साउदीमा लामो समय काम गरेर फर्केदेखि नै चन्द्रकान्त घिमिरेलाई नेपालमै केही गरूँ भन्ने इच्छा थियो।
उनले कोसिस पनि गरे। तर आफूसँग भएको पैसाले नयाँ व्यवसाय थालिहाल्ने आँट पलाएन। केही समय यत्तिकै बसे। फेरि साउदी नै जाने हो कि भन्ने सोचाइ पनि मनमा आयो।
त्यसैबीच एसियाली विकास बैंक (एडिबी) को ग्रामीण उद्यम परियोजनाबाट उनले सहुलियत ब्याजको ऋण पाए। साउदीबाट बचाएर ल्याएको रकममा थपथाप पुँजी भेटेपछि उनी पशुपालन गर्न कस्सिए।
कास्की, रामबगैंचाका ५१ वर्षीय घिमिरेले सुरूमा दुइटा भैंसी किनेका थिए। अहिले उनीसँग नौवटा भैंसी, एउटा राँगो, दुइटा गाई, तीनटा पाडापाडी गरेर १५ वटा वस्तुभाउ छन्। थप दुइटा भैंसी मगाइसकेका छन्।
उनको व्यावसायिक यात्रा दुई लाख रूपैयाँबाट सुरू भएको थियो। त्यसपछि गएको वर्ष साना किसान कृषि सहकारी माझठाना कास्कीबाट २३ लाख रूपैयाँ सहुलियत ऋण लिएर वस्तुभाउ थपेको उनी बताउँछन्।
एडिबीले सन् २०१९ मा ग्रामीण उद्यम परियोजना सुरू गरेको हो। यो परियोजनाअन्तर्गत गाउँ-गाउँमा खुलेका साना किसान सहकारीले सहुलियत ऋण दिँदै आएका छन्। देशमै केही गर्छु भन्ने योजना हुँदाहुँदै पुँजी अभावले बिदेसिन बाध्य युवाहरू यो परियोजनाबाट लाभान्वित छन्। चन्द्रकान्त तिनैमध्ये एक हुन्।
'वस्तुभाउ राम्ररी फस्टाएका छन्। वरपर प्रशस्त घाँस छ। जग्गा भाडामा लिएर पनि हरियो घाँस लगाएको छु। पराल भने आफ्नै खेतमा प्रशस्त छ,' उनले भने, 'अब एक साताभित्र दुइटा लैना भैंसी आउँदैछन्।'
उनी अहिले दिनको ५० लिटर दूध बेच्छन्। एक लिटर दूधको ११५ रूपैयाँका आधारमा महिनाको १ लाख ७० हजारभन्दा धेरैको कारोबार हुन्छ। दुइटा भैंसी थपेपछि जेठसम्म दैनिक ७० लिटर बेच्ने तयारी छ। त्यसपछि मासिक कारोबार २ लाख ४० हजार रूपैयाँ नाघ्नेछ।
वस्तुभाउलाई घाँस, कुँडो, खोले लगायत सबै खर्च कटाएर दूध बिक्रीबाट मात्र मासिक झन्डै एक लाख रूपैयाँ आम्दानी हुने उनी बताउँछन्।
जेठपछि भने उनी भैंसीको संख्या घटाएर खेतीपातीमा लाग्ने छन्। फेरि मंसिर लागेपछि खेती थन्काएर दूध व्यवसायमै फर्कने छन्। दूधको मुख्य बजार बूढीबजार हो। चन्द्रकान्तका दुई जना छोरा पालैपालो डेरीसम्म दूध पुर्याउन जान्छन्। दूधको पैसा महिनाको दुई किस्ता गरेर आउँछ।
'म यो कामबाट एकदमै खुसी छु। यो काम गर्न नसकेको भए फेरि विदेश जान्थेँ होला। अहिले त परिवारसँगै बसेर पैसा कमाएको छु। किन विदेश जाने?' चन्द्रकान्तले भने, 'अब त पशुपालनलाई नै अझ बढाउँदै लैजाने मात्र सोच छ मनमा।'
उनी धान खेतीबाट पनि राम्रो कमाइ गर्छन्। सिजनमा जेठोबूढो धान बेचेर डेढ लाख कमाइ हुने उनी बताउँछन्।
