कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको संख्या हरेक वर्ष घटिरहेको छ। शुक्रबार भएको कृषि संकायको प्रवेश परीक्षामा गत वर्षभन्दा करिब २३ प्रतिशत कम विद्यार्थी सहभागी भए।
गत वर्ष १७ भन्दा बढीले विद्यार्थी सहभागी भएकोमा यस वर्ष १ हजार ३१३ जनामात्रै परीक्षार्थीले कृषि संकायको प्रवेश परीक्षा दिएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, ८ आंगिक र ७ सम्बन्धन प्राप्त क्याम्पसका लागि शुक्रबार काठमाडौं र रामपुरमा प्रवेश परीक्षा लिइएको थियो। यी सबै क्याम्पसमा गरेर कृषि संकायका ९ सय ३४ कोटा छन्। प्रवेश परीक्षामा १ हजार ५५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
गत वर्ष कृषि संकायका लागि १७ सय बढी विद्यार्थीले आवेदन दिएकोमा ७ सय ४ जनामात्रै उत्तीर्ण भएका थिए। उत्तीर्ण भएका मध्येबाट विश्वविद्यालयको केन्द्रीय र आंगिक क्याम्पसहरूमा कोटाभन्दा ४० प्रतिशत कम विद्यार्थी भर्ना भएका थिए। विश्वविद्यालयले केन्द्रीय र आंगिक क्याम्पसका लागि ५ सय ८४ वटा कोटा निर्धारण गरेको छ। त्यसमा ३ सय ५० जना विद्यार्थीले मात्रै भर्ना गरे।
![pariksha-dine-line2-1697363754.jpeg](https://img.setoparty.com/uploads/posts/pariksha-dine-line2-1697363754.jpeg?timestamp=1697363952563)
विश्वविद्यालयका एक अध्यापक यसवर्ष विद्यार्थी संख्या थप घट्ने पिरलोले प्रश्नपत्र सजिलो बनाएर धेरै विद्यार्थी उत्तीर्ण हुने वातावरण बनाइएको हुनसक्ने बताउँछन्।
‘यसपाली पोहोरभन्दा आवेदन दिने नै कम थिए। प्लसटुमा विज्ञान विषय पढेका विद्यार्थी पनि कम थिए तर पोहोरभन्दा बढी पास हुनुको कारण त्यही हुनसक्छ,’ उनले सेतोपाटीसँग भने।
गत वर्ष सम्बन्धन प्राप्त सातवटै क्याम्पसमा कृषि संकायमा एक जना विद्यार्थी पनि भर्ना भएनन्। ५०/५० जना विद्यार्थीलाई पढाउन पाउने पश्चिम नवलपरासीको रामनगर, पूर्वी नवलपरासीको गैंडाकोट ललितपुरको चापागाउँ, झापाको गौरादह, सुनसरीको इटहरी, बाँकेको कोहलपुर, सुर्खेतको वीरेन्द्रनगर गरी सात सम्बन्धन प्राप्त क्याम्पसमा कृषि संकायका विद्यार्थी शून्य भएका हुन्।
आठ आंगिक क्याम्पसमध्ये एउटामा कृषि संकायमा विद्यार्थी भर्ना भएनन्। दैलेखको दुल्लुमा कृषि संकायका लागि ५४ सिट संख्या निर्धारण गरिएको थियो। तर यहाँ कोही पनि विद्यार्थी भर्ना भएनन्। केन्द्रीय र आंगिक तोकिएको कोटाभन्दा कम विद्यार्थी भर्ना भएका थिए।
केन्द्रीय क्याम्पस रामपुरमा १६२ सिट संख्या रहेकोमा १२७ जनालेमात्रै भर्ना गरे।
५४ सिट संख्या निर्धारण भएका कास्कीको पुरनचौरमा ४८, सिन्धुलीको कपिलाकोटमा ४० जना, कैलालीको टिकापुरमा ३१ जना, धनकुटाको पाख्रिवासमा ३२ जना, महोत्तरीको बर्दिवासमा २२ जना विद्यार्थी भर्ना भएका थिए। ४९ सिट संख्या रहेका बाँकेको खजुरामा २९ जना र रोल्पाको माडीचौरमा २१ जनामात्रै विद्यार्थी भर्ना भएका थिए।
विश्वविद्यालयका कृषि संकायका डिन प्राध्यापक अर्जुनकुमार श्रेष्ठ प्लस टु उत्तीर्ण भएपछि विदेश जानेको लहर बढेकाले स्नातक तहमा विद्यार्थीको संख्या घट्दै गएको बताउँछन्। कोरोना महामारी भन्दा अघि यो विश्वविद्यालयमा कृषि संकाय पढ्न ४ हजार ५ सय जनाले आवेदन दिएका थिए। त्यसपछि भने आवेदन दिनेको संख्या क्रमशः घटिरहेको छ।
