हिमाली जिल्ला मुगुकी सबिना बुढा क्षेत्री दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित सिद्धरत्ननाथ उच्च माध्यमिक विद्यालयमा कृषि विज्ञान अन्तर्गत ‘बाली विज्ञान’ विषयकी विद्यार्थी हुन्।
पढाइसँगै उनी विद्यालयको खेतमा काम गर्छिन्। कृषक आमाबुबाकी छोरी उनले आफ्नो गाउँमा पनि खेतीको काम गरेकै थिइन्। कृषिकर्ममा अभ्यस्त थिइन्। उता मुगुको आफ्नो गाउँमा बाली तयार हुन धेरै दिन लाग्थ्यो। तरकारी पनि वर्षमा एक पटक मात्रै हुन्थ्यो। दाङमा भने सविनाको अनुभव फरक छ।
'यहाँ त एकै वर्षमा एउटै तरकारी तीन/चार पटक उत्पादन हुन्छ। मेरा लागि यो निकै नौलो अनुभव भएको छ। खेती गर्ने तरिका गाउँको भन्दा धेरै फरक रहेछ,' उनले भनिन्।
कृषि विषयको विद्यार्थी भएपछि उनले ठाउँको वातावरण अनुकूल खेती गर्न जान्दा बढी प्रतिफल लिन सकिने भन्ने थाहा पाएकी छन्।सविना हाल डिप्लोमा तेस्रो वर्षमा पढ्दै छिन्। उनी र उनका सहपाठी साथीहरू सैद्धान्तिक ज्ञानसँगै खेतबारीमा आफैं खटिएर प्रयोगात्मक ज्ञान पनि हासिल गर्दै छन्।
कक्षामा पढ्दै र खेतबारीमा अभ्यास पनि गर्दै विद्यार्थीहरू आधुनिक र व्यावसायिक तरकारी खेतीको तरिका सिक्दैछन्। अधिकतम उत्पादन लिने तरिका थाहा पाउँदै छन्।
'म र मेरा साथीहरूले आफैंले काम गरेर खेतीका लागि माटो तयारी, क्षेत्रफल अनुसार मल प्रयोग, बेर्ना उत्पादन, तापक्रम सन्तुलन, सिँचाइ, रोग र उपचार लगायतका तरिकाहरू सिकिरहेका छौं,' सबिनाले भनिन्।
डिप्लोमाका विद्यार्थीहरू विद्यालयको चार बिघा जग्गामा तरकारी खेती गर्छन्। यति बेला भिन्डी, खुर्सानी, बोडी, सिमी, काँक्रो फलाएका छन्। यसअघि च्याउ उत्पादन गरे। करेला, बन्दागोभी र फूलगोभी पनि उत्पादन गरे। यी उत्पादन बेचेर उनीहरू आम्दानी पनि गर्छन्। यस्तो आम्दानीले उनीहरूको व्यक्तिगत खर्चमा सघाउ पुग्छ।
'औपचारिक पढाइ सकिएपछि आ-आफ्ना ठाउँमा गएर व्यावसायिक रूपमा तरकारी खेती गर्न हिम्मत पलाएको छ,' सविनाले भनिन्।
सबिनाका अनुसार विद्यार्थीले सैद्धान्तिक र व्यावहारिक ज्ञान त हासिल गरेकै छन्, यससँगै कृषिकर्म र श्रमको महत्त्व थाहा पाएका छन्। प्रत्येक किसानले गरेको श्रम र उत्पादनको महत्त्व थाहा पाउँदैछन्। यो व्यावहारिक ज्ञान कक्षाकोठामा लिने सैद्धान्तिक ज्ञानभन्दा पनि बढी महत्त्वपूर्ण छ।
केही समयअघि हामी उक्त स्कुलमा पुग्दा दाङकै दंगीशरण गाउँपालिकाकी रेणु डाँगी र उनका सहपाठीहरू बोडीखेतीमा उम्रिएको झार उखेल्दै थिए। वर्षायामका कारण बोडीको बोटसँगै झार पनि फैलिएको देखिन्थ्यो।
डिप्लोमा तेस्रो वर्षमा पढ्दै गरेकी रेणुका अनुसार उनले गुजाराका लागि आमाबुबाले गरेको खेती र आधुनिक खेतीको फरक थाहा पाइन्। व्यावसायिक खेतीको व्यावहारिक ज्ञान पाइन्।
भन्छिन्, ‘आफैं खटेर प्रयोगात्मक अभ्यास गर्दा खेतीका सबै व्यावहारिक ज्ञान हुँदो रहेछ। रोग र किराहरूका बारेमा जानकारी हुँदो रहेछ।’
