साउन लागिसक्दा पनि भरतपुरका नहरहरू सुक्खा छन्। यतिखेर नहरको पानीले भरतपुर महानगर क्षेत्रका खेतहरूमा धमाधम धान रोपाइँ हुनुपर्ने हो। तर वर्षा नभएको र नहरमा पानी पनि नछाडिएका कारण धेरै किसानले धान रोप्न पाएका छैनन्।
भरतपुर–१ स्थित नारायणी नदी नजिकै रहेको नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा रहेका ४० वर्ष पुराना पम्पहरू अहिले फेरिँदैछ।
पुराना र जीर्ण अवस्थाका पम्पले पानी तान्न समस्या भएपछि यसलाई आधुनिकीकरण गर्न यसवर्ष २६ करोड ३२ लाख ४३ हजार १५१ रुपैयाँ लगानी गरिएको छ।
यही काम भइरहेकाले यसपालि अहिलेसम्म नारायणी लिफ्टको नहरमा पानी बगेको छैन। यसअघि सामान्यतया असार लागेपछि नहरमा पानी छाड्ने गरिन्थ्यो।
पम्पको निर्माण कार्य असार मसान्तसम्म सकिनुपर्ने हो।
निर्माण कम्पनीले असार मसान्तसम्म काम सकेर साउन १ गतेबाट नहरमा पानी फाल्न मिल्ने बनाउने प्रतिबद्धता जनाएको थियो। तर प्रतिबद्धताअनुरूप काम नसकिएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रकाश तिमिल्सिनाले बताए।
भारतीय निर्माण कम्पनी डब्लुपीआइएल लिमिटेड कोलकत्ताले पम्प निर्माणको काम गरिरहेको छ।
‘काम अब अन्तिम चरणमा पुगेको छ। अहिले पम्पहरूको टेस्टिङको काम भइरहेको छ। आज पनि त्यही काम भयो। अब यो हप्ताभित्रमा पानी छाड्न सकिन्छ होला,’ तिमिल्सिनाले सेतोपाटीसँग भने।
नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका सचिव हरिराज भट्टराईले साउन लागिसक्दा पनि नहरमा पानी नछाडिँदा किसानहरू मर्कामा परेको बताए।
‘खडेरी लागेको छ। नहरमा पानी आएको छैन। किसानलाई मर्का पर्ने नै भयो,’ भट्टराईले भने, ‘किसानको प्रतिनिधि भएर उपभोक्ता समितिमा बसेको छु तर नहरमा पानी छाड्न नसक्दा सबैले मलाई नै भनिरहेका छन्। हामीले निर्माण कम्पनीलाई घचघच्याइरहेका छौं।’
उनले विदेशी कम्पनीले काम गरिरहेकाले धेरै दबाब दिन नमिलेको बताए।
‘उनीहरू कहिले के मिलेन, कहिले के मिलेन भन्छन्। ढिलै भए पनि अब नहरमा पानी चलाउने वातावरण बन्दैछ,’ भट्टराईले भने, ‘मेसिनको परीक्षण गरिरहेका छन्। कतै त्रुटि भेटिएन भने पानी फाल्न थालिहाल्छौं भनेका छन्।’
पश्चिम चितवन क्षेत्रको ठूलो क्षेत्रलाई सिँचाइ गर्ने खगेरी सिँचाइ प्रणालीको नहरहरूमा पनि यसपालि असाध्यै कम पानी बगिरहेको छ।
वर्षा कम भएका कारण खगेरी खोलामा पानीको मात्रा कम छ। त्यसैले नहरमा पर्याप्त पानी छैन। खगेरी खोलामा पानी कम हुँदा नारायणी लिफ्टको पानी थप गर्ने चलन छ। तर नारायणी नदीको पानी नै नहरमा जान नसकेको अवस्थामा खगेरी सिँचाइको नहरले पर्याप्त पानी पाउन नसकेको हो।