'गोरूले जोत्नुपर्दा ८ हलको मेलो लाग्ने खेत छ। तलामा गएर हेर्नुहुन्छ भने पुराना धान चार भकारी छन्। लगभग ४५-५० मुरी फल्छ। एक भकारीले खान पुग्छ, बाँकी तीन भकारी त पूरै बेच्ने हो। डेढ लाखको त धान नै बेच्छु,' उनले भने।
यो सफलता उनी एक्लैको मेहनतको फल होइन। उनकी श्रीमती मीना घिमिरेले पनि पूरा समय यसैमा दिँदै आएकी छन्।
चन्द्रकान्तले विदेशको कमाइ र गाउँमै भैंसीपालन गरेर आएको आम्दानीबाट छोराछोरीलाई राम्रो शिक्षा दिएका छन्। जेठा छोराले काठमाडौंमा बसेर स्नातकोत्तर र कान्छाले स्नातकसम्मको पढाइ गरेर जागिर थालेको उनले बताए। कान्छा छोरालाई पनि पोखरामै स्नातकोत्तर पढाउने उनको विचार छ।
'गाउँमै यति राम्रो कमाइ हुने रहेछ, साउदी चाहिँ किन जानुभएको थियो त?' हामीले सोध्यौं।
'कच्चा उमेरमै बिहे गरियो। छोराछोरी भइहाले। यिनलाई शिक्षादिक्षा कसरी दिने भनेर तनाव भयो। अनि एकचोटि विदेश जाम् न त भनेर जहाज चढेँ,' उनले विगत सम्झिँदै भने, 'कुवाभित्रको भ्यागुतो भएर कति नेपालभित्रै बस्ने, एकचोटि घुमेर आऊँ भनेर गएँ।'
यो आजभन्दा १५ वर्षअघिको कुरा हो। त्यतिखेर उनी कास्कीकै एउटा चकलेट फ्याक्ट्रीमा काम गर्दै थिए। तलब ठिकठाकै थियो। तर त्योभन्दा राम्रो कमाइ होला भन्ने आसले उनी साढे तीन लाख रूपैयाँ खर्चेर साउदी पुगे। त्यहाँ उनको तलब ५०० रियाल (त्यस बेला करिब २० हजार नेपाली रूपैयाँ) थियो।
साउदीमा उनको गाडी सफा गर्ने काम थियो। आफ्नो कमाइ र घरपरिवारको अवस्था सम्झेर खुब रोए। कोठामा रूँदा साथीहरूले देख्छन् भनेर ट्वाइलेटमा गएर रून्थे।
'परिवार सम्झेर आकुलव्याकुल हुन्थेँ। पिरले के गरौं कसो गरौं हुन्थ्यो। ट्वाइलेटमा धारा खोल्थेँ, अनि त्यही धाराको आवाजमा आफू रोएको आवाज दबाउँथेँ। त्यसपछि मुख धोयो, कोठामा आयो,' उनले भने, 'तीन महिना त रोएरै बित्यो।'
चन्द्रकान्तलाई साउदीको कमाइ चित्त बुझेको थिएन। उनी कसरी धेरै पैसा कमाउने भनेर सोचिरहन्थे। पैसाकै लागि एक जना बंगालीसँग मिलेर खजुरको रक्सी व्यापार पनि गरे। बंगालीले रक्सी बनाउँथे, चन्द्रकान्त त्यही रक्सी किनेर लुकी लुकी बेच्थे।
'सय रूपैयाँमा एक बोतल रक्सी किनेर दुई बोतल पानी थप्थेँ र तीन सयमा तीन बोतल बेच्थेँ,' उनले भने, 'नेपाली, बंगाली, फिलिपिनोहरू खुब किन्थे।'
साउदीमा रक्सी बेच्नु गैरकानुनी हो। यो चन्द्रकान्तलाई पनि थाहा थियो। तैपनि पैसा कमाउने रनाहामा जोखिम मोलेरै भए पनि गैरकानुनी काममा लागेका थिए।
त्यो बेला उनले महिनामै दुई-तीन लाख रूपैयाँ घर पठाउँथे। पछि फर्किने बेला पनि १७ लाख साथमै ल्याए।
