फोनमा कुरा गर्दा ४० वर्षीया किसान मनकुमारी विक निकै खुसी सुनिन्थिन्। मंगलबार हाटबजारमा दिनभरि तरकारी बेच्दाको थकान भुलेर उनी खुसी थिइन्। आफूले उत्पादन गरेको तरकारी अहिलेसम्मकै बढी मूल्यमा बेचेकी रहिछन्।
कपुरकोट गाउँपालिका–३ की मनकुमारीले तरकारी खेती गरेको २२ वर्ष भयो। उनले मंगलबार हालसम्मकै बढी मूल्य प्रतिकेजी १४२ रूपैयाँका दरले ८० केजी टमाटर बेचेको बताइन्।
आफ्नो उत्पादनको यति उच्च मूल्य पाएपछि उनी औधी खुसी भइन्। विदेशमा रहेका श्रीमानलाई फोन गरिन्।
'आज त विदेशमा भएका श्रीमानलाई फोन गरेर यतै आउनू, सँगै खेती गरौंला, मिलेर कमाउँला भनेकी छु,' उनले सेतोपाटीसँग भनिन्।
उनका छोरा युवराज ११ वर्षका छन्। स्कुलमा पढ्दै छन्। घरमा ७० वर्ष उमेरकी सासूआमा छिन्। उनी खेतबारीमा काम गर्न सक्दिनन्।
यसपालि मनकुमारी एक्लैले दुई रोपनी बारीमा टमाटर रोपेकी थिइन्। त्यहीँ फलेकोमध्ये ८० केजी मंगलबार सन्तोषजनक मूल्यमा बेचेकी हुन्।
उनले भनिन्, 'हाटबजार नभएको भए मैले गरेको खेतीले न यसरी बजार यसरी पाउँथ्यो, न विदेशमा भएका श्रीमानलाई बोलाउने आँट गर्थेँ।'
सल्यानको कपुरकोट बजारमा हाटबजार लाग्न थालेको ३२ वर्ष भयो। २०४८ देखि सुरू हाटबजार सुरूमा हप्ताको एकदिन लाग्थ्यो। पछि मंगलबार र शुक्रबार गरी दुई दिन लाग्न थाल्यो।
किसानहरूले आफूले उत्पादन गरेका तरकारी र फलफूल यही बजारमा ल्याएर बेच्न पाएका छन्। दाङको तुलसीपुर क्षेत्रका व्यापारीहरू तरकारी किन्न उक्त हाटबजार पुग्ने गरेका छन्।
हाटबजार सञ्चालन भएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका हुन्। यसअघि कपुरकोट क्षेत्रका अधिकांश बासिन्दा रोजगारीका लागि छिमेकी देश भारत (कालापहाड) जाने चलन थियो।
हाटबजार व्यवस्थित हुँदै गएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागे। तरकारी बिक्री हुन थालेपछि भारत जानेको संख्या घट्न थाल्यो। भारतमा काम गर्दा तरकारी खेती जानेकाहरूले आफ्नै खेतबारीमा काम सुरू गरे।
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मकै, गहुँ, जौ, कोदो लगायतका अन्नबाली लगाउने किसानहरू तरकारी खेतीमा आकर्षित भए। पाखोबारीमा सिँचाइको सुविधा नभए पनि अनुकूल मौसमका कारण कपुरकोटमा तरकारी उत्पादन राम्रो हुने गरेको छ। यहाँ धेरै किसानले राम्रो उन्नति गरेका छन्।
हाटबजार सञ्चालन नहुने दिनहरूमा किसानहरूले कपुरकोट गाउँपालिकाका ६ वटै वडामा रहेका संकलन केन्द्रमा तरकारी बिक्री गर्ने गरेका छन्। यहाँका किसानहरू चैतदेखि मंसिरसम्म तरकारी खेती गर्छन्।
जिल्ला कृषि विकास कार्यालय, सल्यानका अनुसार कपुरकोट गाउँपालिकामा कुल तीन हजार ४१३ हेक्टर जमिन खेतीयोग्य छ। यहाँका अधिकांश किसानले तरकारी, फलफूल र अदुवा खेती गर्ने गरेका छन्।
कपुरकोट गाउँपालिकामा मात्रै एक सिजनमा दस हजार मेट्रिक टनसम्म तरकारी उत्पादन हुने गरेको छ। समुद्री सतहबाट १२ सय मिटरदेखि करिब १८ सय मिटरसम्मको उचाइमा तरकारी तथा फलफूल खेती हुन्छ।