बिरूवामा कुनै रोग वा किरा छ भने प्रयोगशालामा माइक्रोस्कोपबाट हेरेर खोज अनुसन्धान गर्ने गरेको उनले बताइन्।
‘रोगअनुसार कुन विषादी प्रयोग गर्ने भनेर पनि हामी नै टुंगो लगाउँछौं,’ रेणु भन्छिन्, ‘कक्षा कोठामा सैद्धान्तिक ज्ञान र खेतबारीमा काम गरेर व्यावहारिक ज्ञान प्राप्त गर्दै छौं।’
घोराहीकै रोमिङ चौधरी पनि डिप्लोमा तेस्रो वर्षका विद्यार्थी हुन्। उनले बीऊका बारेमा बताए।
‘कुन जातको बिउविजन प्रयोग गर्दा बढी फाइदा लिन सकिन्छ, बीऊ कसरी छनोट गर्ने, बिरुवाको दूरी कति हुने गरी बीऊ रोप्ने, बिरूवा लागि कस्तो वातावरण आवश्यक पर्छ, आधुनिक प्रविधिबाट कसरी फाइदा लिने,’ उनले भने, ‘सैद्धान्तिक र प्रयोगात्मक दुबै कक्षाबाट यस्ता पक्षहरूमा ज्ञान लिइरहेका छौं।’
हाल कृषिको डिप्लोमा तेस्रो वर्षमा १९ जना विद्यार्थी छन्। उनीहरू बिहान कक्षा कोठामा पढ्छन्, दिउँसो खेतमा काम गर्छन्। पहिलो र दोस्रो वर्षका विद्यार्थी पनि त्यसै गर्छन्। सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न सबै विद्यार्थी पालो मिलाएर खेतमा काम गर्छन्।
हाल बाली विज्ञानमा जम्मा ६५ विद्यार्थी छन्। स्कुलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत बाली विज्ञान विषय पढाउँदै आएको छ।
प्रयाप्त चौधरी एक जना शिक्षक हुन्। उनी कक्षा कोठामा पढाउँछन् र प्रयोगात्मक कक्षाका लागि खेतबारीमा जान्छन्। सैद्धान्तिक ज्ञानसँगैको खेतीलाई स्कुलले ‘पढ्दै कमाउँदै’ कार्यक्रम भनेको छ। यस अन्तर्गत विद्यार्थीलाई कक्षा कोठामा पढाउने र खेतमा व्यवाहारिक ज्ञान दिने काम हुन्छ।
चौधरीका अनुसार स्कुलले आफ्नै चार बिघा जमिन कृषिको प्रयोगात्मक कक्षाका लागि उपयोग गरेको छ। त्यसबाट विद्यार्थीहरू व्यावहारिक ज्ञान हासिल गर्दै भविष्यमा आत्मनिर्भर हुने बाटो पहिल्याउँदै छन्।
पहिलो, दोस्रो र तेस्रो वर्ष गरी तीन वटै कक्षाका विद्यार्थीहरू खेतमा काम गर्छन्। उत्पादन बजार पठाउने काम पनि उनीहरू नै गर्छन्।
‘विद्यार्थीहरूले कक्षाअनुसार खेत भाग लगाएका छन्। त्यसमा मिलेर काम गर्छन्,’ शिक्षक चौधरी भन्छन्, ‘तोकिएको ठाउँबाट बिउविजन ल्याउने, बिरूवा रोप्ने, गोडमेल गर्ने, विषादी र भिटामिन छर्नेदेखि उत्पादित वस्तु बजारमा पठाउने जस्ता सबै काम आफैं मिलेर गर्छन्।’
उनका अनुसार विद्यार्थीहरू अब अफ सिजनका लागि टमाटर, काँक्रा, गोभी र च्याउ खेती गर्ने योजनामा छन्। गत वर्ष च्याउ खेतीबाट ५६ हजार रूपैयाँ कमाइ भयो। यसपटक दोब्बर उत्पादन गर्ने योजना छ।
चौधरी भन्छन्, ‘कक्षामा पढेको ज्ञान र खेतमा सिकेको सिपबाट विद्यार्थीहरू भविष्यमा देशविदेश जहाँ भए पनि उत्पादन र कमाइ गर्न सक्छन्।’
अर्का शिक्षक युवराज बस्नेत बिहानी सत्रमा सञ्चालित ‘कृषि बाली विज्ञानको कार्यक्रम’ व्यवस्थापक हुन्। उनका अनुसार विद्यार्थीको प्रयोगात्मक ज्ञानका लागि स्कुलले चार बिघा जग्गामा तारबार गरेको छ।