'साउदीमै हुँदा मैले खरानेफाँटमा एक रोपनी जग्गा किनेँ। यहाँ आएपछि घर बनाएँ,' हातको इसारामा उनले भने, 'यो घर साउदीकै कमाइ हो।'
साउदीमा कमाएको रकम घरघडेरीमा खर्च गरेपछि उनलाई व्यवसाय सुरू गर्न भने पैसाको अभाव भयो। गाउँमै बसेर काम गर्ने हुटहुटी भए पनि रकम अभावले आँट्न सकेनन्। त्यही बेला एडिबी परियोजनाबाट पाएको सहुलियत ऋणले जीवनको बाटो नै फेरिएको उनी बताउँछन्।
चन्द्रकान्तजस्तै कथा लाहाचोकका चन्द्रबहादुर शाहीको पनि छ।
वैदेशिक रोजगारीबाट फर्केका उनी पनि एडिबी परियोजनाअन्तर्गत लाहाचोक साना किसान कृषि सहकारीबाट सहुलियत ऋण लिएर पशुपालन गरिरहेका छन्। अहिले उनी र उनकी श्रीमती अनिता सेन शाहीको पूर्णकालीन काम वस्तुभाउ स्याहार्ने हो।
यो ऋण परियोजनाले कमाउन विदेश जानुपर्ने बाध्यता अन्त्य भएको शाही बताउँछन्।
'वस्तुभाउ नपालेको भए छोराछोरी पढाउन ऋण खोज्नुपर्थ्यो,' उनले भने, 'अहिले ऋण तिर्न र छोराछोरी पढाउन मज्जाले पुगिरहेको छ। हामी सन्तुष्ट छौं।'
उनले भैंसी र गाई पाल्न थालेको पाँच वर्ष भयो। कृषि विकास बैंकबाट १२ प्रतिशत ब्याजमा ऋण लिएर व्यवसाय सुरू गरेका थिए। चर्को ब्याज र कहिलेकाहीँ हर्जनासमेत बुझाउनुपर्दा मारमा थिए। डेढ वर्षअघि एडिबी परियोजनाबाट ९ प्रतिशत ब्याजको सहुलियत ऋण पाएपछि वस्तुभाउ थपेर व्यवसाय विस्तार गरेको चन्द्रबहादुरले बताए।
अहिले उनीसँग सातवटा भैंसी र तीनवटा गाई छन्। केही बाख्रा र कुखुरा पनि पालेका छन्।
उनी दिनको ४४ लिटर दूध बेच्छन्। बजारको कुनै समस्या छैन। सबै सहकारीले किनिदिन्छ। सहकारीमा बेचेर बढी भएको दूध गाउँघरमै खपत हुन्छ। सहकारीमा बेच्दा लिटरको १०० रूपैयाँ र गाउँमा बेच्दा १२० रूपैयाँ पाउने उनी बताउँछन्।
कामको खोजीमा कहिले मलेसिया त कहिले युएई पुगेका चन्द्रबहादुरले अहिले आफ्नै घरमा पशुपालन गरेर एक जनालाई रोजगारीसमेत दिएका छन्। उनीहरूका दुई छोराछोरी पोखरामा पढ्छन्।
'विदेशमा पनि कमाइ त राम्रै थियो। दुबईमा गाडी चलाउँदा लाख कमाउँथेँ। तर अर्काको गुलामी गर्नुभन्दा आफ्नै देशमा काम गर्छु भनेर फर्केँ,' ४३ वर्षीय चन्द्रबहादुरले भने, 'अब अर्काको देश नजाने, यहीँ कृषि कर्म गर्ने भनेर लागेको छु।'
उनले अगाडि भने, 'यहाँ केही गर्ने आधार नभएको भए त सोच्नुपर्थ्यो, आधार पाइएको छ। छोराछोरीले कति पढ्छन्, त्यसमा लगानी गर्ने हो।'
चन्द्रकान्त र चन्द्रबहादुरजस्तै वैदेशिक रोजगारीबाट फर्किएका र विदेश जाने तर्खर गरिरहेका थुप्रै युवा सहुलियत ऋण पाएपछि गाउँमै रोकिएका छन्।
गाउँमै केही गर्छु भन्ने सोच भएका र सहुलियत ब्याजमा ऋण पाएका कारण काम गर्न सहज भएको उनीहरू बताउँछन्।