सिराहाको लहानका बगैंचामा यति बेला किसान र व्यापारीलाई आँप टिपेर बेच्न भ्याइनभ्याई छ। यहाँका केही आँप लहान लगायत आसपासका बजारमा बेचिन्छ, धेरैजसो आँप लहानबाहिर पठाइन्छ।
मालदह र बमोई प्रजातिका आँप पाक्न थालेपछि यहाँका सबैजसो फूलबारी (बगैंचा) मा आँप टिपेर प्याकिङ गर्न मजदुर खटिएका छन्। यसरी प्याकिङ गरिएको आँप बेच्न काठमाडौंसहित देशका विभिन्न सहरमा धमाधम पठाइँदैछ।
लहान नगरपालिका–१, मटिअर्वा टोलको एउटा बगैंचामा पुग्दा १० जना जति मजदुर आँप टिप्दै थिए, दुई जना प्याकेजिङमा व्यस्त थिए।
बगैंचाबाट टिपेर आँप जम्मा गरेपछि सबभन्दा पहिला उनीहरू क्रेटमा पुरानो पत्रिका बिछ्याउँछन्। डाँठपट्टिको भाग तल पारेर एकएक गर्दै आँप खात लगाउँछन्। आँप खात लगाउँदा खातैपिच्छे पुरानो पत्रिका राख्छन्। आँपमा घस्रा लाग्न नदिन पत्रिका राख्नुपरेको हो। क्रेट भरिएपछि फेरि कागजले आँप ढाक्छन्। यति गरेपछि पातलो डोरीले बाँधेर क्रेट गाडीमा लोड गर्छन्। एउटा क्रेटमा २२ देखि २८ केजीसम्म आँप अट्छ।
बगैंचामा आँप टिप्दै गरेका स्थानीय कामदार रौदी पासवान भन्छन्, ‘कागजले बेरेर आँप राख्दा आँपको दूध (चोप) ले कलर (रङ) बिग्रिँदैन, घस्रा पनि लाग्दैन। कागजले बेर्दै मिलाउँदै आँप प्याक गर्न सबैले जान्दैनन्, जान्नेले मात्र गर्छ।’
व्यापारीहरूका अनुसार अहिले लहानबाट राम्ररी नपाकेको आँपमात्रै गाडीमा राखेर पठाइँदै छ। लहान बजारमा खुद्रा व्यापारीले भने पाकेकै आँप बेच्छन्।
लहानको आँप इटहरी, धरान, विराटनगर, काठमाडौं, पोखरा, चितवन, बुटवल, सुर्खेत लगायत अन्य ठाउँमा पनि पुग्छ।
यस क्षेत्रका किसानले उत्पादन गरेको आँप नगरपालिकाले ‘ब्रान्डिङ’ सुरू गरेको छ। ब्रान्डिङका लागि नगरपालिकाले स्थानीय ‘सरस्वती कृषि फर्म’ सँग सम्झौता गरेको छ।
वडा नम्बर १२ का वडाध्यक्ष तथा नगरपालिकाका कृषि संयोजक बद्रीनरायण चौधरीका अनुसार उक्त कृषि फर्मबाट लहानको आँपको ग्रेडिङ (आकारअनुसार वर्गीकरण) गर्छ र ब्रान्डिङ गरेर प्याकेजिङ गरी बजार पठाउँछ।
लहानको आँपलाई नेपाली बजारमा पहिचान दिन, किसानको उत्पादन प्रवर्द्धन गर्न र उपभोक्तालाई शुद्ध जातको गुणस्तरीय आँप खुवाउन सरस्वती कृषि फर्मसँग ब्रान्डिङको सम्झौता गरेको उनले बताए।
‘आँप ब्रान्डिङ गर्दा लहानको पहिचान बन्छ। किसान, मजदुर, व्यापारी र उपभोक्ता सबैले ब्रान्डिङको लाभ पाउँछन्। उपभोक्तालाई शुद्ध जातको र विषादीरहित आँप खुवाउन ब्रान्डिङका लागि सम्झौता गरेका हौं,’ वडाध्यक्ष चौधरी भन्छन्, ‘नगरपालिकाले ब्रान्डिङमा ५० प्रतिशत अनुदान दिएको छ।’
कसरी हुन्छ ब्रान्डिङ?