खगेरी सिँचाइ प्रणाली सञ्चालनमा आएको ५० वर्षभन्दा बढी भयो। चितवनको उत्तरी क्षेत्रबाट बगेर आउने खगेरी खोलाको पानीलाई रत्ननगरको टिकौलीबाट दुई वटा व्यारेजमार्फत् नहरमा पठाइएको छ।
यसले पश्चिम चितवनका साविकका ९ वटा गाविसहरूमा सिँचाइ सुविधा पुर्याएको थियो। खगेरीको मूल नहर बरण्डाभार वनको ९ किलोमिटर क्षेत्र पार गरेर देवनगर, गीतानगर, शिवनगर, रामपुर हुँदै गुञ्जनगर, दिव्यनगर, शुक्रनगरसम्म पुग्छ।
२२.५ किलोमिटर मूल नहर, ४१ किलोमिटर शाखा र १३.५ किलोमिटर कुलोमार्फत यसले सिँचाइ सुविधा पुर्याएको छ। विगतमा ३९ सय हेक्टर जमिनलाई सिँचाइ गरेको यो नहरले अहिले करिब ३६ सय क्षेत्रफललाई सिँचाइ गर्दै आएको छ।
वर्षायाममा यो नहरमा बरण्डाभार वनभित्र रहेका बीस हजार लगायतका तालहरूको पानी पनि मिसिन्छ। खगेरी खोला र तालहरूमा बढी भएको पानीले नपुगेको समयमा यहाँ बी क्यानलमार्फत् गएको नारायणी नदीको पानी थप्ने गरिएको छ।
नहरमा बढी भएको पानी पश्चिम चितवनको केरुङ्गा खोला हुँदै राप्ती नदीमा मिसिन्छ। पछि त्यो फेरि नारायणी नदीमै पुग्छ।
समय क्रमसँगै नहरहरू अतिक्रमणको चपेटामा परिरहेका छन्। विगतमा करिब ५ हजार हेक्टर जमिनलाई सिँचाइ गर्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीले अहिले करिब ५० प्रतिशत क्षेत्रमात्रै सिँचाइ गर्छ।
यसले वर्षमा करिब एक सय दिनमात्रै काम गर्दै आएको छ।
पहिले नहर बगेको ठाउँमा अहिले कतै व्यक्तिको घर, आँगन, कतै अस्पताल, सरकारी कार्यालय, सडक, पुल बनेका छन्। अतिक्रमणका कारण नारायणी लिफ्टको ‘सी क्यानल’ अन्तर्गतको सीएल–१ नामको नहरको अस्तित्व लगभग मेटिएको छ। यसका अन्य दुई नहर भने अहिले पनि सञ्चालनमा छन्।
जोर कुसुम पार्क नजिकैबाट नारायणीको पानीलाई पम्पले तानेर २२ फिट उचाइमा पुर्याएपछि पानी पम्पहाउस ‘बी’ (क्षेत्रपुर) मा पुग्छ।
नारायणी नदीबाट यहाँसम्मको दूरी ५ सय मिटर छ। यो क्यानल ‘ए’ हो। यहाँबाट फेरि पम्पले १८ फिटमाथि तानेपछि पानी बसेनीस्थित बाइपास रोडको नजिक (सी क्यानलमा) पुग्छ।
पम्पहाउस ‘बी’ बाट क्षेत्रपुर हुँदै भरतपुर ओरालो, नेपाली सेनाको व्यारेक पछाडि, यज्ञपुरी हुँदै पश्चिमतर्फ लाग्ने मूल नहरको नाम ‘बी क्यानल’ हो। यसको लम्बाइ १९ किलोमिटर छ। सी क्यानलको मुख्य नहर बसेनीबाट बरण्डाभार जंगलतर्फ अघि बढ्छ। यो भरतपुरको हालका वडा नम्बर ११, १२, ९, ८ हुँदै अघि बढ्छ।
‘सी–मेन’ नामको यो नहर (केरुङ्गा घोल/खोला पनि भनिन्छ) को पानी पारसनगरभन्दा माथिसम्म पुग्छ। १० किलोमिटर लामो यो नहर र यसका शाखाहरूले पहिले २३ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ गर्दथ्यो। अहिले करिब ६ सय हेक्टरमामात्रै सिँचाइ गर्दै आएको बताउँछन् नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका कृषि इन्जिनियर कुलराज चालिसे।
