५० देखि ५५ रूपैयाँमा कारोबार भइरहेको थियो।
एक महिनादेखि बजारमा प्याजको भाउ घटिरहेको छ। एक महिनाअघि कालीमाटी बजारमा प्याज प्रतिथोक मूल्य ७२ देखि ७६ रूपैयाँमा कारोबार भइरहेको थियो।
अहिले नेपाली प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।
भारतीय बजारमा प्याजको मूल्य घटेकाले नेपाली बजारमा पनि मूल्य थोरै घटेको व्यवसायीहरूको भनाइ छ।
अहिले थोक मूल्य घटेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि घटेको छ।