माछा अधिकांशको रोजाईमा पर्छ। कतिपय शाकाहारीले पनि माछा खाने गर्दछन्। माछालाई फ्राइ, ग्रेभी तथा झोल राखेर बनाउन सकिन्छ।
दसैं–तिहारमा माछाको बढी खपत हुने गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्ने हो भने बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारको माछा पाइन्छ।
माछाको जात अनुसार स्वाद फरक हुन्छ। त्यस्तै, माछाको जात अनुसार माछाको मूल्य पनि फरक छ।
यी तीन प्रकारका माछामध्ये बजारमा रहु माछा महँगो छ। जसको मूल्य होलसेल ३ सय ३० देखि ३ सय ५० रूपैयाँ रहेको समितिको तथ्यांकले देखाउँछ। त्यस्तै, बचुवा र छडी जातका माछा २ सय ४० देखि २ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
बजारमा मुगंरी जातको माछा भने प्रतिबन्ध लगाइएको कालीमाटी बजारका माछा व्यवसायी कुशेश्वर रूद्रवार यादवले जानकारी दिए।
यस्ताे माछामा फर्मालिनको मात्रा धेरै भएको भन्दै प्रतिबन्ध लगाइएको उनको भनाइ छ।
उनका अनुसार हाल माछा चितवन, बारा, रौतहट लगायत भारतको आन्ध्र प्रदेशबाट आयात हुने गर्छ।
'ज्युँदो माछा यहीँबाट आइरहेको छ। बाक्सामा प्याकिङ गरेर आउने माछा चाहिँ भारतबाट आउँछ,' उनले भने।