सरस्वती कृषि फर्मले आँपका दानाको आकार अनुसार ग्रेडिङ गरेर ५ केजी र १० केजी तौलमा कार्टनमा प्याकेजिङ गर्छ। कार्टुनको बाहिरपट्टि ठूलो अक्षरमा ‘लहानको आँप’ लेखिएको एउटा स्टिकर टाँस्छ। स्टिकरमा दुई वटा आँपको चित्र छ। स्टिकरको तल एकापट्टि सानो अक्षरमा ‘लहान नगरपालिका’ र अर्कापट्टि ‘सरस्वती कृषि फर्म’ लेखिएको छ।
लहानको सबै आँप ब्रान्डिङ र ग्रेडिङ हुन्छ?
होइन, सरस्वती कृषि फर्मले स्थानीय किसानबाट आँप किन्छ। हाल यही आँप मात्र आधिकारिक रूपमा ग्रेडिङ र ब्रान्डिङ हुन्छ। बगैंचाबाट व्यापारीले किनेको आँप उनीहरूले आफ्नै तरिकाले बेच्छन्। किसानले कृषि फर्मलाई नै आँप बेच्नुपर्ने बाध्यता छैन।
सरस्वती कृषि फर्म स्थानीय बासिन्दा नागेश्वर महतोको हो। उनका अनुसार लहान बजारमा र काठमाडौंको शान्ति नगरमा ‘लहानको आँप’ बिक्री कक्ष चलाइएको छ। यी बिक्री कक्षमा लहानको मालदह आँप राखिएको छ।
नागेश्वरको कृषि फर्मअन्तर्गत एक बिघा जमिनमा आँप बगैंचा छ। यसपालि उनले किसानबाट पाँच बिघा बगैंचा किनेका छन्। केही किसानले पनि कृषि फर्मलाई आँप बेच्छन्।
उनले भने, ‘मैले लहानको बगैंचा मात्रै किनेको छु, यहाँको आँपमात्रै बेच्छु। मैले किनेको फूलबारीमा मालदह आँप धेरै छ। कलकतिया छ। अलिअलि अम्रपाली र बमोई पनि छ।’
तराईका बजारका लागि लहानमै ग्रेडिङ र ब्रान्डिङ हुन्छ। काठमाडौंका लागि काठमाडौंकै शान्तिनगरमा काम हुन्छ।
‘पोहोर साल कार्टुनमा प्याक गरेर लाँदा धेरै आँप खराब भयो। मलाई घाटा भयो। यसपालि क्रेटमा काठमाडौं पुर्याएर उतै कार्टुनमा प्याकेजिङ हुन्छ,’ उनी भन्छन्, ‘कार्टुनमा तौल र आँपको जात लेखिएको हुन्छ। लोगो टाँसिएको हुन्छ।’
उनका अनुसार सरस्वती कृषि फर्मले अनलाइनबाट अर्डर लिएर पनि बिक्री गर्छ। ग्राहकको घरमै पुर्याउने (होम डेलिभरी) प्रबन्ध पनि छ। ‘ओयो पसल’ नामको एपबाट अनलाइन व्यापार हुने गरेको उनले बताए।
उनका अनुसार, ‘ओयो पसल’ बाट व्यापार खुला गरेको २४ घण्टामै देशभरिबाट सोधपुछ भयो। अहिलेसम्म एक लाखभन्दा बढीले अनलाइन सोधपुछ गरेका छन्।
ओयो पसलबाट सरस्वती कृषि फर्मको आँप बेचिरहेका रोशन महतोका अनुसार ‘धेरैको अर्डर कन्फर्म भइसकेको छ। हाल विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज लगायत १० वटा सहरमा होम डेलिभरीको प्रबन्ध छ।
गत वर्ष ओयो पसलबाट ६० हजार किलो आँप बेचेको उनले बताए। यसपालि एक लाख किलो बेच्ने उनको लक्ष्य छ। अनलाइनमा मालदह आँप मात्रै अर्डर लिने व्यवस्था छ।
यी पनि:
लहानको कुन आँप कहिले पाक्छ, कहिलेदेखि आउँछ बजारमा?
जहाँसम्म नजर पुग्छ, त्यहाँसम्म आँपै आँप