भारत बायोटेकले नेपाललाई लम्पीस्किन विरूद्धको खोप सहुलियत मूल्यमा उपलब्ध गराउने बताएको छ।
भारत बायोटेकका कार्यकारी अध्यक्ष डा. कृष्णा एल्लाले नेपाली पत्रकारहरूसँग कुरा गर्दै नेपालका किसानका लागि सहुलियत मूल्यमा लम्पीस्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताए।
हैदराबादस्थित कम्पनीको कार्यालयमा पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले कम्पनीले उक्त रोग विरूद्ध 'बायोभेट' खोप उत्पादन गरेको बताए।
कम्पनीले उत्पादन गरेको बायोभेट खोपले भारतको औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ।
कम्पनीले उत्पादन गरेको उक्त खोपलाई सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले स्वीकृति दिइसकेको उनको भनाइ छ।
'उक्त खोपको प्रयोगबाट ठूलो संख्यामा गाईभैँसी बचाउन सहयोग पुग्नेछ। हामी सहुलियत मूल्यमा खोप दिन तयार छौं,' उनले भने।
केही समयअघि नेपालमा महामारी रूपमा फैलिएको लम्पीस्किन रोगबाट ६० हजारभन्दा धेरै गाईवस्तु मरेको पशुसेवा विभागका सूचना अधिकारी डा. सुधिरकुमार सिंहले जानकारी दिए।
अहिले नेपालमा लम्पीस्किन महामारी नियन्त्रित अवस्थामा छ। तर पूरै उन्मुलन भइसकेको छैन।
पूर्वी नेपाल लगायत केही जिल्लामा फाट्टफुट्ट यो समस्या देखिइरहेको सूचना अधिकारी सिंहले बताए।
लम्पीस्किन विरूद्ध खोपको प्रयोग र चिसो सिजन सुरू भएसँगै धेरै हदसम्म लम्पीस्किन रोग नियन्त्रणमा आएको उनको भनाइ छ।
'हामीले गएको जेठ असारमा १० लाख डोज खोप वितरण गरियो। फेरि १४ लाख डोज खरिद सम्झौता भइसकेको छ। आउने क्रममा छ,' उनले भने।
उनले कुनै मुलुक लक्षित गरेर खोप ल्याउने भन्दा पनि बोलपत्र आह्वान गर्दा जसले सस्तोमा उपलब्ध गराउँछ त्यहिँबाट ल्याउने बताए।
'अहिले हामी एक डोजको २८ देखि ३० रूपैयाँमा खरिद गरिरहेका छौं। सरकारले यस्तो खोप निःशुल्क उपलब्ध गराइरहेको छ,' उनले भने।