बजारमा कोइरालोको मूल्य घटेको छ।
आपूर्ति बढेसँगै बजारमा कोइरालोको मूल्य घटेको हो।
कालीमाटी बजार विकास समितिको तथ्यांक हेर्दा आइतबार कालीमाटीमा कोइरालो प्रतिथोक मूल्य एक सय ८० देखि दुई सय रूपैयाँ छ।
गत आइतबार कालीमाटी बजारमा कोइरालो तीन सय ५० देखि चार सय रूपैयाँमा कारोबार भएको थियो।
सिजन सुरू भएसँगै कोइरालोको मूल्य घट्न थालेको हो।
सुरूआति चरणमा कोइरालो प्रतिथोक मूल्य पाँच सयदेखि पाँच सय ५० रूपैयाँसम्ममा कारोबार भएको थियो।
चैत कोइरालोको मुख्य सिजन हो। कोइरालो विशेषगरी धादिङको धुनेबेशी नगरपालिकाको जीवनपुर, केबलपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट आउने गरेको छ।
व्यवसायीहरूका अनुसार कोइरालो यो महिनाभरी आउने छ। कोइरालो ओइलाउने र बिग्रिहाल्ने भएकाले धेरै समय राख्न सकिँदैन।
कोइरालो एक प्रकारको वनस्पति हो। यसको फूलको अचार बनाएर खाने गरिन्छ।