‘पहिले आइएससी एजी पढेका धेरै विद्यार्थी कृषिमा स्नातकका लागि आउँथे। सरकारले आइएससी एजी खारेज गरेपछि विज्ञान विषय लिएर प्लस टु पास भएका विद्यार्थीहरूमात्रै हुन थाले,’ श्रेष्ठले भने, ‘केही वर्षयता प्लस टु साइन्स पास भएलगत्तै विदेश जाने लहर चल्न थाल्यो। विद्यार्थी संख्या कम हुनुको मुख्य कारण त्यही हो।’
अहिले विज्ञान विषयमा प्लस टु उत्तीर्ण भएकाभन्दा सिटिइभिटीको डिप्लो इन एजी र कक्षा ९ देखि १२ सम्म कृषि विषय पढेका विद्यार्थीहरु बढी छन्। विज्ञान विषयमा प्लस टु उत्तीर्ण भएर विदेश नगएकाहरूको रोजाइमा एमबिबिएस र इन्जिनियरिङ पछिमात्रै कृषि बन्ने गरेको श्रेष्ठ बताउँछन्। कृषि विश्वविद्यालयले यसपाली एबिबिएस, इन्जिनियरिङ र अन्य विश्वविद्यालयको कृषि संकायको प्रवेश परीक्षा हुनुअघि परीक्षा लिएको छ। विगतको ट्रेण्ड हेर्दा यहाँ उत्तीर्ण भएपछि एमबिबिएस, इन्जिनियरिङमा पनि प्रयास गर्ने र विदेश जानेको संख्या ठूलै देखिन्थ्यो।
‘केन्द्रीय क्याम्पस र सुगम ठाउँमा रहेका क्याम्पसमा अवसर पाए पढ्ने नपाए विकटमा गएर पढ्नुभन्दा अन्य विषय वा विदेश रोज्ने चलन देखिएको छ,’ डा.श्रेष्ठले भने, ‘यसपाली प्लसटु उत्तीर्णभन्दा कृषि नै पढेर आएका विद्यार्थीको संख्या बढी भएकाले अघिल्लो वर्षभन्दा बढी विद्यार्थी रोकिएलान् भन्ने आशा छ।’
कृषि विश्वविद्यालयबाहेक त्रिभुवन विश्वविद्यालय, काठमाडौं युनिभर्सिटी, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, सुदुरपश्चिम, मधेस विश्वविद्यालयहरूमा पनि कृषि विषयको पढाई हुन्छ। कृषि विश्वविद्यालयको सुगम क्षेत्रमा पढ्ने अवसर नपाएका विद्यार्थीहरूको रोजाइमा पनि विकट क्षेत्रका आंगिक क्याम्पसलाई भन्दा अन्य विश्वविद्यालयलाई पर्ने गरेका छन्।
‘सरकारले कृषि, पशु र वन विज्ञानको पढाई एकीकृतरूपमा सञ्चालन गर्नेगरी कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गर्यो। यति गरिसकेपछि अन्य सरकारी विश्वविद्यालयलाई यी विषय पढाउने अनुमति नदिएको भए हुन्थ्यो। सबैलाई यी विषय पढाउन अनुमति दिएपछि यसको महत्त्व कम भएको छ,’ डिन श्रेष्ठ भन्छन्, ‘यस विषयमा सरकारले पुनर्विचार गर्नुपर्छ।’
उनले विद्यार्थी कम हुँदै गएको तर विश्वविद्यालयको सञ्चालन खर्च भने उस्तै रहेकाले राज्यलाई घाटा भइरहेको बताए। विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.शारदा थपलियाले दुरदर्शी योजना बन्न नसक्दा समस्या बढ्दै गएको बताइन्। गाउँ–गाउँमा आंगिक कलेज खोल्ने निर्णय ६ वर्ष पनि टिक्न नसक्नु दुःखद् रहेको उनले बताइन्।
‘हामीले योजना बनाउँदा नै यस्ता कुराहरू बिचार गर्नुपर्दथ्यो। विचार नपुर्याइ योजना बनाउँदा आंगिक कलेज खाली हुन थाले,’ डा.थपलिया भन्छिन्।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक पुण्यप्रसाद रेग्मी आंगिक कलेजहरूलाई कुनै बाली विशेषको कलेजकारुपमा विकास गर्नसक्नुपर्ने बताउँछन्।
‘टिकापुरमा केरा, दैलेखमा सुन्तला, सिन्धुलीमा जुनारलाई प्राथमिकतामा राख्न सकिन्छ। यसो गर्दा बाली विशेषमा विज्ञता बढ्छ। विद्यार्थीको ध्यान त्यसरी पुग्न सक्छ,’ उनी भन्छन्, ‘पढाइलाई अध्ययन र अनुसन्धानमुखी बनाउँदै लैजानु जरूरी छ।’
![Krishi-biswabisyalayama-krisi-sankayako-parikchyako-lagi-line-ma-bidyarthi-1697363922.jpeg](https://img.setoparty.com/uploads/posts/Krishi-biswabisyalayama-krisi-sankayako-parikchyako-lagi-line-ma-bidyarthi-1697363922.jpeg?timestamp=1697363923352)