सल्यानको पूर्वी भागका धनवाङ, सिनवाङ, गर्पा, रिम, फालावाङ, त्रिवेणी, छायाक्षेत्र लगायतका ठाउँहरूमा तरकारी खेती हुने गरेको छ।
वडा नम्बर ३ कै दमारखोलाका किसान ३८ वर्षीय प्रकाश डाँगीले हाट बजारमा मंगलबार डेढ क्विन्टल तरकारी बेचे। यसपालि कपुरकोटको टमाटर भारत गएकाले हाटबजारमा अभूतपूर्व मूल्य पाएको उनले बताए।
उनका अनुसार यसपालि इन्डिया (भारत) मा बाढीले तरकारी खेतीमा ठूलो क्षति गरेकोले व्यापारीहरूले सल्यानको टमाटर भारत पठाइरहेका छन्।
उनले भने, 'व्यापारीहरूले यसपालि टमाटर र अरू तरकारी भारत पठायौं भनेका छन्। नेपाली उत्पादन पनि भारत जानु हाम्रा लागि खुसीको कुरा हो।'
कपुरकोट–३ कै रामकली विकले पनि मंगलबार एकै दिन हाटबजारमा दुई क्विन्टल टमाटर बेचिन्।
उनले भनिन्, 'आज मेरो मन रमाएको छ। एक केजीको १५५ रूपैयाँसम्ममा टमाटर बेचेँ।'
सधैं यस्तै उच्च मूल्य पाए किसानको मिहिनेत सार्थक हुने उनले बताइन्।
वडा नम्बर ३ कै अर्का किसान ३५ वर्षीय चन्द्रमणि खड्काले तरकारीको व्यावसायिक खेती गरेको नौ वर्ष भयो। यसपालि दुई रोपनी पाखो बारीमा टमाटर, काँक्रो र सिमी रोपेका थिए। उनले मंगलबार हाटबजारमा एक क्विन्टल टमाटर बेचे।
उनले भने, 'आज म दंग परेको छु। एक क्विन्टल टमाटर बेच्दा चौध हजार कमाइ भयो।'
उनले पनि टमाटरले हालसम्मकै उच्च मूल्य पाएको बताए।
यस वर्ष दुई रोपनी पाखो बारीमा गरेको खेतीबाट हालसम्म २४ क्विन्टल तरकारी बेचेर साढे एक लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको बताए। उनको बारीमा अझै केही तरकारी बाँकी छ। वैदेशिक रोजगारीमा गएका उनी गाउँ फर्केर तरकारी खेती गर्न थालेको नौ वर्ष भयो।
चन्द्रमणि कपुरकोट हाटबजार केन्द्रका बजार प्रतिनिधि पनि हुन्। उनले मंगलबार एकै दिन हाटबजारमा ५० लाखदेखि ५५ लाख रूपैयाँसम्मको ६८ हजार किलोभन्दा धेरै तरकारी बिक्री भएको बताए।
यसमा ३१ हजार तीन सय किलो हाराहारी ४३ लाख रूपैयाँ बराबरको टमाटर मात्र थियो।
काउली साढे ४ हजार केजी बिक्री भयो जसबाट करिब दुई लाख रूपैयाँ आयो। झन्डै चार हजार केजी भेडे खुर्सानी बिक्री हुँदा तीन लाख रूपैयाँ भित्रियो। ११ हजार ७०० केजी बन्दा बिक्रीबाट दुई लाख रूपैयाँ आयो। त्यस्तै सिमी, स्थानीय काँक्रो, उन्नत जातको काँक्रो लगायत बेचेर झन्डै ५५ लाख रूपैयाँको तरकारी बिकेको हिसाब चन्द्रमणिले देखाए।
चन्द्रमणिका अनुसार यस वर्ष गत वैशाखदेखि यो साताको मंगलबारसम्ममा कपुरकोट हाटबजारबाट झन्डै साढे १८ लाख किलो तरकारी बिक्री भएको थियो।
'यसबाट यो वर्ष कपुरकोटमा १० करोड रूपैयाँभन्दा धेरै भित्रिएको छ,' उनले भने, 'मंगलबार मात्र ५० देखि ५५ लाखसम्मको तरकारी बिक्यो। हाटबजार भएकैले यहाँका किसानले आफ्नो उत्पादनको मूल्य पाएका छन्। परिश्रम खेर गएको छैन।'