‘कक्षा कोठामा लिएको सैद्धान्तिक ज्ञान व्यवहारमा रूपान्तरणका लागि विद्यार्थीहरूलाई खेतीमा लगाएका हौँ,’ बस्नेत भन्छन्, ‘यस्तो सैद्धान्तिक र व्यावहारिक ज्ञानले भविष्यमा थप अध्ययन गर्न र उत्पादनमा लाग्न सजिलो हुन्छ। यस किसिमको दक्ष जनशक्ति उत्पादन गर्नु हाम्रो उद्देश्य हो।’
पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीले आफैं कमाउँदै आफ्नो सानोतिनो आवश्यकता पनि पूरा गर्ने गरेको उनको भनाइ छ। विद्यार्थीको प्रोत्साहनका लागि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण इकाइ, लमही’ ले तीन वटा टनेल बनाइदिएको छ।
बस्नेतका अनुसार यस वर्षदेखि व्यवस्थापन विषयका इच्छुक विद्यार्थीलाई पनि व्यावसायिक खेतीको प्रयोगात्मक ज्ञान दिने योजना छ।
खेतमा आफैं खटेर उत्पादन गर्ने र बजार पठाएर आम्दानी गर्ने अभ्यासबाट विद्यार्थीहरू रमाएको उनले बताए। कुल आम्दानीको आधा रकम सबैलाई बराबर हुने गरी स्कुलले नै विद्यार्थीको खातामा जम्मा गरिदन्छि। आधा रकमबाट विद्यालयको कोषमा २० प्रतिशत जम्मा हुन्छ। बाँकी रकम खेतीको खर्च र बजारमा बेच्नेको मुनाफाका लागि छुट्याइन्छ। स्कुलले ‘सिद्ध पृथ्वी’ नामबाट विद्यार्थीको क्लब पनि बनाएको छ। यही क्लबका नाममा बैंकमा खाता खोलिएको छ।
खेतमा खनजोत लगायत भौतिक व्यवस्थानको काम शिक्षक विष्णु वलीको जिम्मामा छ। बिउ, मल र विषादी स्कुलको कोषमा जम्मा भएको रकमबाटै किन्ने गरिन्छ।
हालै नारायणपुर खानेपानी संस्थाले विद्यार्थीको सहयोगका लागि एउटा डिपबोरिङ राखिदिएको छ। चौबीसै घन्टा सिँचाइको सुविधा उपलव्ध भएपछि विद्यार्थीहरू उत्साहित भएको शिक्षक बस्नेतले बताए। लुम्बिनी प्रदेश सरकारले पनि हालै १२ लाख रुपैयाँ सहयोग गरेको छ। त्यसबाट ६ लाख रुपयाँका औजारहरू किनिएको छ।
स्कुलका नाममा ८५ बिघा जग्गा छ। यसमध्ये ३५ बिघा व्यावसायिक कृषकहरूलाई भाडामा दिएको छ। पचास बिघा जमिन अतिक्रमणमा रहेको छ।
उक्त जमिन सशस्त्र द्वन्द्वका समयमा व्यक्तिहरूबाट अतिक्रमणमा परेको हो। उनीहरूले निजी संरचना निर्माण गरेका छन्। अतिक्रमण हटाउने प्रयास भए पनि सफल हुन सकेको छैन।
‘स्कुलको सम्पत्ति संरक्षणमा उपमहानगरपालिका (घोराही) ले चासो देखाउनु पर्ने हो,’ शिक्षक बस्नेत भन्छन्, ‘हामीले धेरै पटक मेयर र सिडिओ (प्रमुख जिल्ला अधिकारी) लाई भन्यौं तर कुनै प्रगति भएको छैन।’
बाली विज्ञान अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सुरू भएपछि हालसम्म विद्यार्थीले करिब साढे दुई लाख रूपैयाँको तरकारी बेचेको उनले बताए।
उनका अनुसार जग्गा व्यवस्थापन, तारबार, टनेल निर्माण, डिपबोरिङ, बिउविजन र उपकरण समेत गरी हालसम्म करिब ५० लाख रूपैयाँ खर्च भएको छ। यसमा विभिन्न संघसंस्था, राज्यका निकाय र व्यक्तिहरूबाट सहयोग प्राप्त भएको छ।