कृषि संकायका डिन श्रेष्ठले यस वर्षदेखि ५० प्रतिशतभन्दा कम विद्यार्थी भएका कलेजलाई अर्को कलेजमा गाभ्ने रणनीति रहेको बताए। विद्यार्थी नरहेका कलेजलाई कृषि अनुसन्धान केन्द्रमा परिणत गर्ने सोच रहेको उनले बताए। अहिले विद्यार्थी नै नरहेका कलेजहरूमा पनि कर्मचारीलाई तलब दिएर राखिएको छ।
‘आंगिक कलेजहरू धेरै हुँदा बजेट छरियो। तर विद्यार्थी संख्या कम भएकाले त्यो बजेटअनुसार जति प्रतिफल आउनुपर्ने थियो त्यो आउन सकेन। रामपुरमा गर्नुपर्ने लगानी विद्यार्थी नै नरहेको दुल्लुमा गर्नुपर्ने अवस्था भयो,’ श्रेष्ठ भन्छन्, ‘यता प्रयोगात्मक सिकाइका लागि बजेट नपुग्ने उता यसै बजेट दिइराख्नुपर्ने अवस्था छ।’
मोफसलमा रहेको विश्वविद्यालय भएका कारण राज्यले यहाँको कुरा राम्ररी नसुनेको गुनासो उनले गरे। यस विषयमा राज्यलाई घचघच्याउन छिट्टै एउता बृहत् कार्यशाला गर्न लागेको श्रेष्ठले बताए।
यसपाली कृषि पढ्न चाहनेहरू अधिकांश छात्रा छन्। आवेदन दिनेहरूमध्ये ८ सय १६ जना छात्रामात्रै थिए।
विश्वविद्यालयमा पशु विज्ञान र फिसरी संकायमा केन्द्रीय क्याम्पसमामात्रै पढाइ हुन्छ। पशु संकायमा ५० र फिसरीमा २१ सिटमात्रै छ। फिसरीमा सिट भर्न पनि गाह्रो छ। यी दुई संकायका लागि कात्तिक ३० गतेसम्म आवेदन दिन मिल्छ। मंसिर ९ गते प्रवेश परीक्षा छ। वन विज्ञानका दुईवटा आंगिक क्याम्पस छन्। मकवानपुरको हेटौंडामा ८० र उदयपुरको कटारीमा ५४ सिट निर्धारण गरिएको छ। वन विज्ञान पढ्नका लागि कात्तिक १७ गतेसम्म आवेदन दिन सकिन्छ।
विश्वविद्यालयका सहप्राध्यापक हिमाल लुईंटेलका अनुसार पशु विज्ञान संकायमा गत ५० सिटका लागि पाँच सय जनाले आवेदन दिएका थिए। केही वर्षअघि ५० जनाका लागि १२ सय जनाले प्रतिस्पर्धा गर्थे। यसपाली विद्यार्थी संख्या घट्न नदिन पशु विज्ञान संकायमा स्वास्थ्य विज्ञान सम्बन्धी प्रविणता प्रमाणपत्र तह वा डिप्लोमा (जनरल मेडिसिन, मेडिकल ल्याब टेक्नोलोजी, अप्थाल्मिक विज्ञान, डेन्टल विज्ञान, फार्मेसी, रेडियोग्राफी, आयुर्वेद र फिजियोथेरापी) वा सो सरहको तहमा कम्तीमा १०० पूर्णङ्कको अंग्रेजी, केमेष्ट्री, वायोलोजी एवं कम्तीमा ५० पूर्णङ्कको गणित र फिजिक्स विषय अध्ययन गरेका विद्यार्थीलाई पनि योग्य मानिएको छ।
सहप्राध्यापक लुईंटेलले शैक्षिक क्यालेन्डर लागू नहुने र क्याम्पसमा राजनीतिकरण बढेकाले विद्यार्थी संख्या घटेको बताए। नेपालको सामाजिक संरचना, सोचाइका कारण पनि विद्यार्थी संख्या घटेको हुनसक्ने उनले बताए।
‘छोरा, छोरी विदेशमा छन् भन्दा प्रतिष्ठाको विषय हुने तर यहाँ कृषि, पशु विज्ञान पढेका भन्दा नालायक सोच्ने चलन बढ्यो,’ उनी भन्छन्, ‘यो अवस्था चिन्ताजनक छ।’
लुईंटेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पढाइ चलिरहेको अवस्थामा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना हुँदा सरकारले धेरै लगानी गरेको भए पनि त्यो लगानीको सही उपयोग हुन नसकेको बताए।
‘नयाँ विश्वविद्यालय बन्दैगर्दा सरकारले गाडी घोडा राम्रो दियो, जनशक्ति राख्यो तर त्यो अनुसारको पढाई हुने वातावरण भएन। विद्यार्थीलाई प्रयोगात्मक सिकाइमा जोड दिनुपर्थ्यो त्यो हुन पाएन। सधैं आन्दोलनमात्रै हुने, पढाई कम हुने अवस्था बढ्यो,’ उनले भने, ‘स्रोतको पूर्ण उपयोग नहुँदा गुणस्तरीय शिक्षा भएन। त्यसले यहाँ पढे पनि अन्ततः विदेशै जानुपर्ने हो भने पहिल्यै किन नजाने भन्ने धारणा बढ्न थाल्यो।’