उनका अनुसार बी क्यानलको पानी क्षेत्रपुरबाट, यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्छ। त्यस क्षेत्रका सबै जमिनमा सिँचाइ गरेर बचेको पानीलाई खगेरी सिँचाइको नहरमा जाने व्यवस्था गरिएको छ।
‘बी क्यानलको पानी पहिले मंगलपुरसम्म पुग्थ्यो। त्यताको कुलो मासिएको धेरै वर्ष भयो। बाँकी रहेका शाखा र कुलोहरूले अहिले पनि सिँचाइ गरिरहेको छ,’ चालिसेले भने।
यो नहरले २४ सय हेक्टर जमिनलाई सिँचाइ गर्थ्यो। अहिले करिब २ हजार क्षेत्रफलमा सिँचाइ गरिरहेको छ।
नारायणी लिफ्ट उपभोक्ता समितिका सचिव हरिराज भट्टराईको भरतपुर–४ यज्ञपुरीस्थित ७ विघा जमिनमा यही नहरको पानीले सिँचाइ हुन्थ्यो।
तनहुँबाट २०३० सालमा चितवन झरेको उनको परिवारले २०४० सालअघि यो जमिनमा मकै र तोरीमात्रै लगाउँथ्यो। जब नहर बनेर पानी आउन थाल्यो उनीहरूले सबै जमिनमा धान रोप्न थाले। अहिले सो क्षेत्रमा खाली जमिन कम छ। भट्टराईको १० कट्ठा जमिनमा मात्रै धान खेती हुन्छ।
‘नहर आएपछि धेरै राहत मिलेजस्तो भयो। सबै जमिनमा धान खेती गर्न थालियो। मजस्ता धेरै किसानहरू यसबाट लाभान्वित भए। अहिले मूल नहर त छ तर शाखा, कुलोहरू मासिन थाले। खेतहरू घट्दै गएका छन्,’ भट्टराई भन्छन्, ‘यसपालि पनि समयमै तयारी गरेका थियौं तर नहरमा पानी आउन ढिला भएकाले अहिलेसम्म धान रोप्न पाएको छैन।’
अन्नको भण्डारका रूपमा परिचित पश्चिम चितवनमा सिँचाइको व्यवस्था गर्न चार दशकभन्दा अघि ५२ करोड रुपैयाँ लगानी गरेर चितवन सिँचाइ आयोजना निर्माण गरिएको थियो।
नारायणी नदीको पानीलाई पम्पले तानेर नहरमार्फत् खेतसम्म पुर्याउने यो योजना अहिले नारायणी लिफ्ट सिँचाइ प्रणालीको नामले चिनिन्छ। यो नहरले बर्खाको समयमा पानी दिन्थ्यो। प्रायः किसानले धान रोप्न यसैको पानी प्रयोग गर्थे।
किसानहरूको माग नहरमा बाह्रै महिना पानी छाड्नुपर्ने छ। तर नारायणी लिफ्ट प्रणालीको अहिलेको संरचनाबाट त्यो सम्भव छैन।
हिउँदमा भरतपुर–१ मा रहेको यसको संरचना भन्दा नदी धेरै पर र कम उचाइमा पुग्छ। बर्खाको समयमा मात्र नदी नारायणी लिफ्टसम्म आइपुग्छ। अनि बल्ल पम्पमार्फत् पानी फाल्न सक्छ।
बाह्रैमास पानी नचल्नु पनि नहर मासिनुको मुख्य कारण हो। पानी नभएको मौका पारेर नहरको क्षेत्रमा संरचना बनाइहाल्ने चलन छ। त्यसैले नारायणी लिफ्ट सिँचाइ प्रणालीअन्तर्गतका सबै नहरको अतिक्रमण हटाउने र बाह्रैमास पानी पठाउनुपर्ने आवाज बढेको छ।